सञ्चालनमा आयाे चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन
काठमाडौं । चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेत स्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिका पहिरेबेंंसी स्थित त्रिशूलीथ्रीबीहब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण लाइनलाई बुधबार साँझ ७:५ बजेबाट विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याइएको हो ।
यसैगरी, चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत नै निर्माण गरिएको चिलिमे हब सबस्टेसन पनि बुधबारनै चार्ज गरिएको छ । उक्त सबस्टेसनमा २२०/१३२ केभी, १६० एमभिएका दुईवटा बैंक गरी ३२० एमभिए र १३२/३३ केभीतर्फ, ५० एमभिए क्षमताका पावर ट्रान्सफर्महरु रहेका छन् । आयोजना अन्तर्गतकै त्रिशूली थ्रीबीहब २२० केभीक्षमताको सबस्टेसन यसअघि नै सञ्चालनमा थियो ।
त्रिशूली नदी र त्यसका सहायक खोलाहरुमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा समाहित गर्न निर्माण गरिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनले करिब १२०० मेगावाट विद्युत् प्रवाह गर्न सक्छ ।
अनुमानित लागत ३ अर्ब ६२ करोड ८९ लाख रुपैयाँ रहेको चिलिमे–त्रिशूली आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र जर्मन विकास बैंक (केएफडब्लू) को अनुदान रहेको छ । युरोपेली युनियनले स्थापना गरेको युरोपेली लगानी बैंक (इआइबी) को आयोजनामा सहुलितपूर्ण ऋण रहेको छ ।
नेपाल विद्युत प्राधिकरण उच्च भोल्टेज ग्रीड विभागका निर्देशक थर्कबहादुर थापाले प्रसारण लाइन र सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा आइसकेकाले त्यस क्षेत्रमा निर्माण भएका जलविद्युत् आयोजनाहरुबाट उत्पादित विद्युत् जुनसुकै वेला जोड्न सकिने बताए ।
चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनमा तत्काल चिलिमे जलविद्युतको अगुवाइमा निर्माण भएका १११ मेगावाटका रसुवागढी, ४२.५ मेगावाटको साञ्जेन र १४.८ मेगावाटको साञ्जेन जलविद्युत् आयोजनाहरुबाट उत्पादित विद्युत् चिलिमे हब सबस्टेसनमा जोडिने छ ।
रसुवागढी र साञ्जेन आयोजना निर्माण सम्पन्न भई विद्युत् उत्पादनको चरणमा छन् । २८ किलोमिटर लामो प्रसारण लाइनका लागि ७६ वटा टावर निर्माण गरिएका छन् । प्रसारण लाइन समुद्री सतहबाट ६८० देखि २६०० मीटरसम्म पर्ने भूभागमा निर्माण गरिएको छ । ३३ वटा टावर पहुँच सडक नै नभएका ठाउँमा निर्माण गर्नु पर्ने अवस्था थियो ।
उक्त स्थानसम्म पुग्न छुट्टै पहुँच सडक निर्माण गरिएको थियो । आयोजनाले लाइन निर्माणका लागि २० किलोमिटरभन्दा बढी पहुँच सडक निर्माण गरिएको छ । हेलिकोप्टरबाट समेत निर्माण सामाग्री ढुवानी गरी टावर निर्माण गरिएको थियो ।
प्रसारण लाइनअन्तर्गत चिलिमे–मैलुङखण्ड २० किलोमिटर डबल सर्किट र मैलुङ–त्रिशूली थ्रीबीहबसम्म ८ किलोमिटर चार (मल्टी) सर्किट लाइन निर्माण गरिएको छ ।
कोरियन कम्पनीहरुको अगुवाइमा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको विद्युत जोड्नका लागि मल्टी सर्किट लाइन बनाउन लागिएको हो । माथिल्लो त्रिशूली–१ले मल्टी सर्किट लाइन बनाउँदा भएको खर्चको ६० प्रतिशत रकम बेहोर्ने छ ।
प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि चिनियाँ कम्पनी पिङगाओ ग्रुप अफ कम्पनीजसँग २०७४ को कात्तिकमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता २०७४ को पुसमा कार्यान्वयनमा आएको थियो ।