नयाँ पुस्ताको ‘आवाज’ दबाउने ‘दल’ कि ‘दास’ उत्पादन भट्टी ?
कुनै पनि दलभित्र खुलेर बोल्न पाइँदैन, र त सुरेन्द्र केसी, युवराज सफल, आशिका तामाङहरुलाई दलै चाहिँदैन !
अहिले बोल्दा भविष्यमा ‘सत्ता’ गुमाउनुपर्छ भन्ने ज्ञान पाएका भए नेपाली कांग्रेसका प्रथम महामन्त्री गगन थापा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति बेहद क्रूर कटाक्ष गर्थेनन् होला । आफ्नै पार्टीको समर्थनमा नयाँ सरकार बनेपछि ससाना युट्युबरबाट पनि भाग्दै गरेका देखिने थापाले विगतमा एमाले अध्यक्ष ओलीलाई अचाक्ली कटाक्ष गरेर बजारु ‘भ्युज’ पाए । उनले ओलीलाई ‘कीर्तेप्रसाद’सम्म भने, तर असार ३० गते आफ्नै पार्टीको समर्थनमा ओली प्रधानमन्त्री बनेपछि उनले चाहेको कुनै पनि मन्त्री उपप्रधानमन्त्रीसहित उपलब्ध हुनेमा शंका थिए । तनहुँतिरबाट काठमाडौं आएर पहिलो पटक जितेर पहिलो पटकमै मन्त्री हुने अवसर पाएका प्रदीप पौडेलभन्दा चार पटक जितेका र पार्टीमा पनि प्रथम महामन्त्री रहेका थापाले ओलीको मात्र होइन, आफ्नै पार्टी सभापति शेरबहादुर देउवाको पनि बरोबर चित्त दुखाएका थिए ।
भावी सभापतिको घोषणा र संसदीय दलका नेतामा स्पर्धा उनको राजनीतिक चरित्रको फड्को नै थियो, तर राजनीतिमा धैर्य पनि चाहिन्छ । थापाको त्यो ‘तुजुक’ अहिले ‘नून खाएको कुखुरा’ झैं भएको छ । उनकै समर्थनको र उनकै रोजाइका सांसदहरु मन्त्री भएको ‘ओली सरकार’को सय दिनबारे उनले खुलेर प्रशंसा पनि गर्न चाहेनन् या भ्याएनन् । यसपालि इन्द्रेणी टीम थापा निवास पुगेर श्रीराम अधिकारी ‘बाजे’ले अब ‘देश बनाउने गगन थापा’ले भनेर गीत गाइदिएपछि थापाको मुस्कान प्रफुल्लित मुद्रामा क्यामरामा कैद देखिन्थ्यो । त्यसअघि उनले कुकुर तिहार मनाएको तस्बिर पनि टिकटकमा राम्रै देखिएको थियो ।
देशको आशा नयाँमा छ । नयाँ भनेको पार्टीको पहिलो पुस्ताबाट दोस्रो पुस्तामा पार्टी र सत्ता पुगोस् भन्ने हो । यो कुरा गगन थापाले पनि नबुझेका त होइनन्, तर उनको बानी पनि अहिलेका प्रधानमन्त्री जस्तै सस्तो लोकप्रियताका लागि छुद्र बोलिहाल्ने छ । ओली जस्तै उखानटुक्का त प्रयोग गर्दैनन्, तर थापा भन्न बाँकी केही राख्दैनन् । यसले थापालाई राजनीतिमा यहाँसम्म ल्याउन त साथ दियो होला, अब थप प्रगतिका लागि यति छुद्रता काफी छैन । जनता शालीन, सभ्य, गम्भीर नेताको खोजीमा छन् ।
झट्ट सुन्दा छाडा लाग्ने बोल्ने सांसद र नेताहरु त टन्नै छन् नि ! जस्तोः पूर्वखेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइ सामाजिक सञ्जालमा भाइरल छ । पछिल्लो समय एमालेभित्र पनि दोस्रो पुस्ता मौन छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली ‘तामाका तार’ र अरु सबै ‘इन्सुलेटर’ भएका छन् । कोही केही बोल्दैनन् । बोले स्पष्टीकरणको वाण भेटिहाल्छन् । भर्खरै विन्दा पाण्डे, उषाकिरण तिमिल्सिना यसका साक्षी हुन् । एउटा जिउँदाजाग्दो र देशले आशा गरेको पार्टीमा यो हदको ‘मौनता’ किन साँधिएको छ ? नेताहरुले नै पछि भन्लान्-लेख्लान् ।
तनहुँतिरबाट काठमाडौं आएर पहिलो पटक जितेर पहिलो पटकमै मन्त्री हुने अवसर पाएका प्रदीप पौडेलभन्दा चार पटक जितेका र पार्टीमा पनि प्रथम महामन्त्री रहेका थापाले ओलीको मात्र होइन, आफ्नै पार्टी सभापति शेरबहादुर देउवाको पनि बरोबर चित्त दुखाएका थिए ।
तर पछिल्लो समय नेपाली कांग्रेस र नेकपा एमालेसँगै अन्य पार्टीमा पनि दोस्रो पुस्ताका नेताहरुको मौनता नेपाली राजनीतिमा ‘तलुुवाचाट’ संस्करणमा परिणत हुँदैछ । एमालेमा चर्को बोल्ने भीम रावललाई जुनियरहरु लगाएर लखेटिएको छ । पार्टीकै ढाकछोपमा सिंगो जिन्दगी लगानी गरेका गोकुल बाँस्कोटा, महेश बस्नेत, ऐन महर पनि केही विवादित घटनापछि मौन पारिएका छन् । सबै अध्यक्षको लाइनमा बोल्ने नत्र मौन बस्ने चलन नै चलाइएपछि एमालेभित्रको उकुसमुकुस बाहिर नआए पनि भयानक ढंगले ओथारो बसिरहेको छ । यसको झलक विन्दा पाण्डे र उषाकिरण तिमिल्सिना हुनुभन्दा बरु नबोलेरै बस्ने भनेर एमालेका नेताहरु ‘सञ्चो-बिसञ्चो’ पनि अध्यक्षलाई नसोधी नभन्लान् भन्ने डर छ । योगेश भट्टराई जसरी अध्यक्षको प्रशंसामा मात्रै बोल्न नसक्नेहरुलाई त झन बोल्ने पालो पनि २०८४ अघि नआउनसक्छ भन्नेसम्म अड्कलबाजी पनि गर्छन् केही मनुवाहरु ।
यही संक्रमण असार ३० गते सरकार बनेपछि कांग्रेसमा पनि सरेको छ । पार्टीलाई जिउँदोजाग्दो बनाउने महामन्त्री थापा मौनव्रतमा अभ्यस्त छन् । उनी अब पार्टी सभापति देउवासँग छुद्र बोलेर भन्दा उपलब्ध हुने भागबन्डामा आफू पक्षधर समेट्दै शक्ति सञ्चयमा लाग्ने अभ्यासमा देखिन्छन् । यसको शुरुवात पार्टी महामन्त्री गगन थापाले नै गरेको कांग्रेसका नेताहरु बताउँछन् । पार्टीको समर्थनमा पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा उस्तो कुर्लने थापा सय दिनयता खास बोल्दैनन्, लगभग ‘भाइब्रेसन’बाट ‘साइलेन्ट’ मोडमा मात्र गएका छैनन्, भन्नेहरु त महामन्त्री ‘नट रिचेबल’ देखिन थालेकोसम्म सुनाउँछन् । यो मौनता केका लागि ?
कुनै समय उनले मुख खोल्लान्, तर प्रचण्डलाई त्यस्तो बोल्नसक्ने उनी एमालेसँग पनि कटाक्षमा रहने पात्र हुन् । सरकार बनेपछि एकाएक हराएको बोलीले भन्छ, ‘नेतृत्वमा पुग्न चाहने या नेतृत्व निर्माण गर्नेहरुले मौन बस्नुपर्छ ।’ थापामा यो दिव्यज्ञानले काम गरेको हो या उनी शक्ति सञ्चयका लागि सभापति देउवा जस्तै मौन बस्ने अभ्यास सिकिरहेका छन् ? बलियो प्रतिपक्षको भूमिका निर्वाह गर्ने शेखर कोइरालाको पनि उस्तो विद्रोह देखिन्न । त्यसमाथि कांग्रेसको पछिल्लो बैठकमा सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापाको प्रशंसा गरेर थापाको मात्रै मुख बन्द गराइदिएका छैनन्, आफू पनि मौन बस्ने र अरुलाई पनि मौन राख्ने देउवाको अभ्यास कांग्रेसमा दोस्रो पुस्तामा छिरेको छ । भला एमाले र कांग्रेसमा देखिएको मौनता फरक हुनसक्छ ।
कांग्रेस र एमालेमा मात्रै होइन, तेस्रो दल माओवादीमा पनि यस्तै देखिएको छ । केही समय पार्टीमा फरक र क्रान्तिकारी देखिएका जनार्दन शर्मा पनि मौन देखिन्छन् । अचेल उनी नेतृत्वसँग फरक मत पनि राख्दैनन् । अरु नेता जस्तै मौन देखिन्छन् । बरु अध्यक्षसँगै कार्यक्रममा चितवनमा देखिएर नयाँ सन्देश जारी गरे । अघिल्लो वर्षको फागुनतिर अध्यक्षसँग निकै टाढा पुगेका उनका प्रस्तावले अध्यक्ष पनि दूरी बनाउन बाध्य भएका थिए, तर अहिले माओवादीमा पनि मौनताको पहाड देखिएको छ । आफ्नै पार्टी अध्यक्ष प्रधानमन्त्री हुँदा थुनामा परेका उपाध्यक्ष कृष्णबहादुर महराको मौनताले भन्छ, ‘राजनीति कठोर हुन्छ, सहन सक्नुपर्छ ।’ सायद उनले सहे । उनी हिरासत पुगे । प्रवक्ता अग्निप्रसाद सापकोटालाई मुद्दाले उस्तै तर्साइरहेको छ । जनार्दन शर्माले अलिअलि विद्रोह गर्थे, उनी पनि मौन छन् ।
पार्टीको समर्थनमा पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा उस्तो कुर्लने थापा सय दिनयता खास बोल्दैनन्, लगभग ‘भाइब्रेसन’बाट ‘साइलेन्ट’ मोडमा मात्र गएका छैनन्, भन्नेहरु त महामन्त्री ‘नट रिचेबल’ देखिन थालेकोसम्म सुनाउँछन् । यो मौनता केका लागि ?
मौनताको संक्रमण पछिल्लो समय हेर्दाहेर्दै देशको चौथो शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा पनि थोरै समयमा ‘हाइब्रिड शैली’मा झाँगिएको छ । त्यहाँ महामन्त्री डा. मुकुल ढकालले केही लिखित नै पार्टीमा पेश गरे । त्यो सामग्री पार्टीमा छलफल नभई सञ्चारमा प्रवाह भयो भनेर उनीमाथि ‘चार्ज’ लगाइयो । दोहोर्याएर स्पष्टीकरण सोधिएको छ । उनका ठाउँमा अर्का स्थायी प्रवक्ता त तोकिएका छैनन्, तर उनको विद्रोहपछि त्यो पार्टीमा पनि दोस्रो-तेस्रो वरियताका नेताहरु बोल्न छाडेका छन् ।
अरु त अरु निकै ठूलो स्वरमा चिच्याउने नेताहरु पनि पार्टी सभापति रवि लामिछाने पोखरा हिरासतमा पुगेपछि सडकमा उफ्रिए, कराए, तर पार्टीको बैठक बसेर लिखित निर्णयविनै पोखरा र काठमाडौंमा कार्यक्रम गर्न थाले । उनीहरुको हुलिया हेरेर कांग्रेस र एमालेले लिखित वक्तव्य दिएर ‘अदालती प्रक्रिया’लाई चुनौती नदेऊ भनिसक्यो । रास्वपाको ‘नीलो लेटरप्याड’ कतै देखिएन । चौतर्फी दबाबपछि अब पार्टी बैठक बसेर आन्दोलन गर्ने भन्दै पन्छियो । नेताको गल्ती छ कि भनेर त्यो पार्टीमा मुकुल ढकालबाहेक दोस्रो बोल्नसक्ने नेता तयार नै नभएको यसपटक ‘जाउँ पोखरा’ले देखायो ।
यो मौनताको संक्रमण अर्को ठूलो पुरातन शक्ति राप्रपामा पनि देखापर्यो । बडादशैँ शुरु हुने दिन घटस्थापनाकै दिन भारतमा क्यान्सर उपचारमा सरिक पार्टी महामन्त्री धवल शमशेर राणा संगठन विभाग प्रमुखबाट हटाइए । पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले हिन्दू धर्मको कुरा त चर्कै गर्थे, तर हिन्दूहरुको पहिलो ठूलो पर्वारम्भकै दिन महामन्त्रीलाई संगठन विभागबाट हटाइदिए । पार्टीमा यसको कतैबाट विरोध भएन । पार्टीमा दोस्रो पुस्ताका नेता, चर्को क्रान्तिकारी कुरा गर्ने ज्ञानेन्द्र शाही मौन बसे । अर्का चर्का भाषणबाज रवीन्द्र मिश्रको पनि मौनता देखियो ।
प्रवक्ता मोहन श्रेष्ठले त ‘पहिला पनि यस्तो निर्णय भएको थियो । संगठन विभाग अध्यक्षले रुचाएका व्यक्तिले पाउने व्यवस्था छ, महामन्त्रीले मात्रै लिने होइन’ भनेर विज्ञप्ति नै निकाले । यो गर्नैपर्ने विषय भए पनि बैठक बसेर गरेको भए हुने थियो । अमेरिकामा रहेका पार्टी वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले फेसबुकमा लेखेर अध्यक्ष लिङदेनको कार्यशैलीमा प्रश्न उठाए, तर पार्टीका आशालाग्दा रवीन्द्र मिश्र, ज्ञानेन्द्र शाही, रेखा थापाहरुको यो एजेन्डा नै बनेन । दोस्रो पुस्ता ‘अध्यक्षभक्त’ हुनुपर्ने त्यहाँ पनि देखियो ।
नेतृत्वको विरोध गर्नेबित्तिकै सकाइहाल्छन् कि भन्ने भय नयाँ पुस्तामा भयंकरसँग सबै पार्टीमा छिरेको देखिन्छ । दोस्रो पुस्ताका होनहार नेताहरुको मौनताले नै बेलाबखत भीम उपाध्याय, दुर्गा प्रसाईं, युवराज सफल, सुरेन्द्र केसी, आशिका तामाङ, पुण्य गौतमहरुको उदय भइरहेको लुकेको छैन ।
यो संक्रमण यति चाँडै केन्द्रबाट प्रदेशतिर पनि पुगेछ कि ‘स्वराज’ भनेर मधेशमा उपेन्द्र यादवलाई पनि चुनौती दिँदै उदाएको जनमत पार्टीमा पनि घाम जस्तै छर्लंग देखियो । त्यहाँ सिंगो देश चलाउने सपना देखेका डा. सीके राउत अहिले पत्नीबाट असुरक्षित छु भन्दै प्रहरीमा धाइरहेका छन् । अदालतमा पत्नीसँग सम्बन्ध विच्छेदका लागि गइरहेका छन् । उनले दाइलाई पार्टीमा भएजतिका अवसर दिएका छन् । चुनाव हारेकालाई योजना आयोगमा सदस्यदेखि विदेश भ्रमणमा समेत पठाए । उनको परिवारवाद हावीबारे पार्टीमा बोल्ने कोही देखिएका छैनन् । केही समयअघि बीपी साहदेखि केही नेतालाई निलम्बनसमेत गरिएको थियो ।
अध्यक्ष राउतबारे अनेक चर्चा परिचर्चा भइरहेका छन् । स्वयम् घर मिलाउन नसक्नेले कसरी गठबन्धन मिलाउलान्, देश चलाउलान् भनेर प्रश्न गर्ने कोही भेटिएका छैनन् । राउतले आँखा झिम्क्याए सबैले झिम्क्याउनु पर्ने नियम जस्तै भएको छ । स्वामी विकासानन्दको शिविर जस्तै, मनमा अनेक पिर भए पनि स्वामी हासेपछि हास्नुपर्ने नियम जनमतमा पनि देखिएको छ, ‘स्वराज’को रुमानी सपनामा भिझाएर मधेशी पछि लगाइएको पार्टीमा पनि बोल्न निषेध छ । हिजो एमालेमा विद्रोह गर्दा हात समातेर माधवकुमार नेपाललाई हिँडाउने रामकुमारी झाँक्रीहरु समाजवादी पार्टीमा पाखा पारिए झैं हुन्छ भनेर अरु पार्टीका आशालाग्दा दोस्रो र तेस्रो पुस्ताका नेताहरु डराएकै हुन् त ?
नेतृत्व खुइल्याएर नेतृत्वमा पुग्नु घातक हुन्छ । अहिले एमालेमा केपी शर्मा ओलीले विद्रोहको आवाज बन्द गर्ने सफलता हासिल गरे पनि उनको विगत त्यस्तो थिएन । उनले कांग्रेस र माओवादीलाई गरेको कटाक्षका भिडियोहरु त भेटिन्छन् नै । पार्टी अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री हुँदा उस्तै कटाक्षपूर्ण क्षुद्र भाषण गरेका थिए । पार्टी नेता माधवकुमार नेपालविरुद्ध उस्तै कटुतापूर्ण वचन लगाएका थिए । त्यही बाटो प्रयोग गरेर आज सत्तामा पुगेपछि उनलाई भीम रावल त ‘हेभीवेट’ नै भइहाले । विन्दा पाण्डे र उषाकिरण तिमिल्सिना पनि भारी पर्न थाले र स्पष्टीकरणको फायरिङ गरेर अरुलाई पनि तर्साएका छन् ।
कांग्रेसमा सभापति देउवा मौन बसीबसी राष्ट्रपतिदेखि मुख्यमन्त्रीसम्म सुरक्षित गरिरहेका छन् । ओली बोलेर सत्तामा पुग्छन्, देउवा नबोलीनबोली सत्ता सुरक्षित गरिरहेका छन्, तर दोस्रो पुस्ताका नेताहरुको मौनता भने लोकतन्त्रकै लागि ‘दास मोडल’ बनिरहेको छ । व्यवस्था खराब हुनुमा बुझेकाहरु समयमा नबोलेर र बोलेकाहरुले ढंग नपुर्याएर हो । नेतृत्वको विरोध गर्नेबित्तिकै सकाइहाल्छन् कि भन्ने भय नयाँ पुस्तामा भयंकरसँग सबै पार्टीमा छिरेको देखिन्छ । दोस्रो पुस्ताका होनहार नेताहरुको मौनताले नै बेलाबखत भीम उपाध्याय, दुर्गा प्रसाईं, युवराज सफल, सुरेन्द्र केसी, आशिका तामाङ, पुण्य गौतमहरुको उदय भइरहेको लुकेको छैन । नेतृत्वले राम्रो गरे पार्टीले भन्दा पनि जुरुक्क बोक्ने र गल्ती गर्दा सिस्नुपानीले सेक्ने एकाध दिल निशानी मगर र हामीहरुले मात्र राजनीतिक दलको कमजोरी सुधारको अपेक्षा गर्नुपर्ने अवस्था आउनु लोकतन्त्रमा दासहरुको उत्पादन भट्टी ठूलो हुनु र सबै पार्टीले यस्ता भट्टी विकासमा लगानी गरिरहेको पुष्टि हुनु हो ।