ओशोबारे ‘लुकेका तथ्य’ थाहा पाउने अवसर नेपालमै, मा शिलासँग प्रत्यक्ष अन्तरक्रिया गर्न पाइने
काठमाडौं । के तपाईं ओशोको बारेमा नजिकैबाट जान्न चाहनुहुन्छ ? वा भनौं उनका बारे थाहा नपाएका रहस्यहरु खोतल्न चाहनुहुन्छ, त्यो पनि प्रत्यक्ष रुपमा ? यदि त्यसो हो भने हालसम्म सार्वजनिक नभएका धेरै जानकारी हासिल गर्न नेपालमै यस्तो अवसर प्राप्त हुने भएको छ । त्यो हो ओशोकी नजिकैको पात्रका रुपमा रहेकी मा आनन्द शिला नेपालमा आउने भएकी छन् ।
‘एक्स्प्लोर हिडन साइड अफ ओशो विथ शिला’ नामक अन्तरक्रियाका लागि उनी नेपाल आउने भएकी हुन् ।
भीएफवाई टक्सले आयोजना गर्न लागेको उक्त कार्यक्रम आगामी मंसिर ४ गते (नोभेम्बर १९) मा हुनेछ । कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा हुने यस अन्तरक्रियाले युवाहरुमा अध्यात्मिक जागरुकता ल्याउन सहयोग गर्ने तथा सत्मार्ग पहिल्याउन भूमिका खेल्ने भीएफवाई टक्सका संस्थापक दशरथ सुनारले जानकारी दिए ।
यसअघि भीएफवाई टक्सकै लागि उनी नेपाल आएकी थिइन् भने अहिले पनि नेपालीहरुसँग अन्तरिक्रयाका लागि शिलालाई आमन्त्रित गरिएको सुनारले बताए ।
त्यसो त भीएफवाई टक्सले अन्तर्राष्ट्रिय क्षेत्रमा ख्यातिप्राप्त व्यक्तित्वहरुलाई नियमित रुपमा आफ्नो ‘टक सो’मा सहभागी गराएर विश्वमा नेपालको पहिचान बढाउन प्रयास गरिरहेको छ ।
यसैगरी, अब प्रत्येक महिना कोही विश्वविख्यात हस्तीलाई बोलाएर नेपाली युवाहरुसँग प्रत्यक्ष अन्तरक्रिया गराउने र नेपालको पर्यटकीय सम्भावनालाई उजागार गर्ने उद्देश्यका साथ अघि बढेको सुनारले बताए ।