कुकुरले यसरी पत्ता लगाउँछ अपराधी (भिडिओ) – Nepal Press

कुकुरले यसरी पत्ता लगाउँछ अपराधी (भिडिओ)

काठमाडौं । प्रहरीले अपराध अनुसन्धानमा अभियुक्त पत्ता लगाउन प्रयोग गर्दै आएको तालिमप्राप्त कुकुरले सफलता दिलाउँदै आएको छ ।

काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भएको गम्भीर र रहस्यमय घटनाको प्रहरी अनुसन्धान र अपराधी पत्ता लगाउन तालिमप्राप्त कुकुरले सहज बनाएका उदाहरण प्रशस्त छन् ।

प्रहरी प्रधान कार्यालयअन्तर्गत रहेको केन्द्रीय डग स्कुलले कुकुरलाई तालिम दिने गर्दछ । केनाइन महाशाखा प्रमुख दिप्ती गुरुङका अनुसार हाल देशभर ९३ वटा तालिमप्राप्त कुकुर छन् । काठमाडौं उपत्यका र प्रदेशसहित देशभर १२ वटा युनिटअन्तर्गत यी रहेका छन् ।

‘घटनास्थलमा छाडिएका प्रमाणहरू सुँघाएर कुकुरले अपराधीको संकेत गर्दछ । अपराधी गएको दिशातिर जाने, अपराधीनजिक गएर भुक्ने काम गर्छ’, एसएसपी गुरुङले नेपाल प्रेससँग भनिन् ।

अपराधीले लगाएका कपडा वा उनीहरूसँग सम्बन्धित सामग्री सुँघाएर वा अपराधका क्रममा अपराधीले पीडितसँग सम्बन्धित वस्तुहरू सँगै लिएर गएको अवस्थामा पनि कुकुरमार्फत पत्ता लगाउन सकिने अनुसन्धान अधिकारी बताउँछन् ।

ललितपुरको गोदावारीमा २०७४ जेठमा हत्यापछि खोल्सामा फालिएका दीपक दमाईको अनुसन्धानमा प्रयोग गरिएको कुकुरले घटनास्थलमा भेटिएको कपडाका आधारमा अपराधीको संकेत गरेको थियो । ‘लिजा’ नामक कुकुरको संकेतकै आधारमा म्यादी प्रहरी कुमार पाख्रिन पक्राउ परे ।

खासगरी हत्या र विस्फोटक पदार्थसम्बन्धी घटनामा तालिमप्राप्त कुकुर बढी प्रयोग गरिँदै आएको छ । एसएसपी गुरुङले हाल केन्द्रीय डग स्कुलले तालिम गराएर देशका विभिन्न युनिटमा कुकुरहरू पठाइने गरेको बताइन् ।

२०७७ साउनमा गोंगबुमा घाँटी र टाउको काटिएको अवस्थामा झोलामा भेटिएको शव अनुसन्धानमा प्रहरीले जोजो नाम गरेका कुकुरलाई प्रयोग गरेर अभियुक्त पत्ता लगाएको थियो ।

साफ च्याम्पियनसिपको फाइनलअघि दशरथ रंगशालामा कुकुरमार्फत् सुरक्षा जाँच गर्द प्रहरी ।

२०७१ सालमा लमजुङको पिप्ले-४ मा भएको तीनजनाको हत्यामा प्रहरीले ज्वाला नाम गरेको कुकुरलाई प्रयोग गरेर अभियुक्त पत्ता लगाइएको थियो । यस्तै बेपत्ता भएकाको खोजी कार्यमा पनि कुकुर प्रयोग हुने गरेको छ ।

२०६४ सालमा बारामा अपहरणपछि हत्या गरिएका पत्रकार वीरेन्द्र शाहको शव भेट्न ब्ल्याकी नामक कुकुरको प्रयोग भएको थियो । ब्ल्याकीले गरेको संकेतका आधारमा शाहको शव भैवानाकाको जंगलामा गाडिएको अवस्थामा भेटिएको थियो ।

भीभीआईपीको नेपाल भ्रमणका समयमा पनि सुरक्षा निकायले तालिमप्राप्त कुकुरहरू प्रयोग गर्ने गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरको भ्रमणका क्रममा कुकुरहरुलाई प्रयोग गरेर सुरक्षा जाँच गरिएको थियो ।

(पुन: प्रकाशन)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *