रंगशालामा प्रधानमन्त्रीविरुद्ध नारा लाउने को थिए ? भिडिओसहित यसरी गरेको थियो प्रहरीले निगरानी – Nepal Press

रंगशालामा प्रधानमन्त्रीविरुद्ध नारा लाउने को थिए ? भिडिओसहित यसरी गरेको थियो प्रहरीले निगरानी

काठमाडौं । बुधवार साँझ दशरथ रंगशालामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध असभ्य नाराबाजी गर्नेहरू राष्ट्रिय स्वतन्त्र पार्टीबाट संगठित रूपमा खटाइएका व्यक्ति रहेको सुरक्षा निकायको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

नेपाल प्रहरी मुख्यालयका एक उच्च अधिकारीका अनुसार नाराबाजी गर्नेहरू प्रायः सबैको पहिचान भएको र उनीहरू योजनाबद्ध रूपमै त्यहाँ नारा लगाउन गएका थिए । त्यस्ता व्यक्तिहरूको संख्या एक सयको हाराहारीमा रहेको समेत प्रहरीले जनाएको छ ।

नाराबाजी हुनसक्ने सूचना बिहानैदेखि पाएर प्रहरीले सादा पोशाकमा दशरथ रंगशालाको प्याराफिटका हरेक सिटसँगै सुरक्षाकर्मी परिचालन गरेको थियो । रास्वपा कार्यकर्ताले आन्तरिक मेसेज ग्रुपहरूमा फुटबलको टिकट अग्रिम बुकिङ गरेर नाराबाजीका लागि तयार रहन सर्कुलर गरेको प्रहरीले भेटेको छ ।

नाराबाजी गर्नेहरूलाई निगरानीमा राखेर उनीहरूको फोटो भिडिओ लिने तर धरपकड नगर्ने आदेश बमोजिम उनीहरूलाई स्क्रिनिङमात्र गरिएको प्रहरी अधिकारीले बताएका छन् । अभद्र व्यवहार र हुलदंगा गरे मात्र नियन्त्रणमा लिने आदेश प्रहरीलाई थियो ।

ती अधिकारीले भने– विशेष गरी रास्वपाले स्वतन्त्र युवा र स्वतन्त्र खेलप्रेमी नागरिकका नाममा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने र बालेन शाह जिन्दाबाद भन्ने तयारी पहिले नै गरेको जानकारी थियो । यसमा संगठितरुपमा नभए पनि माओवादी कार्यकर्ता पनि केही संख्यामा संलग्न थिए । राजावादी र बालेन समर्थक हिजोको नाराबाजीमा त्यति पहिचान भएनन् । प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने अधिकांश पहिचान भएका छन्,उनीहरूलाई नोटिसमा मात्र राखिएको छ ।

रास्वपा समर्थकहरूले रंगशालामा प्रधानमन्त्री जाने समाचार आएदेखि नै सामाजिक सञ्जालबाट नाराबाजी र हुटिङको अभियान चलाइएको विषयलाई सुरक्षा निकायले त्यस्ता व्यक्तिको एकाउन्टसहित पहिचान गरेका थिए ।

विगतमा जस्तै बालेन शाह जिन्दाबाद, केपी ओली मुर्दावादको नारा लगाउँदा नाराबाजीको दोष बालेन समर्थकमाथि जाने योजना अनुरूप नै केही व्यक्तिले असभ्य नारा लगाएको प्रहरीले जनाएको छ ।

रास्वपा सभापति रवि लामिछानेमाथि सहकारी ठगी सम्बन्धी मुद्दामा अनुसन्धान थालिएपछि ओलीविरुद्ध सो पार्टीका नेता कार्यकर्ता आक्रामकरुपमा प्रस्तुत भइरहेका छन् ।

ओलीले भने आफूले छानविन समिति नबनाउने भन्दै रवि स्वयं र अहिले रविको पक्षमा उभिएको माओवादीले समेत समिति बनाउने निर्णय गरेको भन्दै सोही समितिको प्रतिवेदनका आधारमा रवि पक्राउ पर्दा आफूलाई आरोप लगाइएकोमा आपत्ति जनाएका छन् ।


प्रतिक्रिया

2 thoughts on “रंगशालामा प्रधानमन्त्रीविरुद्ध नारा लाउने को थिए ? भिडिओसहित यसरी गरेको थियो प्रहरीले निगरानी

  1. २- ४ जना थाङ्ने केटाहरु लाई समातेर यसो मालिस गर्न पऱ्यो सरकार !

  2. दिल्लीका भाडाका टट्टुहरू हुन् यि नारा लगाउने। दिउस पकेट मार्ने यिनै हुन् । सन्तान पनि बेच्छन यी नारा लगाउनेले पैसा पाए भने । प्रचण्डका भाडाका टट्टुहरू पनि छन् त्याहा । प्रचण्डले लुटेर देलान र खाउँला भनेको सरकार गयो अनि लैनचौरमा तलुवा चाटदा एक ट्वाक खान दियो । त्यहि भएर कराएका हुन् यी । यिनलाई सिकाउनुपर्छ एकचोटी नारा लगाएको सबक ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *