झापामा सीटीसी चियाले पायो आकर्षक मूल्य, भारत निकासी ३६ प्रतिशतले वृद्धि – Nepal Press

झापामा सीटीसी चियाले पायो आकर्षक मूल्य, भारत निकासी ३६ प्रतिशतले वृद्धि

विराटनगर । भारतीय बजारमा सीटीसी चियाको माग बढेसँगै यस पटक पूर्वी नेपालका चिया किसान र उत्पादकले आकर्षक मूल्य पाएका छन् ।

गत वर्ष १५ रुपैयाँ प्रतिकिलोमा बिकेको हरियो पत्तीको मूल्य यस पटक ५० रुपैयाँसम्म पुगेको छ । नेपालमा उत्पादन भएको ७५ प्रतिशत सीटीसी चियाको बजार भारत हो ।

भारतमा उत्पादन बढी हुँदा नेपाली सीटीसी चियाको मूल्य घट्ने गरेको थियो । यो वर्ष भने भारतमा उत्पादन घटेकाले हरियो पत्तीको मूल्य बढेको किसानहरूले बताएका छन् ।

कोशी प्रदेशको झापा, इलाम, पाँचथर, मोरङ र धनकुटामा चियाको खेती हुँदै आएको छ । यी जिल्लामध्ये झापामा सबैभन्दा बढी सीटीसी चियाको खेती हुने गरेको छ ।

झापा बाहुन डाँगीका चिया किसान मानबहादुर भारतीले यस पटक हरियो पत्तीले राम्रो मूल्य पाएको बताए । ८ रुपैयाँ प्रतिकिलो हरियो चिया पत्ती बेचेका किसानले यो वर्ष ५० रुपैयाँसम्म मूल्य पाएको उनले बताए ।

नेपाल चिया उत्पादक सङ्घका अनुसार भारतमा चिया उत्पादनमा कमी आउँदा यो वर्ष १८५ रुपैयाँसम्ममा तयारी चिया बिकेको छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार झापामा मात्रै १ करोड ८५ लाख किलो तयारी चिया उत्पादन हुने गरेको छ । झापामा ४ हजार ६६० हेक्टरमा सीटीसी चियाको खेती हुने गरेको बोर्डको तथ्याङ्क छ ।

चिया निर्यात बढ्यो

पूर्वी नाका काँकडभिट्टाबाट ३६ प्रतिशतले चिया निर्यात बढेको छ । २०८१/८२ को पहिलो त्रैमासिकमा मेची भन्सार हुँदै ३६ प्रतिशतले चिया निर्यात बढेको हो । कार्यालयका अनुसार साउन, भदौ र असोजमा मात्रै ६ हजार ४२६.७६ मेट्रिक टन चिया भारत निर्यात भएको छ ।

चालू आवको पहिलो तीन महिनामा एक अर्ब ७१ करोड ४० लाख ३१ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको कार्यालयले जनाएको छ । आव २०८०/८१ को सोही अवधिमा एक अर्ब १३ करोड ५९ लाख ९४ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको थियो ।

यस वर्ष चियाको मूल्य ५०.८८ प्रतिशतले बढेको मेची भन्सार कार्यालयले जनाएको छ ।

चिया किसान सहकारी सङ्घ झापाका अध्यक्ष हर्क तामाङले भारतमा सीटीसी चियाको माग बढेको भए पनि निर्यातमा अझै समस्या रहेको बताए । उनले विभिन्न बहानामा निर्यातमा भारतले दुःख दिँदै आएको गुनासो गरे ।

उनले भने, ‘अहिले पनि भारत सरकारले चिया निर्यातमा दुःख दिँदै आएको छ । कहिले छापा हान्ने हल्ला फिँजाइन्छ त कहिले गुणस्तर नभएको भन्दै सामान रोकिन्छ । व्यापारीहरुले लगेका कारण चिया निर्यात भइरहेको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर