यसरी जन्मियो ‘काँधेकुरी’
‘पूर्णबहादुरको सारङ्गी’ का सङ्गीतकार भन्छन्- कामले तारिफ पाएकोमा खुशी छु, नाम विस्तारै बन्छ
काठमाडौं । भुईंसम्मै टेकें मैले, तिमी टेक्नु धुरी
सके जति छेकिदिउँला घाम, आँधीहुरी
पाखुरीमा ताकत रहेसम्म बोकिहिँड्छु
हालेर काँधेकुरी
चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ को यो गीत अहिले सबैको मुखमा झुण्डिएको छ । यो गीत नसुन्ने र यसमा भिडियो नबनाउने सायदै कमै होलान् ।
चलचित्र रिलिज हुनु अगाडि नै ‘काँधेकुरी’ गीत टिकटकमा भाइरल भइसकेको थियो । फिल्मप्रति चासो जगाउन यो गीतको पनि ठूलो देन रहेको मान्न सकिन्छ । शब्द, सङ्गीत र स्वर तीन वटै पक्ष अब्बल रहेको गीतलाई अहिलेसम्म युट्युबमा २३ लाख पटक हेरिसकिएको छ ।
गीतले चौतर्फी चर्चा पाइरहँदा यसका सर्जक प्रशान्त सिवाकोटीलाई भने कमैले चिनेका छन् । हुन पनि नेपाली चलचित्र सङ्गीतमा उनी नयाँ नाम हुन् । ‘पूर्णबहादुरको सारङ्गी’ भन्दा अघि उनले चलचित्र संगीतमा कुनै काम गरेका थिएनन् । क्रिकेटको भाषामा भन्नु पर्दा उनले पहिलो बलमै छक्का हानेका छन् ।
क्रिकेटकै भाषामा भन्दा संगीतका ‘अलराउन्डर’ हुन् प्रशान्त । गीतका शब्द कोर्ने, त्यसमा संगीत भर्ने र गाउने सबै आफैं गर्न सक्छन् । ‘काँधेकुरी’ गीतको शब्द, संगीत, स्वर, एरेन्ज सबै उनकै हो । योभन्दा अगाडि करिब डेढ दर्जन गीत रेकर्ड गरे तापनि चर्चामा आउन सकेका थिएनन् ।
त्यसो त प्रशान्तले रियालिटी शोमा पनि ट्राइ मारेका थिए । उनी ‘भ्वाइस अफ नेपाल’ सिजन ५ का प्रतिस्पर्धी हुन् । उनी टप ९ बाट बाहिरिए । यद्यपि हरेश खाएनन् । अन्ततः चलचित्र संगीतमार्फत सफलताको स्वाद चाख्न पाए । अहिले उनको खुशीको सीमा छैन ।
धेरै दर्शक स्रोतालाई जिज्ञासा छ, ‘काँधेकुरी’ गीत कसरी जन्मिएको थियो त ? यही प्रश्नको सेरोफेरोमा हामीले प्रशान्त सिवाकाेटीसँग गरेको नेपालटकः
– यो गीत तपाईंले कहिले र कसरी सिर्जना गर्नुभएको थियो ?
गीतहरुको शब्द र कम्पोज गर्ने काम पहिल्यैदेखि गर्दै आइरहेको थिएँ । चलचित्रमा भने काम गर्ने मौका पाएको थिइनँ । नयाँ मान्छेलाई सजिलो पनि हुँदैन काम पाउन । त्यही दौरानमा यो चलचित्रको निर्देशक सरोज पौडेलसँग भेट भयो । उहाँहरुलाई गीत लेख्ने, गाउने अनि एरेन्ज गर्ने मान्छे चाहिएको रहेछ । मलाई यी सबै गर्न सक्छु भन्ने थियो । त्यसैले थोरै समय लिएर मैले पहिला एकदुई वटा डेमो गरेर देखाएँ । त्यसपछि ओके भयो ।
गीतको शब्द चाहिँ मैले चलचित्रको स्क्रिप्ट र उहाँहरुको मागअनुसार लेखेको थिएँ । उहाँहरुले बुवाको बारेका भन्नुभयो, मैले त्यहीअनुरुप शब्दहरु कोरें ।
– शब्द, संगीत, स्वर सबै विधामा तपाईंलाई कसरी पत्याउनु भयो त ?
म खासमा यो क्षेत्रमा आफूलाई गायक नै भएर चिनाउन चाहने मान्छे हो । गाउन पनि म राम्रै गाउँछु जस्तो लाग्छ आफूलाई । मैले अहिलेसम्म अरुको कम्पोजमा काम गरेको छैन ।
मलाई आफूले गाउने गीत भएसम्म आफैं कम्पोज गरौं जस्तो लाग्छ । सुरुमा उहाँहरुले मलाई गायककै रुपमा चिन्नुभएको थियो । क्रिएटर पनि रहेछ भन्नेबारे त उहाँहरुले पछि थाहा पाउनुभएको हो । एग्रिमेन्ट गर्दा एकैचोटि भोकल, लिरिक्स र कम्पोज गर्ने भनेर गरेका थियौं ।
– यो गीतको शब्द कोर्न कति समय लाग्यो ?
गीत लेख्न मलाई राम्रै समय दिनुभएको थियो । यो गीत मात्रै भन्दा पनि मलाई एकमुस्टमा ५-६ वटा गीत लेख्न त्यस्तै दुई हप्ता जस्तो लागेको थियो ।
– स्क्रिप्टअनुसार गीत कोर्न कतिको गाह्रो हुन्छ?
म पहिल्यैदेखि गीत अनि गजलहरु लेखिरहने भएकाले मलाई कुनै पनि अवस्थासँग ढलेर गीत लेख्न त्यस्तो गाह्रो लाग्दैन । बरु एउटा कुनै स्क्रिप्टमा बसेर लेख्न अलि सजिलो लाग्छ ।
– यो गीत लेखिरहँदा आफूलाई रिलेट गरिरहनु भएको थियो कि ?
यो गीत युनिभर्सल भएकाले आफ्नो बाबुआमासँग रिलेट गर्नु सामान्य नै हो । एक त बाबुको माया र संघर्षलाई व्याख्या गर्न त्यस्तो धेरै सोचिरहनु पनि पर्दैन । यो त हामी सबैले भोगिरहेकै कुरा हो । कहिले रिलेट गरिन्छ, कहिले काल्पनिक हिसाबले पनि लेख्नुपर्ने हुन्छ । स्क्रिप्टअनुसार आफैं बाबु बनेर लेख्नुपर्दा काल्पनिक पनि हुनसक्छ या आफ्नै बुवालाई सम्झेर पनि लेख्न सकिन्छ ।
– गीतले यस्तो चर्चा पाउला जस्तो लागेको थियो ?
गीत एडिट गर्दासम्म पनि यो गीतले यस्तो चर्चा पाउला वा भनौं दर्शकले यति धेरै माया गर्दिनुहुन्छ भन्ने लागेको थिएन । मैले आफ्नो कर्म निभाएँ, अब बाँकी जे हुन्छ, त्यो दर्शकको हातमा छ भन्ने लागेको थियो । कुनै दिन मेरो कामले सफलता चुम्नुपर्छ भन्ने सपना अवश्य थियो, तर यही कामले हुन्छ भन्ने थिएन । सुरुमै हातमा सफलता पर्छ भन्ने ढुक्क कसलाई लाग्छ र ? सुरुकै कामले सफलता पायो, म त एकदमै खुसी छु ।
– तपाईंको विचारमा गीतले चलचित्रको सफलतामा कति मद्दत गरेको छ ?
स्क्रिप्टमै रहेर लेखिएको गीतले चलचित्र नै बोल्ने हो । काल्पनिक गीत भएको भए चलचित्रको कथासँग नमिल्ला भन्ने हुन्थ्यो, तर यो गीत हामीले स्क्रिप्टमै बसेर, होमवर्क गरेर, चलचित्रको कथा बोल्ने गीत भनेर तयार पारेका थियौं । त्यसैले गीतले सुरुको प्रोमोसनमा राम्रै मद्दत पुगे जस्तो लाग्छ मलाई । गीतमात्रै सुनेर पनि कति दर्शक हलसम्म आउनुभएको थियो । बाँकी त चलचित्र हेरेपछि यसको कथाले तान्यो । दर्शकले विषय मन पराइदिनुभयो । वर्ड अफ माउथले चलचित्र हिट भयो ।
– चलचित्र हिट भइरहँदा पर्दामा देखिएका मान्छेबाहेक अरु अलि ओझेलमा पर्छन् । गीत चले पनि सर्जकबारे कति अनभिज्ञ रहन्छन् । यसमा केही गुनासो छ ?
हामी सधैं पर्दा पछाडि नै काम गर्ने मान्छे हौं । यो गीत मैले गाएको पनि भएकाले, मेरो नाम पनि आउनुपर्छ भन्ने हो । नत्र कम्पोजदेखि लिएर बाँकी सबै काम आफैंले गर्नुपर्दा कतिपय अवस्थामा आफू पछि रहे पनि आफूले गरेको काम अघि जाओस् भन्नुपर्ने हुन्छ ।
नामभन्दा पनि कामले तारिफ पाएको छ, त्यसैमा खुसी छु । यो सुरुवात हो, विस्तारै हुन्छ । समय छ । जे होस्, मैले आफ्नो कामले दर्शकलाई निराश नबनाउने रहेछु भन्ने लागेको छ । यो एउटा गीतले मलाई अरु कामको योग्य बनाएको छ । अहिले हातमा काम धेरै आइरहेका छन् । यहीअनुसारको काम भयो भने नाम भन्ने कुरा त विस्तारै हुन्छ ।
मलाई एउटा कुरा केमा चाहिँ एकदमै खुसी लागेको छ भने अभिनयको केशमा विजय बराल एकदमै पोख्त मान्छे हो । उहाँले यसरी आफैं लिड रोल लिएर काम देखाउने मौका पाउनुभएको थिएन । आज हरेक ठाउँमा उहाँको कामलाई चिनाउन उहाँसँगै मेरो स्वर पनि गुञ्जिन पाउँदा मलाई डबल खुसी लागेको छ ।
– यो गीतको टाइटल ‘काँधेकुरी’ को अर्थ खासमा के हो ?
यो शब्द खासमा निर्देशक सरोज पौडेलले दिनुभएको हो । अर्थ सुरुमा मलाई पनि थाहा थिएन । उहाँले बताउनु भएअनुसार नेपालको केही ठाउँमा काँधमा बोक्नुलाई ‘काँधेकुरी’ भनिँदो रहेछ । हाम्रोमा बुई बोक्ने भन्छन्, त्यस्तै हो ।
Good thought . I Salute you. Keep it up