इटहरीकी सुवेक्षालाई एमबीबीएस पढ्न उपमहानगरले १५ लाख दिने
विराटनगर । आर्थिक अवस्था कमजोर भएकी इटहरी उपमहानगरपालिका १० की सुवेक्षा खत्रीलाई एमबीबीएस इटहरी उप महानगरले १५ लाख रुपैयाँ दिने भएको छ ।
आर्थिक अभावमा एमबीबीएस पढ्न नसकेकी खत्रीलाई पढ्नका लागि मेयर हेमकर्ण पौडेलले व्यक्तिगत रुपमा थप ५१ हजार रूपैयाँ दिएका छन् । ।
इटहरीका मेयर पौडेलले बिहीबार छठ पर्वको अवसर पारेर सम्बोधन गर्दै व्यक्तिगत तर्फबाट ५१ हजार र उपमहानगरपालिकाको तर्फबाट १५ लाख रुपैयाँ सहयोग स्वरूप दिने घोषणा गरेका हुन् ।
कमजोर आर्थिक अवस्थाकी खत्री आर्थिक अभावकै कारण एमबीबीएस अध्ययन गर्न समस्या भइरहेको बेला मेयर पौडेलले उक्त रकम दिने घोषणा गरेका हुन् । मेयर पौडेलले इटहरीबासीका आधारभूत आवश्यकताहरू पूरा गर्न स्थानीय सरकार दिनरात लागिरहेको समेत बताए ।
इटहरी १० सुकुम्बासी बस्तीमा बस्दै आएकी उनी भुमिहिन हुन् । सुवेक्षाले छात्रवृत्तिमा उत्कृष्टता प्राप्त गरेको भएपनि खर्च अभावले आफ्नो डाक्टर बन्ने सपना त्याग्नुपर्ने अवस्थामा पुगेकी थिइन् ।
उपमहानगरले सुवेक्षाको पढाइमा लाग्ने खर्चमध्ये १५ लाख रुपैयाँ प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेपछि उनले आफ्नो सपना पूरा हुने जनाएकी छन् । सरकार बाटो र पुलमा मात्र नभई यस्ता बिषयमा पनि गम्भिर भएर लाग्ने मेयर पौडेलले बताए ।