पर्साको पकाहामैनपुरमा जग्गा विवादमा दुई पक्षबीच झडप, १० जना घाइते
वीरगञ्ज । पर्साको पकाहामैनपुर गाउँपालिका २ मा दुइपक्षबीच झडप हुँदा १० जना घाइते भएका छन् । जग्गाको विषयमा धर्मजित मेहता पक्ष र किशोरी महतो पक्षबीच भएको झडपमा दुवै पक्षका १० जना घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार जग्गाको विषयमा दुवै पक्षबीच विवाद भएर झडप भएको र दुवैतर्फका १० जना घाइते भएका हुन् । धरमजित महतो र किशोरी महतोबीच लामो समयदेखि जग्गाको विवाद रहेको थियो । जग्गाको विवादमा अदालतमा मुद्दा पनि परेको थियो ।
अदालतमा परेको मुद्दामा किशोरी महतो कोइरीको पक्षमा ७५१५ वर्गमिटर जग्गा भोग गर्न भनेपछि बढी जग्गा भोगचलन गर्न खोज्दा धरमजित महतो पक्षबीच झडप भएको हो ।
किशोरी महतो पक्षले बढी रहेको जग्गा भोगचलन गर्दा धरमजित पक्षले नाप नक्शा गरेर मात्रै काम गर्नुभन्दा किशोरी महतो पक्षले बल प्रयोग गरी जोत्न खोज्दा झडप भएको दाबी गरिएको छ ।
झडपका क्रममा धर्मजित मेहता, सुशीला देवी, रामवती देवी, रमेश कुशवाहा, महन्थ महतो कोइरीलगायत घाइते भएका छन् । किशोरी महतो पक्षका राधेश्याम, अमीर मेहता, अनिल कुशवाहा, उमेश कुशवाहा, बृजेश कुशवाहा लगायतका १०÷१५ जनाको समूहमा आएका उनीहरुले धर्मजित महतो पक्षकालाई लाठ्ठीले एक्कासी प्रहार गर्न थालेको धर्मजित मेहताले जिकिर गरे ।