विचार र सिद्धान्त छाडेर अरु पार्टी जस्तै बने माओवादीको पनि औचित्य सिद्धिन्छ: नारायणकाजी श्रेष्ठ – Nepal Press

विचार र सिद्धान्त छाडेर अरु पार्टी जस्तै बने माओवादीको पनि औचित्य सिद्धिन्छ: नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले विचार र सिद्धान्त त्यागेर अरु पार्टी जस्तै बने माओवादीको औचित्य सिद्धिने टिप्पणी गरेका छन् ।

चितवनका अगुवा कार्यकर्ताको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको राष्ट्रिय कार्यभार पूरा गर्ने क्षमता माओवादीसँग मात्रै भएकाले पार्टीलाई पनि रुपान्तरण गरेर अघि बढाउनुपर्ने बताए ।

उनले भने, ‘अहिलेको अवस्थामा हामीले राष्ट्रिय कार्यभार पूरा गर्न सक्दैनौं । हामी तयार नभए देश अर्को संकटमा फस्न दिन तयार हुनुपर्‍यो । सम्भावना हाम्रो पार्टीमै भए पनि अहिलेको वर्तमान स्थितिमा त्यो सम्भव छैन । हाम्रो पार्टीले नगरी हुँदैन, नत्र देश बर्वाद हुन्छ । हाम्रो पार्टीमै गर्नसक्ने सम्भावना पनि छ, तर यथास्थितिमा यो कार्यभार पूरा गर्न नसक्ने भएकाले पार्टीलाई नफेरी सम्भव छैन ।’

पार्टीमा विचार, सिद्धान्तको धेरै उपेक्षा हुन थालेको उनले बताए ।

नेता श्रेष्ठले थपे, ‘हाम्रो पार्टीको महाधिवेशनले पारित गरेको वैचारिक कार्यदिशालाई पनि ग्रहण गरेर लागू गर्ने हाम्रो प्रतिबद्धता छैन । विचारको महत्व नै छैन, अब त किन चाहियो सिद्धान्त भन्ने भएको छ । पाए पार्टी पद लिने, सके राज्यकै पद लिने नभए जेजे गरेर हुन्छ, सुविधा र सम्पत्ति कमाउने हो, त्यही हो हाम्रो टार्गेट भनेपछि विचारको महत्व त सिद्धिने भयो । विचारमा विचलित भयौं भने हामीले हाम्रो पार्टीलाई क्रान्तिकारी बनाउन पनि सक्दैनौं । राष्ट्रिय कार्यभार पूरा गर्न पनि सक्दैनौं । त्यसपछि हाम्रो पार्टी पनि अरु पार्टी जस्तै हुन्छ । अरु पार्टी जस्तै हाम्रो पार्टी पनि हुने हो भने पार्टीको औचित्य सिद्धिन्छ । त्यसैले हामीले विचार र सिद्धान्तको महत्वलाई पक्रिनुपर्छ ।’

उनले माओवादी नेतृत्वको सरकारले मिटरब्याजी पीडितको समस्या समाधान गरेको बताए । उनले प्रचण्ड प्रधानमन्त्री र आफू गृहमन्त्री भएको बेलामा सुशासनमा कोसेढुंगा सावित हुनेगरी काम गरेको दाबी गरे ।

नेता श्रेष्ठले आफू सरकारमा हुँदा पनि जनताको अपेक्षाअनुसार काम गर्न नसकेको विषयमा आत्मसमीक्षा पनि गर्नुपर्ने बताए ।


प्रतिक्रिया

2 thoughts on “विचार र सिद्धान्त छाडेर अरु पार्टी जस्तै बने माओवादीको पनि औचित्य सिद्धिन्छ: नारायणकाजी श्रेष्ठ

  1. लुटने,सुन तस्करी गर्ने, भरौटे र दाम दिनेलाई मान्ने पार्टीको विचार र सिद्वान्त हो ।

  2. कस्तो चाहिँ भाछ र अहिले? थाहै नपाए जस्तो गर्नु भो त?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर