मन्थली-साँघुटार-घोराखोरी र चौंरी-गुराँसे-गाल्बा सडक कालोपत्रे टुंग्याउन सरकारलाई दबाब
काठमाडौं । ठेक्का लागेको वर्षौसम्म सेलेघाट-मन्थली-साँघुटार-घोराखोरी सडक कालोपत्रे काम नभएपछि रामेछाप र ओखलढुंगानाका नेता र जनप्रतिनिधिले सरकारकाको ध्यानाकर्षण गराएका छन् ।
शुक्रवार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मालाई भेटेर उनीहरुले काम नगर्नेमाथि कारवाही र कालोपत्रे सम्पन्न गर्न आवश्यक बजेटसहितको व्यवस्था गर्न दबाब दिएका हुन् ।
वागमती प्रदेशका पूर्व अर्थमन्त्री तथा एमाले प्रदेश अध्यक्ष कैलाश ढुंगेल,ओखलढुंगाका पूर्व सांसद तथा एमाले नेता यज्ञराज सुनुवार,एमाले वागमती प्रदेश सदस्य रत्न गौतम,ओखलढुंगा लिखु गाउँपालिका उपाध्यक्ष अस्मिता थापालगायतले सचिव शर्मालाई भेटेर सडकको पछिल्लो अवस्था जानकारी समेत गराएका छन् ।
विशेषगरी रामेछापको सालुदेखि साँघुटारसम्मको भागको काम नहुँदा तीन जिल्लाका जनताले दुःख पाएकाले कसको कमजोरी हो प्रष्ट हुनुपर्ने उपाध्यक्ष थापाले बताइन् । सचिव शर्माले आयोजना प्रमुखलाई तत्कालै फिल्ड भ्रमण गर्न निर्देशन दिँदै एक सातापछि प्रतिवेदन बुझाउन भनेका छन् ।
सोही प्रतिनिधि मण्डलले चौंरी–गुराँसे–गाल्बा सडक कालोपत्रेको लागि आवश्यक प्रक्रिया अघि बढाउन सचिवको ध्यानाकर्षण गराएको छ । सोही क्षेत्रका नेता र निर्माण व्यवसायी समेत रहेका एमाले नेता रत्न गौतमले काभ्रे र रामेछाप जोड्ने रणनीतिक सडक चौंरी गुराँसे गाल्बाको कालोपत्रेलाई प्राथमिकतामा राख्न आग्रह गरे ।
सचिव शर्माले आफूले सो सडकको महत्व बुझेको भन्दै मध्यपहाडी राजमार्गको एलाइनमेन्ट समेत त्यतैबाट जाने कुरा चलेकाले सो सडक कालोपत्रेका लागि अर्थ मन्त्रालयलगायत सम्बन्धित निकायमा समेत समन्वय गर्ने आश्वासन दिएका छन् ।
यसपाली वर्षातको बेला वीपी राजमार्ग सहज सन्चालनमा समस्या हुने भएकाले चौंरी गाल्बा सडकको महत्व अझ बढ्ने उनले बताए ।
छलफलमा क्रममा रामेछापको तिल्पुङ हलेदे–धोबि–सिरिसे सडक कालोपत्रेको बारेमा समेत कुरा भए पनि सो आयोजन भौतिक पुर्वाधार मन्त्रालय अन्तर्गत नपरेकाले सहरी विकास र प्रदेशमार्फत काम अघि बढाउन सकिने सचिव शर्माले बताए ।
प्रतिनिधि मण्डलमा रामेछापका एमाले नेताहरु रोशन पाख्रिन,दिपेन्द्र कार्कीलगायत थिए ।