नेपालको पूर्वाधार विकासमा सहयोग गर्छौं: चिनियाँ राजदुत सोङ – Nepal Press

नेपालको पूर्वाधार विकासमा सहयोग गर्छौं: चिनियाँ राजदुत सोङ

पर्वत । नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपालको विकास र समृद्धिका लागि आवश्यक सहयोग गर्न चीन सरकार तयार रहेको बताएका छन् ।

पर्वतको फलेवास नगरपालिकास्थित भवानी विद्यापीठ माध्यमिक विद्यालयमा आज आयोजित कार्यक्रममा राजदूत सोङले नेपाल र चीनबीचको सम्बन्ध निरन्तर सुमधुर रहेको बताए । मित्रराष्ट्रको विकास र समृद्धिका लागि सहयोग गर्न चीन सरकार सहयोग गर्न तयार रहेको उनको भनाइ छ ।

हिमाल र नदीले जोडिएका नेपाल र चीनबीचको कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै आफ्नो मूल हितका विषयमा एक अर्कालाई निरन्तर सहयोग गर्दै आएको बताउँदै सोङले नेपालको सडक, विद्युत्, शिक्षा क्षेत्रको सुधारमा सहकार्य गरिने बताए। उनले नेपाल एक स्वतन्त्र र विकासशील राष्ट्र बनोस् भन्ने चीनको इच्छा रहेको बताए ।

राजदूत सोङले कोरला नाका सञ्चालनका लागि चीन सरकार तयार रहेको बताए । कोरला नाकामा नेपालतर्फ पनि पूर्वाधार निर्माणमा चीन सरकारले सहयोग गर्दै आएको बताउँदै उनले नाका सञ्चालनपछि दुई देशको सम्बन्ध अझै बढ्दै जाने पनि बताए । पर्यटकीयस्थल पोखरामा पटक–पटक आएको भए पनि नजिकै रहेका सुन्दर ठाउँमा पनि आउन पाउँदा खुसी लागेको उनको भनाइ थियो ।

जिल्लाकै नमूना विद्यालयको रूपमा रहेको भवानी विद्यापीठ माध्यमिक विद्यालयको भौतिक पूर्वाधार विकासका लागि पनि चीन सरकारले सहयोग गर्ने भएको छ । विद्यालयले भौतिक पूर्वाधार निर्माणका लागि रु ५० लाखको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी नेपाल सरकारमार्फत दूतावासमा पेस गरेको छ ।

सोही सहयोगका लागि विद्यालयको शैक्षिक, भौतिक, व्यवस्थापकीय पक्षका बारेमा अध्ययन अवलोकन गर्नका लागि राजदूत सोङ आएको प्रधानाध्यापक अर्जुन रेग्मीले जानकारी दिए।

रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर