महाकवि देवकोटाका १५ रोचक पक्ष- के लेखे दार्जिलिङकी देवकुमारीको अटोमा? – Nepal Press

महाकवि देवकोटाका १५ रोचक पक्ष- के लेखे दार्जिलिङकी देवकुमारीको अटोमा?

काठमाडौं । १९६६ कार्त्तिक २७ गते राती ९ः ५४ मा जन्मेका हुन नेपालका महाकवि लक्ष्मीप्रसाद देवकोटा । तर, आज अर्थात् कार्त्तिक १५ गतेलाई उनको जन्म जयन्तीको रूपमा मनाइँदैछ । २७ गते जन्मेका देवकोटालाई १५ गते जन्म जयन्ती मान्नु रोचक छ । यसो हुनुको कारण लक्ष्मीपूजाको दिन जन्मिएकाले देवकोटालाई हरेक लक्ष्मीपूजाको दिन जन्मजयन्ती मनाएर सम्मान गरिन्छ । खास वैदिक परम्परा अनुसार जन्मलाई तिथिको कोणमा मनाइने गरिन्छ । तर, धेरैजसो मितिको कारण मनाएर यो चलन कमजोर जस्तै छ । देवकोटाको हकमा भने तिथिकै जन्म जयन्ती प्रचलित छ जुन अरू नेपाली ठूला व्यक्तित्वको हकमा प्रचलनमा छैन ।

देवकोटाका बारेमा धेरै बोलिएका छन् । लेखिएका छन् । पढिएका छन् । पढाइएका छन् । यो सामाग्रीमा देवकोटाबारेमा लेखिएको नरेन्द्रराज प्रसाईँको पुस्तक ‘देवकोटाको जीवनशैली’ र जगत नेपालको पुस्तक ‘पहिलो संसद’मा आधारित भएर देवकोटाका १५ रोचक पक्ष लेखिएको छ ।

१. देवकोटाका तीन नाम: तीर्थमाधव, सरस्वतीप्रसाद र लक्ष्मीप्रसाद

देवकोटाका विभिन्न चरणमा विभिन्न नामहरू भए । उनको चिनाको नाम तीर्थमाधव देवकोटा । उनी पढाइमा ज्यादै अब्बल भएपछि पिताले दिएको नाम सरस्वतीप्रसाद । र, उनको चिनिने औपचारिक नाम लक्ष्मीप्रसाद देवकोटा ।

२. पिता तिलमाधवका कविता सार्दासार्दै कवितामा प्रवेश

बाल्यकालमा देवकोटाका पिता तिलमाधव देवकोटाले लेखेका कविता सार्न सक्रिय थिए देवकोटा । त्यही क्रममा क्रमशः उनी कविता लेख्नमा जोडिएका थिए । तिलमाधवका कविता सार्दा कविताको यात्रामा जोडिएका देवकोटालाई तिलमाधवले जस्तै पण्डित बन्ने बाटो भने आमा अमरराज्यलक्ष्मी र जेठा दाजु लेखनाथले बन्द गरिदिएका थिए । तिलमाध देवकोटाले नै कखरा सिकाएका थिए देवकोटाका एक प्रिय पात्र तथा नेपाली नाट्यसम्राट बालकृष्ण समलाई ।

३.बीएल सकेर आउँदा ९० को भूकम्प: थानकोटमै अड्किए

दरबार हाई स्कुल पढेका देवकोटाकाले १९८२ मा तत्कालीन म्याट्रिकुलेसन अर्थात् अहिलेको एसइईको परीक्षा दिएका थिए । नेपालमा पढाइ नहुने भएकोले उनले भारतको पटनामा पुगेर त्यो परीक्षा दिएका थिए । १९८५ सालमा आइएस्सी पढेका उनले १९८६ सालमा बीए पास गरे । १९९० मा पुग्दा कानुननमा स्नातक बीएसल नै सके । उनले बीएल सकेर थानकोटमा आउँदा नेपालमा १९९० को महाभूकम्प आयो । उनी थानकोटमै एक दिन रहे । धरहरा ढलेको र टुँडिखेल चिराचिरा बनाउने भूकम्पले धन्न उनको घरमा केहि ठूलो क्षति गरेन ।

४. वीरमानबाट सिके तामाङ भाषा: इलाममा सुनाए अंग्रेजी सेलो

देवकोटाको घरमा घरेलु श्रमिक वीरमान तामाङ थिए । उनैबाट देवकोटाले तामाङ भाषा सिके । उनले २००९ असोज १९ मा इलाममा महानन्द सापकोटाले आयोजना गरेको सम्मेलनमा पुगेका देवकोटाले त्यसको भोलीपल्ट इलाम छात्रसंघले आयोजना गरेको कार्यक्रममा उनले तामाङसेलो लयमा अंग्रेजी भाषाको कविता वाचन गरेका थिए ।

५. विद्यार्थी हुँदा चुरोटको घृणा, शिक्षक भएपछि विद्यार्थीसँग चुरोट माग

देवकोटाले चुरोट धेरै खाने कुरा यत्रतत्र छन् । विद्यार्थी अवस्थामा चुरोट खाएको देखी नहसने उनी पछि आफूले ट्युसन पढाउँदा विद्यार्थीहरूलाई नै सोध्न थाले, ‘चुरोट ल्याएनौँ?’ मागेर भए पनि चुरोट खाने, बनारसमा चुरोट नपाएर खोज्दै जाँदा रेलमा चुरोट खाने मान्छे भेटेर उसको सिटमा चुरोट खाँदा फैजावादमा पुगेका किस्साहरू छन् । ‘फूलमार’ र ‘मोटरमार’ ब्राण्डमा चुरो धेरै खाने देवकोटाले ‘माई डार्लिङ’ नामको चुरोट ब्राण्ड बन्द हुँदा चित्ता दुखाएका थिए । देवकोटापत्नी मनदेवी देवकोटा भने शाकाहारी थिइन् । उनी कविप्रसाद गौतमको हड्डा हतिर्कितनमा जोडिएकोले यस्तो भएको थियो ।

६. बीए गरेर प्राध्यापक हुने त्रिचन्दका प्रथम अनुहार

२००३ असार १२ मा त्रिचन्द्र क्याम्पसमा देवकोटा प्राध्यापक भए । उनी नेपाली र अंग्रेजी पढाउँथे । प्राध्यापक भएकोमा देवकोटा खुशी भएर त्यो नियुक्ति पछिका आफ्ना कृतिहरूमा नामको अगाडी ‘प्रो’ भन्दै त्यसपछि ‘बीए, बीएल’ फुर्को पनि लाउँथे । १०० रुपैयाँको त्रिचन्द्रको तलबमा सरकारी सलामी कटाएर देवकोटाको हातमा ९५ रुपैयाँ आउँथ्यो । २०११ सालमा देवकोटाको पद्मकन्य क्याम्पसमा पनि अंग्रेजी पढाए । २०१२ असोजमा कमर्स क्याम्पसमा तीन महिना पढाए ।

७. सल्लाहकार सभा: अध्यक्षमा हार, प्रतिपक्षी नेतामा जित

अहिलेको राष्ट्रिय सभा जस्तै तर मूलतः राजाले नियुक्ति गर्ने सल्लाहकार सभामा देवकोटा राजा त्रिभुवन र महेन्द्र दुवैको कार्यकालमा जोडिए । २००९ वैशाख १ गते गठन भएको सभामा उनले अध्यक्षतामा दिएको आवेदनमा उनी पराजित भए । २०११ वैशाख १ मा गठन भएको सल्लाहकार सभामा चैँ उनले प्रतिपक्षी नेताको उम्मेदवारी दिए, जिते । तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको त्यही सभामा उनले खरो आलोचना गरेका थिए । सभामा हुँदा तराईका सदस्यहरूले हिन्दीमा बोल्न भनेपछि उनले अंग्रेजीमा बोलेका थिए । उनको त्यो कदमको प्रश्न उठ्दा उनले हिन्दीलाई राष्ट्रभाषा मान्ने देशमा पनि अंग्रेजी बोलिने, संयुक्त राष्ट्रसंघमा पनि अंग्रेजी हुने भन्दै कडा प्रतिवाद गरेका थिए ।

८. धर्मराज थापाको नाम काटेर केआई सिंहको मन्त्रीमा देवकोटा

सिंहदरबार कब्जाको कसुरमा डाक्टर केआई सिंहले कारबाहीको डरले चीन निर्वासन रोजे । पछि उनलाई राजा महेन्द्रले माफी दिए । उनी ल्हासाबाट रसुवा हुँदै सन्दरीजल आए । उनलाई लिन जाने ताँतीमा एक थिए देवकोटा । सिंह र देवकोटा गाडीको अगाडीको सिटमा बसेर काठमाडौं आएका थिए । देवकोटा सिंहको ‘राष्ट्रवादी’ अडानबाट प्रभावित थिए । २०१४ कार्त्तिक २९ गतेसम्म ११० दिन चलेको सिंह सरकारका ‘शिक्षा तथा स्वायत्त शासनमन्त्री’ भए । सिंहको मन्त्रीको सूचिमा धर्मराज थापा थिए तर राजा महेन्द्रले सम्झाएपछि सिंहले देवकोटालाई राखेका थिए । उसो त टंकप्रसाद आचार्यको मन्त्रीमण्डलमा पनि देवकोटालाई अफर आएकै हो । उनी गएनन् । सिंहको पालमा भने पत्नी मनदेवीको आग्रह टार्न नसकेर मन्त्री भएका थिए । मन्त्री भएपछि त्रिविको मुख्यालय कीर्तिपुरको पाँच हजार रोपनी भन्दा धेरै जग्गा व्यवस्थापन, नेपाली भाषाको पठन अनिवार्य र सरकारी कार्यालयहरूमा नेपाली भाषाकै प्रचलन देवकोटाले मन्त्री हुँदा गरेका ऐतिहासिक निर्णयहरू थिए ।

९. लेखनाथ पौड्याल नभएको एकेडेमीमा नबस्ने अडान

देवकोटाको कवि लेखनाथ पौड्यालसँग उच्च सम्मान थियो । लक्ष्मी निबन्ध सङ्ग्रहमा त पौड्याललाई उनले ‘महाकवि’ भनेका छन् । २००४ सालमा बनारसबाट प्रकाशन हुने नेपाली भाषाको पत्रिका ‘उदय’मा ईश्वर बरालले ‘महाकवि’ भनेर देवकोटालाई दिएको उपमा पछि स्थापित भयो । तर, देवकोटाको पौड्याल सम्मान कत्ति थियो भन्ने कुरा तत्कालीन शिक्षामन्त्री बालचन्द्र शर्माले पढाई लेखाइ नभएको भन्दै पौड्याललाई राजा महेन्द्रको अध्यक्षतामा बनेको एकेडेमी सदस्य नबनाउँदा देवकोटा बिच्किए । उनले तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यलाई सच्याउन भने । बालचन्द्र शर्माले लेखनाथको ‘नामै सुन्न चाहँदैन’ भनेर आचार्य पन्छे । देवकोटाले राजा महेन्द्रलाई नै भनेर पौड्याललाई राखेरै छोडे । र, उनी पनि सदस्य बसे । पौड्यालबारेमा राजा महेन्द्रलाई देवकोटाले भनेका थिए, ‘ती ऋषि तुल्य स्रष्टा सदस्यमा अटाउँदैनन् भने म पनि एकेडेमीमा टेक्दिन ।’

१०. विश्व व्यक्तित्वसँग देवकोटा: माओ र रवीन्द्रनाथसँग मिलाए हात

देवकोटाले दुई छिमेकी भारत र चीनबाहेक पनि विभिन्न देश घुमेका थिए । उनी २०१० सालमा चौथो विश्व युवा सम्मेलनमा भाग लिन रोमानिया पुग्दा बीस दिन बसेर त्यहाँबाटै चोकोस्लोभाकिया, हङ्गेरी, रुस पुगे । रुसबाट ट्रान्ससाइबेरियन रेल चढेर चीन पुगे । मे डेमा पुगेका देवकोटाले माओसँग हात मिलाए । माओ र चीन दुवैसँग प्रभावित भए । ‘ए चीनका सुपुत्रहरू’ र ‘अक्टोबर एक र पेकिङ सहर’ शीर्षकका अंग्रेजीका दुई कविता चीनबारे लेखे । उनका ती कविताका नेपाली अनुवाद गोविन्द भट्टले गरेर ‘जस्केलो’ र ‘दर्पण’मा प्रकाशन गरे ।

भारतमा हुने विश्वस्तरीय अफ्रोएसियाली जनसम्मेलनमा २०११ मा पुगेका उनी २०१३ को अफ्रोएसियाली लेखक सम्मेलनमा पनि पुगे । अफ्रोएसियाली सम्मेलनकै क्रममा उनी उज्बेकिस्तानको राजधानी तास्कन्दमा २०१५ सालमा पुगे । तास्कन्द सम्मेलनमा देवकोटाको भाषण लोकप्रिय भयो । आयोजकले चिठी नै लेखेर देवकोटाका सहयोगी कन्चन पुडासैनीलाई आयोजककी अध्यक्ष तथा सोभियत कवि एम. जुल्फियाले लेखिन्,‘तासकन्द सम्मेलनको सफलताको लागि नेपालका महाकवि देवकोटाको योगदान अतुलनीय रह्यो ।’ तासकन्दबाट देवकोटा अजरबैजान र रुस पनि पुगे ।

१९९४ सालमै आफ्नो गीत रेकर्ड गर्न कोलकाता र मुम्बई गएका देवकोटाले रवीन्द्रनाथ ठाकुरसँग रेलले डिब्बामा भेटे । रवीन्द्रकै संगतले उनले बंगली भाषा सिके । गितान्तर खरर पारे । एक पटक भारतको अल इण्डिया रेडियोले अन्तरवार्ता लियो । गणेशमान सिंह लगायतसँगै रेडियोको कार्यालय पुगेका देवकोटाले कविता भने । कविता भनेपछि आयोजकले कविताको दश रुपैयाँको चेकमा हस्ताक्षर गराउन खोज्दा देवकोटाले भने, ‘तपाईँहरू रवीन्द्रनाथ ठाकुरलाई कविता भनेको कति रुपैयाँ पारिश्रमिक दिनुहुन्छ?’

११. देवकोटाले तनकी र मनकी सुन्दरी भनेकी दार्जिलिङकी देवकुमारी

देवकोटा दार्जिलिङमा विभिन्न साहित्यको कार्यक्रमको क्रममा गए । पश्चिम बंगला सरकारले बनाउने नेपाली पाठ्यक्रमको विज्ञको रूपमा पनि उनी २०१० साल ताका पटक पटक दार्जिलिङ पुगे । उनलाई दार्जिलिङ तान्ने एक अर्को चुम्बक थिइन् देवकुमारी सिन्हा । उनीसँग देवकोटा रत्तिएका थिए । देवकुमारीको अटोमै लेखेका थिए, ‘तनकी सुन्दरी, मनकी सुन्दरी, देवकुमारी ।’ नेपाली साहित्यकार भवानी भिक्षुले देवकुमारीसँग विवाद नै गर्न खोज्दा उनले मानिनन् । उनको आकर्षण देवकोटामै थियो । त्यही भएर उनले पछिसम्म देवकोटाको अटोका अक्षर राखिरहिन् । सार्वजनिक गरिरहिन् । उनले देवकोटालाई भनिरहिन्, ‘मेरो किशोरावस्थाको नायक’ ।

१२. ती रुसी विदुषी जो देवकोटाबाट प्रभावित भएर नेपाली साहित्यमा महाविद्यावारिधि गरिन

देवकोटा सोभियत संघ पुग्दा उनको सहयोगी र अनुवादकको काम गर्ने प्राज्ञ थिइन डाक्टर ल्यूदमिला आगानीना । आगानीनाले अंग्रेजी भाषामा लेखेका देवकोटाका रचनाहरू रुसीमा अनुवाद गरिन् । उनले देवकोटाको भाषण र रचनाहरू देखेर नेपाली साहित्यमा महाविद्यावारिधि लिने निर्णय लिइन् । पछि उनले ‘आधुनिक नेपाली काव्यमा मानिस, समाज र धर्म’ शीर्षकमा त्यो गरेरै छोडिन् । उनले पछि ‘नेपाली साहित्यको संक्षिप्त विवेचना’ पुस्तक लेखिन् । सोभियत संघबाट प्रकाशन हुने विश्व साहित्यको इतिहासमा नेपाल खण्डबारेमा लेखिन् । देवकोटाको एक प्रभावकारी प्रस्तुतिले सोभियत संघको जस्कोलासम्म नेपाली साहित्य पुग्न पायो ।

१३. देवकोटाको पत्रकारिता: कांग्रेसको मुखपत्रदेखि साहित्यिक पत्रिकासम्म

पत्रकारितामा पनि देवकोटा जोडिएका छन् । नेपाली कांग्रेसको मुखपत्र ‘युगवाणी’मा उनी बनारस हुँदा २००४ सालमा सम्पादक मण्डलका एक सदस्य भए । त्यो भन्दा अगाडी २००१ देखि २००२ सम्म काठमाडौँबाट प्रकाशन हुने पत्रिका ‘शारदा’को सम्पादकीय पनि लेखेका थिए देवकोटाले । यसबाहेक विभिन्न साहित्य संस्थाहरूका लेखरचनाहरु पनि उनले लेखन, सम्पादन गरेका छन् ।

१४. देवकोटाको जीवनमा रोगैरोगः बाल्यकालमा रगतमासी, अल्सर बिग्रेर क्यान्सर

देवकोटाको मानसिक रोग, उनको राँची उपचार अनि उनको लोकप्रिय कविता ‘पागल’ त धेरै चर्चामा छन् । चार वर्षको हुँदै रगतमासीले थलिएका देवकोटा बाच्ने कल्पना थोरैको थियो । दिदी लोकप्रियादेवीले चिनेका धामीले गर्दा उनी निको भएको मानिन्छ । २००४ सालमा बनारस पुगेका देवकोटालाई मलेरियाले गाँज्यो ।

२०१४ मा उनलाई अल्सर भएको देखियो । त्यसको समयमै निदान नभएकोले उनलाई क्यान्सर भयो । त्यसैले उनलाई लग्यो । आफ्नो ज्यान जानु अगाडी बागमती हेर्दै देवकोटाले आर्यघाटमा पत्नी मनदेवीलाई एक जलेको लास देखाउँदै २०१६ भदौ २९ मा भनेका थिए, ‘बजै’ त्यो लास जलेपछि मेरो पालो आउँछ हो कि?’ अन्तः त्यही भयो जो देवकोटाले अनुमान गरेका थिए ।

१५. देवकोटाको मृत्युमा सदनमा मौन धारण, सरकारले तिर्‍यो ऋण

५१ वर्षको उमेरमा देवकोटाले देह छोड्दा देशले शोक मनाएको थियो । प्रथम जन निर्वाचित सरकारले बिदा दिएको थियो । प्रतिनिधि सभा तथा महासभा दुवैले २ मिनेट मौन धारण गरेर श्रद्धाञ्जली दिएका थिए ।

सरकारले देवकोटाको २२ हजार ऋण मात्रै तिरिदिएन, उसले ३ हजार किरिया खर्च पनि दियो । ऋण तिर्ने मेसोको नेतृत्व गणेशमान सिंह अर्थात् तत्कालीन ‘निर्माण तथा संचारमन्त्री’ले लिएका थिए ।

गणेशमानसँगै बनारसमा बसेका थिए देवकोटा । उनीसँगै दार्जिलिङ पनि पुगेका थिए । कोलकातामा पनि सँगै थिए । देवकोटाको निधनमा २०१६ भदौ ३० गते देशको प्रथम प्रतिनिधिसभाको बैठकमा बोल्दै तत्कालीन प्रधानमन्त्री बिपी कोइरालाले भनेका थिए, ‘नेपाली साहित्यजगत्का एक महान् विभूति महाकवि देवकोटाको असामयिक निधनबाट देशलाई ठूलो क्षति भएको छ । नेपालको सबैभन्दा ठूलो साहित्यिक, मलाई त यो भन्नमा अत्युक्ति लाग्दैन कि नेपाली साहित्यको इतिहासमा सबैभन्दा ठूलो व्यक्तिको निधन भयो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *