चौतर्फी घेराबन्दीमा युक्रेन: नेटो सदस्य हुने र गुमेको भूमि फिर्ताकाे सम्भावना क्षीण – Nepal Press
टिप्पणी

चौतर्फी घेराबन्दीमा युक्रेन: नेटो सदस्य हुने र गुमेको भूमि फिर्ताकाे सम्भावना क्षीण

२०७८ फागुन १६ गते नेपाल प्रेसमा प्रकाशन भएको मेरो लेखेको लाइनमा एक सवाल यस्तो थियो- ‘अब युद्ध यस्तो अवस्थामा आएको छ कि जसले जिते पनि युक्रेनकै हार हुनेछ । पश्चिमा देशहरुले चाहे जस्तै युक्रेन नेटो र युरोपेली संघमा प्रवेश गरेमा युक्रेनका थप क्षेत्र टुक्रिन सक्छन् । रुससँगै गठबन्धन गरे पनि बहुसंख्यक युक्रेनी असन्तुष्ट हुन्छन् ।’

उक्त लेख आएको झण्डै तीन वर्षमा कथा त्यतै मोडिएको आभास हुन्छ । अब युक्रेनले हातमा हारमात्रै पाउने संकेत देखिएका छन् । यही नोभेम्बर ५ मा सम्पन्न अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको जीत युक्रेनको हार हुनसक्ने संकेतहरु सतहमा आएका छन् । चुनावी अभियानहरुमा आफूले कार्यकाल लिएको २४ घण्टामा युक्रेन युद्ध समाप्त गर्ने अभिव्यक्ति दिँदै आएका ट्रम्पले अहिले आएर त्यही तहको तर्क त दिएका छैनन्, तर वर्तमान राष्ट्रपति जो बाइडेनभन्दा भिन्न बोली भने बोलिरहेका छन् । उदाहरणको लागि अमेरिकी समयअनुसार बिहीबार एनबीसीको एक अन्तर्वार्तामा ट्रम्पले आफूले चुनाव जितेर विश्वका ७० देशसँग कुरा भएको भन्दै उनले पुटिनसँग पनि कुरा गर्न चाहेको बताएका छन् । बाइडेनले पुटिन सत्ता ढाल्न आवश्यक भएको खुलेआम बताएका छन् ।

त्योभन्दा पर र कूटनीतिको सामान्य मर्यादासम्म नराख्दै बाइडेनले पुटिनलाई ‘वेश्याको पागल छोरो’ सम्म भन्न भ्याएका थिए । बाइडेनले त्यो तहको घृणा र ट्रम्पको यो तहको सकारात्मकताको सिधासिधी असर युक्रेनमा पर्छ नै । अमेरिकी आडमै युक्रेन अहिलेसम्म जेनतेन टिकेको हो । अमेरिकी गठबन्धनका देशहरुले दिएको बन्दुक र बजेटले युक्रेन जसोतसो आणविक शक्तियुक्त छिमेकीको हमला सामना गरिरहेको छ । अब अमेरिका दाइना नहुने भएपछि युक्रेनमा संकट सुरु भएको छ ।

मूलतः अहिले अमेरिकी पक्ष र रुसी दुवै पक्षबाट युक्रेनलाई सकस छ । खासगरी ती सकसमा चार सकस महत्वपूर्ण छन् । यहाँ तिनै चार युक्रेनी सकसको चर्चा गरिएको छ ।

१. गुम्दै १८ प्रतिशत युक्रेनी भूमि

सन् २०१४ मार्च १८ मा युक्रेनको क्राइमिया आफ्नो भूमिमा गाभिएको रुसले घोषणा गर्‍यो । त्यसको धेरै विरोध पश्चिमा विश्वबाट भयो । अमेरिकाले त केही नाकाबन्दी लगायो । जी- ८ बाट रुसलाई निकालियो । यो अमेरिकी राष्ट्रपति बाराक ओबामा हुँदाको कुरा हो । जो बाइडेन राष्ट्रपति भएर आउँदा रुसले युक्रेनमा सैन्य हमला गर्‍यो ।

अहिलेसम्म रुसको कब्जामा १८ प्रतिशत युक्रेनी भूमि गएको पश्चिमा सञ्चारमाध्यमहरुले लेखिरहेका छन् । युक्रेनी गुमेको भूमि फिर्ता नहुने निश्चित भएको छ । रुसले अब युक्रेनसँग वार्ता हुँदा ‘जमिनको यथार्थ’लाई ख्याल हुनुपर्छ भन्दै आफ्नो कब्जाको भूमि नदिने संकेत गरिसकेको छ ।

अमेरिकी उच्च नेताहरुले पनि खुलेआम यो भन्न थालेका छन् । त्यसो भन्नेमा अहिले ट्रम्पका उपराष्ट्रपति अनुहार जेडी भेन्स पनि एक हुन् । उनले युक्रेनले आफ्नो गुमेको भूमिको दाबी छोड्नसक्ने उनले बताएका थिए । यो कुरामा बिच्केर युक्रेनी राष्ट्रपतिले भेन्सको आलोचना गरेपछि भेन्सले ‘अमेरिकी करदाताको रकम कता खर्च गर्ने कुरा युक्रेनले सिकाउनु’ राम्रो नहुने भन्दै जवाफ फर्काएका थिए

एकातर्फ गुमेको भूमि सैन्य बलबाट ल्याउन नसक्नु, अर्कोतर्फ आफूलाई सैन्य, गुप्तचरी र आर्थिक सबै सहयोग गर्दै आएको विश्व महाशक्ति अमेरिकी नेतृत्वले अब गुमेको भूमि छोडेर भए पनि युद्ध अन्त्य गर्ने कुरा गर्नाले युक्रेनलाई बडो सकस भएको छ । यसो गर्नुपरेको दिन राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको राजनीतिमात्रै सकिने छैन, यसले युक्रेनी राष्ट्रिय स्वाभीमान पनि गिर्नेछ ।

२. नेटो सदस्यता पाउने सम्भावना कमजोर

रुसी हमला भए पनि अमेरिकी नेतृत्वको उत्तर एटलान्टिक सैन्य संगठन (नेटो)मा जोडिन युक्रेनले धेरै बल गरेको थियो, तर सदस्य हुन पाएन । युक्रेनमा रुसी हमला गरेपछि पनि सन् २०२३ मा फिनल्यान्डले सदस्यता पायो । सन् २०२४ मा स्विडेनले पाउँदा पनि युक्रेनले पाएको छैन । जेडी भेन्सले त नेटो सदस्यता नलिने र तटस्थताको नीति लिने भन्दै युक्रेनी सपनामा घात हुने खालका अभिव्यक्ति दिएका छन् ।

एकातर्फ नेटोले युद्ध भइरहेको बहाना बनाएर सदस्यता नदिने र अर्कोतर्फ अमेरिकी नेतृत्वले नेटो सदस्यता त्याग्ने कुरा गरेसँगै युक्रेनलाई सकस थपिएको छ ।

३. मनबाटै आएन पश्चिमा देशहरुको सहयोग

झट्ट हेर्दा रुसलाई अमेरिकी र अरु नेटो देशहरु तथा अमेरिकी पक्षधर गैरनेटो देशहरुले पनि मन फुकाएर सहयोग गरेको जस्तो लाग्नसक्छ, तर अवस्था त्यस्तो छैन । जस्तै रुसको भित्री भूमिमै मार हान्न लामो दूरीका क्षेप्यास्त्र अमेरिकाले दिएको छैन । रुसबाट आएका क्षेप्यास्त्रलाई खसाइदिन आग्रह गर्दा युक्रेनको छिमेकी तथा नेटो देश पोल्याण्ड एक्लै यस्तो सहयोग हुन्न, नेटोकै निर्णय चाहिन्छ भन्दै पन्छिएको छ ।

इजरायलमा इरानी हमला हुँदा नेटो सदस्य नहुँदा पनि अमेरिकी, बेलायती आदि युद्धक जहाजहरु गएर मिसाइल खसाउन सहयोग गरे । त्यस्तै गर न त युक्रेनलाई भनेर भोलोदिमिर जेलेन्स्कीले हारगुहार गर्दा पनि त्यस्तो सहयोग आएको छैन । रुससँग युद्धमा चै लगाइराख्ने, तर निर्णायक हतियार सहयोग चै नगर्ने पश्चिमा नेतृत्वका देशहरुको रवैयाले उनीहरुकै उक्साहटमा वार्ताभन्दा ब्याटलमा जोड दिएको युक्रेन तनावमा छ ।

४. एक्लिएन रुस, बन्दै झन् झन् बलियो

सन् २०२२ फेब्रुअरीमा पुटिनले युक्रेनविरोधी फायर खोलेपछि उनी एक्लिने युक्रेनी आशा थियो । त्यसका केही संकेत पनि पश्चिमा देशहरुले दिए । रुसले विश्व खेलकुदमा भाग लिन पाएन । विश्व बैंक कारोबारको संयन्त्र स्विफ्टमा जोडिन पाएन । अन्तर्राष्ट्रिय अदालतले युद्ध अपराध गरेको फैसला गर्‍यो । रुसी जहाज धेरै देशहरुको आकाशमा प्रतिबन्धमा परे । रुसी विश्व च्यानल युरोप र अमेरिकामा प्रतिबन्धको अवस्थामा छ ।

यो त पश्चिमा देशहरुको कुरा भयो । बाँकी विश्वले त्यसलाई सुनेन । जस्तै चीन तथा भारत जस्ता झण्डै तीन अर्ब जनसंख्या भएका दुई देशले रुसी ग्यास किनिरहे, रुसी तेल किनिरहे । युद्ध अर्थतन्त्रले रुस पर्चेजिङ पावर प्यारिटी (पीपीपी) मोडेल जीडीपीमा युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भयो । बरु जर्मनीको अर्थतन्त्र कमजोर भयो ।

हालसालै मंगोलिया पुगे पुटिन । मंगोलिया अन्तर्राष्ट्रिय अदालतको सदस्य भएकाले पुटिनलाई पक्राउ हुनुपर्ने युक्रेनी तथा पश्चिमा देशहरुको अडानले काम गरेन । हुँदाहुँदा अहिले रुसको काजान शहरमा गत अक्टोबर २२ देखि २४ सम्म ब्रिक्स शिखर सम्मेलन भयो । दर्जनौं देश, संयुक्त राष्ट्रसंघका महासचिव तथा विश्वका शीर्ष नेताहरु सम्मेलनमा पुगे । यसले रुस एक्लिएको देखिएन । यसको चर्चा पश्चिमा मिडियाहरुमा व्यापक भयो । पश्चिमले एक्लाउन खोजेका पुटिन एक्लिएनन् भन्ने भाष्य चर्चामा आइरह्यो ।

रुसलाई कमजोर बनाउन खोजिएपछि रुसले पनि पश्चिमा देशहरुलाई कमजोर बनाउन सक्दो प्रयत्न गरिरहेको छ । आफ्नो गुप्तचरी सूचना दिएर सहयोग गरिरहेको छ । डलर कारोबार घटाएर वा हटाएर स्थानीय मुद्रामा काम गर्ने अभियानको प्रमुख हिस्सेदार चीन जस्तो देखिए पनि यसको नेता रुस नै हो, पुटिन नै हुन् ।

अफ्रिकी देशहरुमा अमेरिकी तथा फ्रान्सेली सैन्य पोस्टहरु हटाउने आन्दोलनमा रुसी उक्साहट छ । अरु त अरु बंगलादेशमा हसिना हटाइँदैछिन् भन्ने गुप्तचरी सूचना महिनौं अगाडि रुसले चुहाएकै थियो । पश्चिमा मिडियाहरुको एकलौटी भाष्य चिर्न रुसको विश्व च्यानल आरटीले अहिले भारत, चीन, अफ्रिका र ल्याटिन अमेरिकी देशहरुमा धेरै देखिनेगरी प्रभावकारी उपस्थिति जनाइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *