वन मन्त्रालयकाे जम्बाे टाेली `काेप´का नाममा विदेश सयरमा, स्पाेन्सर खाेज्न चटाराे – Nepal Press

वन मन्त्रालयकाे जम्बाे टाेली `काेप´का नाममा विदेश सयरमा, स्पाेन्सर खाेज्न चटाराे

वनमन्त्री शाही र सचिव खरालको मिलेमताेमा कर्मचारी छनौट

काठमाडौ ।  जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप) २९ मा वन तथा वातावरण मन्त्रालयकाे जम्बो टोली सहभागी हुने भएकाे छ ।

जलवायु विज्ञलाई पठाउनुपर्ने सम्मेलनमा मन्त्रालयले आफ्नै २६ जना कर्मचारीकाे अजरबैजानको बाकु उडाउन लागेको हाे ।

जलवायुसम्बन्धी काम गर्ने विभिन्न अन्तर्राष्ट्रिय संघ-संस्थाको प्रायाेजन हुने उक्त सम्मेलनमा मन्त्रालयका लेखादेखि स्टोर शाखाका कर्मचारीसम्म रहेका छन् ।

कोप–२९ आगामी नोभेम्बर ११ देखि २२ तारिख (आगामी कात्तिक २६ देखि मंसिर ७ गते) सम्म  बाकुमा हुँदैछ । मन्त्रालय स्रोतका अनुसार सहसचिव सिन्धु ढुंगानासहितको एक टोली मंगलबार बाकु पुगिसकेको छ । टोलीका बाँकी सदस्य केही दिनमा उड्ने तयारीमा छन्।

मंगलबारसम्म २६ जना कर्मचारीको नाम रजिष्ट्रेसन भएको छ । ती सबैलाई बाकु पठाउनका लागि सचिव दिपक खराल, सहसचिव वुद्धि पौडेलले विभिन्न विकास साझेदार संस्थाहरुलाई प्रायोजनका लागि दवाव दिएको स्रोतको दावी छ ।

वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले र सचिव खरालको समझदारीमा कर्मचारी छनौट भएका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवा निकटबाट आएका केही नाम समेत त्यसमा परेकाे स्राेत बताउँछ ।

‘यति धेरै कर्मचारीलाई जलवायु सम्मेलनमा पठाउनुको कुनै अर्थ छैन । प्राय: ती सबै घुम्न जान लागेका हुन् । यस्तो बद्मासी हुँदासमेत सबै मौन छन्´ असन्तुष्ट एक कर्मचारीले भने ।

बाकुमा घुम्न मन्त्री शाहीका नातेदार, सचिवालयका कर्मचारी समेत जाँदैछन् । यो बाहेक राष्ट्रपति रामचन्द्र पौडेल नेतृत्वको बेग्लै टोलीसमेत त्यसतर्फ जाँदैछ ।

यस विषयमा मन्त्रालयका सचिव खराललाई सोध्दा सबै कर्मचारीको जाने इच्छा तीव्र हुँदा व्यवस्थापन गर्नै गाह्रो परेको प्रतिक्रिया दिए ।

वनका कर्मचारीहरु महेश्वर ढकाल, राजु सापकोटा, शिव खनाल,सुमन सुवेदी, नारायण पोखरेल, हिमाल शिवाकोटी, दिपा वली, मेघनाथ काफ्ले, राजेन्द्र ढुंगाना, केशवराज जोशीसहित २६ जनाको सूची बाकुको लागि बनेको हो ।

ती सबैलाई हवाइ टिकट र खाने बस्ने सुविधाका लागि विभिन्न संस्थालाई पहल गरिएकाे स्रोतले बतायाे ।


प्रतिक्रिया

One thought on “वन मन्त्रालयकाे जम्बाे टाेली `काेप´का नाममा विदेश सयरमा, स्पाेन्सर खाेज्न चटाराे

  1. महाशाखा प्रमुखहरूको मात्र सहभागि भए राम्रो हुनेथ्यो, अन्यलाई किन ? देश कंगाल हुन लागेका बृला वाईयात ब्यक्तिहरूलाई किन बिदेश भ्रमण ? यस्तामा किन अख्तियार, किन मानव अधिकार किन सतर्कताको खोजि नहुने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर