फाइनलमा नेपाललाई चक्मा दिएकी पाेर्ना चक्मा सामाजिक सञ्जालमा बनिन् हटकेक
काठमाडौं । अहिले सामाजिक संजालमा बंगलादेशी खेलाडी ऋतु पोर्ना चक्मा चर्चामा छिन् । साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा नेपाल र बंगलादेशले १–१ को बराबरी खेलिरहँदा ८१ औं मिनेटमा ऋतुले निर्णायक गोल गरेकी थिइन् ।
ऋतुकै गोलको मद्दतमा बंगलादेशले दोस्रोपटक साफ वुमन्स च्याम्पियनसिपको उपाधि जित्यो भने नेपाल छैटौंपटक उपविजेतामा सीमित भयो ।
नेपालीलाई उपाधि जित्नबाट वन्चित गरेकी २० वर्षीया ऋतुका पोस्टहरुमा गएर नेपाली फुटबल समर्थकहरुले लाइक र कमेन्ट गरिरहेका छन् ।
नेपाली समर्थकमाझ एकाएक संजालमा लोकप्रिय बनेकी ऋतुको पोस्टमा मनबहादुर सिजापति नाम गरेको प्रयोगकर्ताले लेखेका छन्, ‘ऊर्जावान बंगलादेशी खेलाडी, नेपालको तर्फबाट माया छ ।’ उनी खेल कौशलको साथमा सुन्दरताका कारण पनि चर्चामा आएकी हुन् ।
सामाजिक संजालमा हटकेक बनेकी ऋतुले सन् २०२१ मा बंगलादेशको राष्ट्रिय टोलीमा डेव्यु गरेकी मिडफिल्डर ऋतुले ११ खेलमा बंगलादेशका लागि २ गोल गरेकी छन् । उनले बंगलादेशी क्लब बसुन्धरा किंग्सबाट व्यवसायिक फुटबल खेलिरहेकी छन् ।
हिजो भएको खेलमा बंगलादेशसँग २–१ ले नेपाली महिला फुटबल टिम पराजित बनेको थियो । पराजित भएपछि प्रशिक्षक राजेन्द्र तामाङले राजीनामा दिएका छन् ।