अर्हत्: आख्यानमा बुद्ध दर्शन – Nepal Press
किताबी कुरा

अर्हत्: आख्यानमा बुद्ध दर्शन

ऐतिहासिक र पौराणिक विषयमा आधारित रहेर नेपालमा थुप्रै उपन्यास लेखिएका छन् । ती उपन्यासमध्ये एक हो ‘अर्हत्’ । भगवान बुद्धको कथा लिएर शैलेन्द्र अधिकारीद्वारा लेखिएको यस उपन्यासले बुद्धकालीन विषयहरुलाई सशक्त रुपमा प्रस्तुत गरेको छ । कुनै पनि गहन र दार्शनिक चिन्तनलाई सीधै अभिव्यक्त गर्नुभन्दा त्यसलाई रोमाञ्चक बनाएर प्रस्तुत गर्दा आमपाठकका सामु प्रभावकारी रूपमा पुर्‍याउन सकिन्छ । सामान्य मानिसलाई क्लिष्ट चिन्तनहरू मन नपर्न सक्छ । दर्शनका गहिरा खाडलहरूको भेउ नपाउन पनि सकिन्छ । निर्विकल्प रूपमा आख्यान त्यस्ता विचारलाई सम्प्रेषण गर्नसक्ने र आममानिसलाई छाप पार्नसक्ने एक महत्वपूर्ण माध्यम हुँदै हो ।

‘अर्हत्’मार्फत् अधिकारीले बुद्ध धर्मका अनेकौं ज्ञानलाई आममानिससम्म पुर्‍याउन चाहेको देखिन्छ । यो उपन्यास विशेष गरेर बुद्ध गाथा र बुद्धको धर्मोपदेशको सङ्गालो जस्तो लाग्छ । भनिन्छ, कुनै व्यक्तिको गुण अवगुणको निर्क्योल इतिहासले गर्छ । उनीहरू बाँचेको समयमा हरेक महापुरुषहरूका (या भनौं सामान्य मानिसहरूका पनि) समर्थक र विरोधीहरू निश्चय नै हुन्छन् । हाम्रो समाजमा मृत्युको लगत्तै हर व्यक्ति राम्रो मानिन्छ अथवा त्यस्तै देखिँदै आएको छ । विस्तारै वर्तमान इतिहास बन्छ अनि भविष्यले ती व्यक्तिको महानताको उचित विवेचना गर्न थाल्छ । इतिहास जित्नेले लेख्छ । हिटलर क्रूर बन्छ । सायद जर्मनीले जितेको भए कथा अर्कै बन्थ्यो । बीपी कोइरालाको महत्वको मापन हुँदैछ ।

बुद्ध कुनै समय मानिसको शरीरमा थिए । आज उनको भौतिक शरीर छैन । आज उनी भगवान बनेका छन् । बोधीज्ञान प्राप्त गरेको मनुष्य भगवान कसरी बन्यो भन्ने कथाको मूल कथ्य नै ‘अर्हत्’ उपन्यास हो । बुद्धको आदाहनोत्सव (मृत्यु संस्कार)बाट सुरु भएको उपन्यास उस्तै परिवेशमा अन्त्य हुन्छ । यसमा उनको जन्म, शिक्षादीक्षा, घर छोड्दै गर्दाको पारिवारिक पीडा, ज्ञान प्राप्त गर्दाको अवस्था, धर्म प्रचार आदि विषयको सुन्दर चित्रण छ । बोधी प्राप्त गर्नुअघिको संघर्ष र पाइसकेपछिका चुनौतीहरूको विवेचना छ । त्यस समयमा के भएको थियो होला । लेखकले सामान्य ढंगमा आजको दिनको परिवेशसँग मिल्ने चित्रण गरेका छन् ।

आफूले बोधगयामा पाएको ज्ञान गौतम बुद्धले सामान्य मानिसलाई सिकाए अनि लाखौंको भीडबाट भिन्न बनेर आफू बुद्ध भगवान भए ।

कथामा बुद्धले निर्वाण पाउनुअघि ज्ञानको खोजीमा पुगेका गुरुहरुसँगको अनुभव छ । सुजाताले दिएको खिरप्रतिको कृतज्ञता छ । कुनै महान उद्देश्य हासिल गर्न अथवा ज्ञान पाउन भीडको पडाडि लाग्नुहुन्न, आफ्नै बाटो रोज्नुपर्छ भन्ने सन्देश पनि छ सायद । त्यस समयका भिक्षुहरू बुद्ध बन्न तँछाडमछाड गर्दै थिए । उनीहरू भीडको पछि लागिरहेका थिए । आफ्नो शरीरलाई सकेको दुःख दिएर आशा गरिरहेका थिए कि बुद्धत्व प्राप्त गर्न सकौं । सिद्धार्थले भने अरूले पालना गर्दै आएका मार्ग छोडेर भिन्न कार्य गरिदिए । उनले खिर खाइदिए । समयक्रममा उनलाई बोधी प्राप्त भयो । उनी गौतम बुद्ध बने । उनले यहीबाट मध्यमार्गको अवलम्बन गरे । र, बुद्ध दर्शन यही मध्यमार्गमै विचरण गरिरहेको छ । आफूले बोधगयामा पाएको ज्ञान गौतम बुद्धले सामान्य मानिसलाई सिकाए अनि लाखौंको भीडबाट भिन्न बनेर आफू बुद्ध भगवान भए ।

यस उपन्यासले आजभन्दा २५ सय वर्ष अगाडिको समयलाई प्रस्तुत गरेको छ । बुद्धकालीन समय, समाज र राजनीतिक अवस्थाको चित्रण उपन्यासको अर्को सौन्दर्य पनि हो । उपन्यासमा केही पाली भाषाका बुद्ध वचनलाई जस्ताको त्यस्तै राखिएको छ । अन्त्यमा शब्दार्थ र पात्र परिचय खण्डले उपन्यास बुझ्न थप सरल र सहज बनाएको छ । यस उपन्यासका शीर्षकहरू र बेलाबेलामा आउने ओजनदार संस्कृतका शब्दहरूले उपन्यासको सौन्दर्यमा थप मलजल गरेका छन् ।

उपन्यासमा बुद्धले बताएका मुक्तिका मार्गहरूको पनि चर्चा गरिएको छ । भगवान बुद्धले समग्र मानव जातिलाई सांसारिक दुःखबाट मुक्तिका लागि अष्टाङ्गिक मार्ग अवलम्बन गर्नुपर्ने सुझाव दिनुभएको थियो । यसको चर्चा उपन्यासमा पाइन्छ । जस्तैः सम्यक दृष्टि (सही ढङ्गले बुझ्नु), सम्यक सङ्कल्प (नियत राम्रो हुनु), सम्यक वाणी (भनाइ र गराइमा फरक नहुनु), सम्यक कर्म (अरूलाई हानि हुने कर्म नगर्नु), सम्यक आजीविका, सम्यक व्यायाम (धेरै परिश्रम र धेरै अल्छी नहुनु), सम्यक स्मृति (सचेत र सतर्क भइरहनु) र सम्यक समाधि (एकाग्र चित्त हुनु) ।

बच्चाबाट युवा हुँदै गएपछि साधारणतया मनुष्य रूप, गन्ध, रस, शब्द र स्पर्श जस्ता पाँच प्रकारका विषयको भोग गर्न लाग्छ । यहीबाट मानिसको जीवनमा दुःख आउँछ ।

बच्चाबाट युवा हुँदै गएपछि साधारणतया मनुष्य रूप, गन्ध, रस, शब्द र स्पर्श जस्ता पाँच प्रकारका विषयको भोग गर्न लाग्छ । यहीबाट मानिसको जीवनमा दुःख आउँछ । त्यसैले मान्छेले तृष्णाको पहिचान गर्न सक्नुपर्छ । मानिसले त्यस तृष्णाको त्याग गर्नुपर्छ । यही नै दुःखको निरोध हो । कल्मषपूर्ण मनलाई ज्ञानले अभिषेचन गर्नुपर्छ । ज्ञानी मनुष्यले चञ्चल चित्तलाई साधनामा एकत्रित गर्ने कोसिस गरिरहनुपर्छ । आत्मसाक्षात्कारका लागि वैराग्यको मार्गलाई चयन गर्नुपर्छ । उपन्यासमा बुद्ध उपदेशलाई यसरी बुझिने भाषामा लेखकले प्रस्तुत गरेका छन् । सामाजिक मोहमायामा रुमल्लिइरहे कहिल्यै पनि मुक्तिको सपना देख्न सकिन्न । बुद्धले जहिले पनि शान्त तवरले मूर्ति पूजाको विरोध गरिरहे । यसको प्रसङ्ग उपन्यासमा जीवन्त रूपमा चित्रित भएको छ ।

यस उपन्यासमा विभिन्न किसिमको भोगमा लिप्त पात्रहरू छन्, जो सांसारिक मोहबाट मुक्त हुन भगवानको शरणमा आइपुगेका छन् । अङ्गुलिमाल, वैशालीकी नगर वधू आम्रपाली, भद्दा, प्रबोध जस्ता चरित्रहरूलाई केही साक्ष्यको रूपमा लिन सकिन्छ । आफ्नै मोहमायामा फसेका छन् यी पात्रहरू । दुःखी छन् । उनीहरू बुद्धको धर्मोपदेश सुनिसकेपछि सङ्घमै सामेल भएर अर्हत् प्राप्त गर्न चाहन्छन् ।

उपन्यासमा केही राजनीतिक आयामहरू पनि प्रस्तुत भएका छन् । बुद्धले बनाएको संघको नेतृत्व कसलाई दिने भन्नेमा पनि विवेचना छ उपन्यासमा । यस्तो विवेचना अलि कम भएको हो कि जस्तो लाग्छ । किनभने हामीले हालसालै हाम्रा युगका गुरूहरूका कथामा पनि देखे सुनेका छौं । ओशो, मदर टेरेसा जस्ता प्रख्यात गुरू या समाजसेवीहरू प्रख्यातसँगै विवादित पनि छन् । विवाद हुनुको एक कारण आर्थिक पाटो पनि हो । त्यस समयमा पनि केही आर्थिक अपचलन भएका हुँदा हुन् । उनका अनुयायीहरूमा पनि मतभेदहरू आएका हुँदा हुन् ।

बुद्ध सुरुसुरुमा त महिलाहरूलाई भिक्षु सङ्घमा समावेश गराउन चाहन्नथे । उनलाई पुरुष प्रधान समाजको यथार्थ अवगत थियो । महिलाहरू पनि दुःखमा छन् भन्ने महसुस थियो ।

बुद्ध संघमा, धर्म विस्तारको क्रममा महिलाहरू सहभागी गराउने कि नगराउने, गराउने भए कसरी गराउने भन्ने विषयमा संशयमा थिए कि ! बुद्ध सुरुसुरुमा त महिलाहरूलाई भिक्षु सङ्घमा समावेश गराउन चाहन्नथे । उनलाई पुरुष प्रधान समाजको यथार्थ अवगत थियो । महिलाहरू पनि दुःखमा छन् भन्ने महसुस थियो । आफ्ना शिष्य र आफ्ना परिवारजनले नै संघमा आवद्ध हुन देखाएको उत्सुकताले पनि उनी महिलाहरुलाई ससर्त संघमा राख्न तयार भएका हुन् कि !

यसै क्रममा छोरो राहुलसँगको संवाद पनि रुचिकर छ । बुद्धत्व प्राप्त गरिसकेपछि घर फर्कंदा छोरो राहुल पितासँग अंश माग्छ । सानो बालकले मागेको अंश उनले दिन करै लाग्छ, तर परिवारलाई हेर्दै आएका सांसारिक मोहमायामा बाँचिरहेका बुद्धका पिता भने आफ्नो परिवार टुटेको अनुभव गर्छन् । आफ्नो छोरा त आफूसँग थिएन, तर अब नाति पनि आफूसँग नहुने थाहा पाएपछि दुःखी हुन्छन् शुद्धोधन । उपन्यासमा तत्कालीन कपिलवस्तु राज्यको पतनको प्रसङ्ग सानदार ढङ्गले प्रस्तुत भएको छ । शाक्यवंशीहरूले शासन गरेको कपिलवस्तु राज्य बुद्धपछि के भयो भन्ने प्रसङ्ग उपन्यासमा रोचक हिसाबले आएको छ ।

यस उपन्यासमा सामान्य मानिसका संवेदनाहरूलाई गम्भीर ढङ्गले प्रस्तुत गरिएको छ । आखिर बुद्ध पनि मानिस थिए । सायद लेखक मानिस हुन्, जो ईश्वरको मन लेखिरहेका छन् । त्यसकारण पनि बुद्धको सोचाइमा मानवीय संवेदना पाइन्छ । सुनेकै कथा भएकाले उपन्यासमा द्वन्द्व कम भएको हो कि जस्तो लाग्छ । त्यसकारण पनि कथा सरल लाग्छ । धर्मको विवेचना पनि छ । समग्रमा उपन्यासले बुद्धको उपदेश र जीवनीलाई सरल ढंगमा प्रस्तुत गरिएको छ । केही क्लिष्ट शब्दहरू छन्, तर ती शब्दहरुले उपन्यासको बगाइमा असर गरेको छैन । हरेक किसिमका पाठकहरू र विशेषगरी बुद्ध दर्शन अध्ययन गर्न चाहने हरेक व्यक्तिका लागि उपन्यास राम्रो अध्ययनको स्रोत बन्नसक्छ ।


प्रतिक्रिया

One thought on “अर्हत्: आख्यानमा बुद्ध दर्शन

  1. बूद्ध महान् सन्त हुन्, तर उनी भगवान् चाही होइनन्। बूद्ध को उपदेश ले मानिसहरूको सबै प्रश्न को उत्तर दिदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *