आयोजनाहरुको तयारी फास्ट ट्रयाकमा गरिने
काठमाडौं । विश्व बैंकको सहयोगमा नेपालमा सञ्चालन गरिने करिव ७२ अर्ब रुपैयाँ बराबरका पाँचवटा आयोजनाको तयारी फास्ट ट्रयाकमा गरिने भएको छ ।
अर्थ मन्त्रालयमा बसेको बैठकले पूर्व पश्चिम राजमार्गको बागमती–पथलैया खण्ड विस्तार, पुल तथा सुधार तथा सम्भार, विद्युत वितरण प्रणाली आधुनिकीकरण तथा सुधारको आयोजनाको पूर्व तयारी छिटो सम्पन्न गर्ने निर्णय गरेको हो ।
यसैगरी तेस्रो चरणको रानीजमरा कुलरिया सिंचाइ र पहुँच तथा उत्थानशिलताको लागि डिजिटल सेवा रुपान्तरण सम्बन्धी आयोजनाको तयारी पनि फास्ट ट्रयाकमा गर्ने निर्णय भएको छ । विश्व बैंकको सहुलियतपूर्ण ऋण लगानीमा सञ्चालित हुने आयोजनाहरुको सम्बन्धित मन्त्रालयले सरोकारवालासँग छलफल गरी पूर्व तयारी गर्ने छन् । भने, आवश्यकता अनुसार अर्थ मन्त्रालयले सहजीकरण गर्नेछ ।
बैठकले सन् २०२५ को फेब्रुअरीसम्ममा आयोजनासँग सम्बन्धित सबै विषयको टुङ्गो लगाइ पूर्व तयारीका काम सक्ने निर्णय भएको हो । तयारी पूरा भएपछि सन् २०२५ को मार्चमा बस्ने विश्व बैंकको बोर्ड बैठकमा ती आयोजनाका प्रस्तावहरु पेश गरिने योजना छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आयोजनाहरुको पूर्व तयारीमा विशेष ध्यान दिन र आयोजनाहरु स्वीकृत भएपछि कार्यान्वयनमा तदारुकताका साथ लाग्न निर्देशन दिएका छन् । उनले नेपालले आफ्नो आवश्यकता अनुसार सहयोग लिने र अधिकतम प्रतिफल दिने ठाउँमा लगानी गर्ने बताए ।
बैठकमा अर्थ मन्त्रालय, भौतिक तथा यातायात मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधि र सम्बद्ध पदाधिकारीहरुको उपस्थिति थियो ।