वेष्ट इन्डिजका वाल्टनले कर्णाली याक्सबाट खेल्ने – Nepal Press

वेष्ट इन्डिजका वाल्टनले कर्णाली याक्सबाट खेल्ने

काठमाडौं । हिमालयन विल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले वेष्ट इन्डिजका चादविक एन्टोनिओ किर्कपाट्रिक वाल्टनलाई अनुबन्ध गरेको छ ।

शनिवार कर्णाली याक्सले जमैकाका ३९ वर्षीय दायाँ हाते शीर्ष क्रमका ब्याटरलाई भित्राएको घोषणा गर्‍यो । वाल्टन नेपाल प्रिमियर लिग खेल्ने कर्णाली याक्सका तेस्रो विदेशी खेलाडी हुन् ।

यसअघि नै हिमालयन विल्डर्स एण्ड इन्जिनियर्सले पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका बाबर हायतलाई अनुबन्ध गरेको थियो । तलातले पाकिस्तानको लागि १८ टी–२० आई खेलेका छन् । बाबरले हङकङको लागि ७९ टी–२० आईमा प्रतिनिधित्व गरिसकेका छन् ।

सन् २०१४ मा अकल्यान्डमा घरेलु टोली न्युजिल्यान्डविरुद्ध डेब्यु गरेको वाल्टनले १९ टी २०आई खेल खेलेका छन् । जसमा दुई सय २५ रन बनाएका छन् । त्यस्तै, २ टेष्ट र ९ एकदिवसीय खेले खेलेका छन् ।

वाल्टनलाई अनुबन्ध गरेपछि कर्णाली याक्सका प्रशिक्षक ज्ञानेन्द्र मल्लले टिम थप मजबुत हुने आशा गरे । ‘वाल्टन वेष्ट इन्डिजका अनुभवी ब्याटर हुन् । उनको आगमनपछि तीन विदेशी खेलाडी भएका छन्,’ प्रशिक्षक मल्लले भने, ‘टिम थप मजबुत भएको पाएको छु ।’

कर्णाली याक्सको मार्की खेलाडीमा राष्ट्रिय टोलीका अलराउन्डर सोमपाल कामी छन् । प्रतियोगिताको लागि कर्णाली याक्सले अक्सनबाट ‘ए’ श्रेणीमा राष्ट्रिय टोलीका गुल्शन झा, देव खनाल र नन्दन यादवलाई समावेश गरेको छ ।

त्यस्तै, ‘बी’ श्रेणीमा अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीसँगै दीपक डुम्रे छन् ।

कर्णाली याक्सले हस्पिटालिटी पार्टनरमा होटल हिल्टनसँग सम्झौता गरिसकेको छ । प्रतियोगिता १५ मंसिरदेखि ६ पुससम्म हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर