नेपाल आइपुगे पोखरा एभेन्जर्सका मेन्टर जोन्टी रोड्स
काठमाडौं । क्रिकेट जगतमा उत्कृष्ट फिल्डरको पहिचान बनाएका दक्षिण अफ्रिकाका लेजेन्ड खेलाडी जोन्टी रोड्स नेपाल आइपुगेका छन् । नेपाल प्रिमियर लिग (एनपीएल)को सबैभन्दा महँगो टीम पोखरा एभेन्जर्समा ३ वर्षको सम्झौतासहित आवद्ध भएका जोन्टी बुधबार दिउँसो २ बजे काठमाडौं ओर्लिएर सीधै पोखरा पुगेका छन् ।
पोखरा एभेन्जर्सका प्रबन्ध निर्देशक मनोबल श्रेष्ठका अनुसार जोन्टी र टीमका अध्यक्ष सुबोध त्रिपाठीसहितको टोली आजै पोखरा पुगेका छन् । पोखरामा प्रशंसकहरूले उनको भव्य स्वागत गरेका थिए ।
टीमका लागि समर्थन जुटाउन बिहीबार गण्डकी क्रिकेट, कास्की क्रिकेट, पोखरा बाइकर्स ग्रुप, रोटरी क्लब अफ लेखनाथलगायत नौवटा संघसंस्थाले संयुक्त रुपमा पोखरामा आयोजना गर्ने ‘राइड विथ जोन्टी रोड्स’ कार्यक्रममा सहभागिता जनाउन उनी पोखरा आइपुगेका हुन् । फेवातालस्थित फिस्टेल होटलबाट बिहान ८ बजे सुरु हुने मोटरसाइकल ¥यालीमा सयौंको सङ्ख्यामा समर्थकहरू सहभागी हुने तयारी छ ।
पोखरा आइपुगेको जोन्टीसहितको टीमलाई प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देललगायतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । आगामी तीन वर्षका लागि सम्झौता गरेको पोखरा एभेन्जर्सका टीम मेन्टर जोन्टी दक्षिण अफ्रिकी दायाँ हाते व्याट्म्यान हुन् ।
बिहीबार दिउँसो काठमाडौं फर्किएर टीमका खेलाडीलाई कोचिङ दिने र जर्सी सार्वजनिक गर्ने कार्यक्रम छ ।
दक्षिण अफ्रिकी पूर्वक्रिकेटर रोड्सले यसअघि मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्ससँग काम गरिसकेका छन् । उनले दक्षिण अफ्रिकाका लागि ५२ टेस्ट र २४५ एक दिवसीय खेलमा प्रतिनिधित्व गरेका छन् ।
नेपाली राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्की रहेको पोखरा एभेन्जर्समा चार विदेशी खेलाडी इंग्ल्यान्डका म्याट क्रिचली, वेस्ट इन्डिजका एन्डर्सन फिलिप, अमेरिकाका आन्द्रेस गौस र नेदरल्यान्ड्सका बास डि लिडे अनुबन्ध भइसकेका छन् ।
त्यस्तै टोलीमा नेपालबाट सागर ढकाल, आकाश चन्द, किरणकुमार ठगुन्ना, नारायण जोशी, विपीन खत्री, दिलीपनाथ, तृतराज दास, सुनम गौतम, दिनेश खरेल र अमृत गुरुङ अक्सनमार्फत छनोट भइसकेका छन् ।
आईपीएलमा चेन्नई सुपरकिङ्सका लागि ब्याटिङ र फिल्डिङ प्रशिक्षक रहेका राजीव कुमारलाई पोखराले मुख्य प्रशिक्षकका रुपमा अनुबन्ध गरिसकेको छ ।
एनपीएपल आगामी मंसिर १५ देखि पुस ६ सम्म आयोजना हुँदैछ ।