विश्वका सबैभन्दा कमजोर ७ पोसपोर्टमा नेपाली: लिबियाकै स्तरको वरीयता
काठमाडौं । विश्वका पासपोर्टहरुको स्तर सार्वजनिक भएको छ । हेन्ले पासपोर्ट इन्डेक्सले हालै सार्वजनिक गरेको वरीयताअनुसार नेपाल विश्वका सबैभन्दा कमजोर सात पासपोर्टमा एक भएको छ ।
विश्वभरका पासपोर्टहरुमा कुन पासपोर्ट बोक्दा कति देशमा भिसाविना जान सकिन्छ भन्ने कोणमा यस्तो मापन भएको हो । जसअनुसार नेपाली पासपोर्टबाट ३९ देशमा मात्रै सहज जान सकिने देखिएको छ । नेपाल १००औं स्थानमा परेको छ । नेपालसँगै लिबिया पनि आएको छ । नेपालमुनि क्रमशः सोमालिया, पाकिस्तान, यमन, इराक, सिरिया र अफगानिस्तान छन् ।
नेपालमात्रै होइन दक्षिण एसियाली अरु देशको हालत पनि कमजोर छ । जस्तै १०१ स्थानको पासपोर्ट भएको पाकिस्तानका नागरिकले ३३ देश तथा सबैभन्दा पुछारमा १०५औं स्थानमा भएको अफगानिस्तानको पासपोर्टले २६ देशमात्रै सहज घुम्न सकिन्छ ।
अरु चार दक्षिण एसियाली देश बंगलादेश, श्रीलंका, भारत तथा भुटानको अवस्था पनि कमजोरै छ । ८९औं स्थानको भुटानी पासपोर्टबाट ५२ देश घुम्न सकिन्छ । ९९औं स्थानको बंगलादेशको पासपोर्टबाट ४० देश सहज घुम्न सकिन्छ । ९५औं स्थानको श्रीलंकाकोले ४४ देश । ८३औं स्थानको पासपोर्ट भएको भारतको समान वरीयता सेनेगलसँग छ । जसबाट ५८ देश सहज हिँड्न सकिन्छ ।
माल्दिसभ्सको पासपोर्टको वरीयता ५३औं छ । त्यसबाट ९४ देश सहज हिँड्न सकिन्छ । दक्षिण एसियामा सबैभन्दा बलियो पासपोर्ट माल्दिभ्सकै देखिएको छ ।
यी हुन् विश्वका शीर्ष ६ शक्तिशाली पासपोर्ट
विश्वको सबैभन्दा धेरै शक्तिशाली पासपोर्टको सूचीमा सिंगापुर आएको छ । जसबाट १९५ देश सहज यात्रा गर्न सकिने बताइएको छ । दोस्रो स्थानमा १९२ देश घुम्न सहज हुने गरी पाँच देशका पासपोर्ट छन् । त्यसमा क्रमशः फ्रान्स, जर्मनी, इटाली, जापान र स्पेन छन् ।