तिहारै आयो लौ झिलिमिली…
मंगलबार साँझ, यम पञ्चकको अघिल्लो दिन । शहरलाई तिहारले छपक्कै छोपिसकेको थियो ।
नक्साल, भगवतीबहाल वरपर फूलका माला, दियो र अनेकन रंगका बत्ति बेच्न राखिएका छन् । पसल, घरहरु बत्तिको भिलिमिलीले उज्यालिएका । पसलैपिच्छे बजिरहेका तिहार गीतले कानमा तरंगभन्दा बढी आतंक मच्चाउँदै थिए ।
कतै बज्छ, ‘तिहारै आयो लौ झिलिमिली, सुन हजुर लक्ष्मी आइन् आँगन।।।।’
अर्कोतिर फर्कियो, अर्कै गीत सुनिन्छ, ‘दियो बाली साँझको फूल सजाई पूजाको।।।।’
देउसिरे र भैलेनीका अनेकन भाकाका ‘कक्टेल’ धुनले कान आतंकित पार्दै थियो । पंक्तिकारलाई भगवतीबहाल मन्दिरबाट सय मिटर पश्चिम लागेपछिको एउटा घर खोज्ने चटारो छ । उत्तरतिर छिर्ने एउटा साँघुरो बाटो भेटियो । भित्र छिर्दा सानो साइनबोर्डजस्तो देखिन्छ, अकोस्टिक रेकर्डिङ स्टुडियो ।
घाँटीबाट धोद्रो स्वर निकाल्दै ७० पुग्न लागेका शम्भुजीत बास्कोटा स्वागतमा बोल्छन्, ‘अरे बाफ रे बाफ, विश्व…..’ गाला चिमोट्दै फेरि भन्छन्, ‘किन माया मारेको ?’
अघि सडकमा जति पनि गीतले कानलाई आतंकित पारिरहेका थिए, तीमध्ये आधाउधुी गीतका संगीतकार हुन्, शम्भुजीत । तिहार गीतमध्ये सबभन्दा बढी बज्नेमा पर्छ, चलचित्र स्वर्गको ‘तिहारै आयो लौ झिलिमिली।।।’
हामी तिहार गीतका बारेमा कुरा गर्न भेटिँदै थियौं । ३० वर्षअघि ‘तिहारै आयो’ गीतमा संगीत भरेको कुरा सम्झिएर एकछिन रोमाञ्चित भयौं । भेट नक्साल भगवतीबहालमा भइरहेको थियो, हामी ३० वर्षअघिको घटना सम्झिँदै लाजिम्पाटस्थित पानीपोखरीमा पुग्छौं । जहाँ शम्भुजीतको बसोबास थियो ।
हात हार्मोनियमका गोटीमा खेलिरहेका थिए । अगाडि एउटा थुप्रै केरमेटयुक्त कागज थियो । ‘दरिरैदरी ददरी दरी दरीदरी दरीदै…’, उनी हार्मोनियमको गोटीसँग गुन्गुनाउँदै थिए । हाम्रा हातमा एक–एकवटा ग्लास थिए, ग्लासमा ब्याकपेपर प्याला थियो । (अरुको नाम उल्लेख गर्ने अनुमति प्राप्त भएन) शम्भुजीत पंक्तिकारतिर हेर्थे, नबोली फेरि हार्मोनियमकै गोटीमा अल्मलिन्थे । अगाडि राखिएको टेलिफोनको रिसिभर उचालेर नम्बर डायल गर्छन् । फोन उठ्नासाथ भन्छन्, ‘यादव दाइ, गीतजस्तो कुरा पनि गोबरबाट शुरु गर्ने र भन्या ?’
त्यो फोन थियो, गीतकार यादव खरेलसँग । ‘तिहारै आयो’ बाट गीत शुरु गरौं भन्ने शम्भुजीतको जोड थियो । खरेलचाहिँ ‘हरियो गोबरले लिपेको, लक्ष्मीपूजा गरेको, हे औशीबार यो गाईतिहार हो भैलो’ बाटै गीत शुरु गर्नुपर्ने अडानमा । जबकी, खरेलले दिएको गीतमा सीधै ‘तिहारै आयो लौ झिलिमिली’ लेखिएको थियो । संगीत मिलाउँदै जाँदा सस्त शैलीको शब्दको माग भयो । अनि, ‘हरियो गोबरले लिपेको।।।’ शब्द थपियो ।
चलचित्रका निर्माता अर्जुन श्रेष्ठ दाङका हल मालिक पनि थिए, फिल्ममा आफैंले हिरोको भूमिका खेल्ने तयारी थियो । त्यसैले उनी गीतमा अझ मेहेनत खोजिरहेका थिए । निर्देशक शम्भु प्रधानले प्रायः आफ्ना चलचित्रमा संगीतको काम रन्जित गजमेरसँग गर्दै आएका थिए । अर्जुनकै जोडबलमा त्यसमा शम्भुजीत अनुबन्धित थिए । जसोजसो गर्दा शम्भुजीत खुशी हुन्थे, अर्जुन त्यसोत्यसो गर्थे । त्यसैले शम्भुजीतका वरिपरि प्रायः भइरहने यो पंक्तिकारसहितका सहयोगीलाई उक्त चलचित्रको गीत तयार पार्ने क्रममा खानपिनको कुनै दुःख भएन ।
‘अर्जुन बाबु, मटन सक्यो…’ भन्नासाथ उनी खुर्रर दौडिएर व्यवस्था गरिहाल्थे । किनभने, शम्भुजीतलाई जति खुशी पार्न सक्यो, गीत त्यति राम्रो आउँछ भन्ने उनले बुझेका थिए । हामीले पनि पहिल्यै भनेका थियौं, ‘सरलाई टेन्सन हुने कुरै नगर्नुस्, नत्र तानपुराको रागमा गीत आउला।।।’
फलस्वरुप उक्त चलचित्रले हरेक तिहार बजाउनका लागि झ्याउरे भाकामा कालजयी गीत पायो, ‘तिहारै आयो लौ झिलिमिली।।।’
त्यसो त निर्माता तथा हिरो अर्जुनका लागि पनि शम्भुजीतले उत्तिकै मेलोडियस गीत बनाइदिए । कुमार सानुको आवाजमा ‘म त अब रिसाउँछु बोल्दै बोल्दिनँ, रुने मान्छेसँग दील खोल्दै खोल्दिनँ…’
यसरी रमाइलो वातावरणमा निकालिएका ती धुनलाई मनोहर सुनामले संगीत संयोजन (एरेन्जमेन्ट० गरे । कालिकास्थनस्थित म्युजिक नेपालको स्टुडियोमा रेकर्ड गरियो । ‘तिहारै आयो’ मा आवाज दिइन्, लोचन भट्टराईले ।
तिहार पर्वलाई शम्भुजीतले यसअघि नै आफ्नो सांगीतिक लयमा उतारिसकेका थिए । चलचित्र स्वर्ग निर्माण हुनुभन्दा केही वर्ष पहिल्यै राजेन्द्र सलभ निर्देशित चलचित्र विजय पराजयको एक गीतमार्फत भाइटीकाको धुन पस्किएका हुन् ।
निधारमा लर्काएर सप्तरंगी टीका
हिंडिरहु सधै तिमी शिखरको बाटो
ओखरमा फोरिदिए बाधाहरु मैले
जता पनि पुग दाजै घाम भन्दा पहिले
दिनेश अधिकारीको शव्दमा तयार भएको उक्त गीतमा भुवन केसी, कृष्ण मल्ल, रुपा रानाको अभिनय छ ।
चलचित्रका निर्माता मारवाडी समुदायका थिए । मुम्बईमा गीत रेकर्ड गर्ने उनीहरुको चाहनाबमोजिम उतै सबै काम सकिएको थियो । हेम लताको स्वर रहेको उक्त गीतको संगीत संयोजन उत्तम सिंहले गरेका थिए । त्यो समय संगीत संयोजनमा उत्तम व्यस्त, महंगा र ख्यातिप्राप्त मानिन्थे । भारतका मूर्धन्य संगीतकार आरडी बर्मनको सहायकका रुपमा काम गरेका उत्तम उनै संगीतकार हुन् जसले सुपरहिट फिल्म गदरमा संगीत दिएका थिए ।
त्यसमा ‘उड जा काले कावा’, ‘मैं निकला गड्ले के’ सहितका गीत भारतीय संगीत बजारका अत्यधिक रुचाइएका थिए ।
तिहार गीतमा रोमाञ्चकतासँगै विरहका भाका पनि बज्छन् । शम्भुजीतले पर्वआधारित गीतमा विरही भाका त दिएका छैनन् । तर, अभिनेता श्रीकृष्ण श्रेष्ठ अभिनित उनको अन्तिम चलचित्र ‘कोहिनुर’ बज्न थाल्दा उनी भावुक हुन्छन् र श्रीकृष्णलाई सम्झिन्छन् । ‘ए हजुर यसपालिको तिहारै रमाइलो’ बोलको गीतका प्रसंगमा उनले भने, ‘गीतमा गरिएको मेहेनत, त्यसले कमाएको लोकप्रियता सम्झिँदा खुशी लाग्छ, तर श्री आज हामीसँग छैन भन्ने सम्झिँदा मन खल्लो हुन्छ ।’
मुम्बईको भर्जिन स्टुडियोमा उक्त गीत रेकर्ड गरिएको थियो । ख्यातिप्राप्त संगीतकार मनोहरि सिंहका भतिज शेखर सिंहले गीतको संगीत संयोजन गरेका थिए । मुम्बईमै बनेको गीतको ट्रयाकमा प्रमोद खरेल र अञ्जु पन्तले नेपालमा आवाज दिएका हुन् ।