पर्साको बहुदरमाईमा मेयर र प्रशासकीय अधिकृतबीच अविश्वास, दैनिक कामकारबाही अस्तव्यस्त – Nepal Press

पर्साको बहुदरमाईमा मेयर र प्रशासकीय अधिकृतबीच अविश्वास, दैनिक कामकारबाही अस्तव्यस्त

पर्सा । मेयर र प्रमुख प्रशासकीय अधिकृतबीचको खिचातानीले पर्साको बहुदरमाई नगरपालिकाको दैनिक कार्य अस्तव्यस्त भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत शेरे मुस्तफाले आफू अनुकूल काम गर्न नपाएपछि स्थानीय दलहरुबीचको राजनीतिक खिचातानीको फाइदा उठाउँदै मेयर सिंहासन साह तेलीविरुद्ध प्रचारबाजी गरेको मेयर पक्षको आरोप छ ।

नगर परिषद् भएलगत्तै खर्चको अख्तियारी मागेका मुस्तफाले अख्तियारी नपाएपछि कर्मचारी उचालेर मेयरविरुद्ध प्रचारबाजी गरेको मेयर पक्षको दाबी छ ।

ढिलो गरी कात्तिक ८ गते नगर परिषद् भएलगत्तै प्रमुख प्रशासकीय अधिकृत मुस्तफाले अख्तियार मागेका थिए, तर वडा नम्बर ६ को बजेट नै आउन बाँकी रहेको र चाडपर्वको बिदा भएकाले अख्तियारी पाउन नसकेका मुस्तफा मेयर तेलीमाथि खनिएको पाइएको छ । कर्मचारीले तलब नपाएको विषय उचाल्दै सामाजिक सुरक्षा भत्तासमेत वितरण नभएको विषयमा मेयरको नाम जोडेर प्रचार भएपछि मेयर तेलीले यसको खण्डन गरेका छन् ।

उनले भने, ‘सामाजिक सुरक्षा भत्ता वितरण नियमित कार्य हो, यसमा मेयर र जनप्रतिनिधिको भूमिका हुन्न, यो कर्मचारी संयन्त्रको विषय हो, तर मेरै नाम जोडेर प्रचार हुनुमा कारण अर्कै छ ।’

असार १० गतेभित्र नगर परिषद् गरिसक्नु पर्ने भए पनि ढिलो अर्थात् कात्तिक ८ गतेमात्रै नगर परिषद् भएपछि चाडपर्वका बेला कर्मचारीले तलब पाउन नसकेको उनको भनाइ छ । मेयर तेलीले कात्तिक ८ गते नगर परिषद् भएपछि ढिलाइका कारण चाडपर्वमा कर्मचारीलाई तलब भत्ता पठाइएपछि वितरण हुन नसकेको बताए ।

उनले भने, ‘नगर परिषद् ढिलो भए पनि भोलिपल्टै रकम पठाइएको हो, तर दुई वटा वडामा मात्र सामाजिक सुरक्षा भत्ता वितरण भएको पाइएको छ ।’

तेलीले ७ वटा वडामा भत्ता वितरण चाडपर्व सकिएलगत्तै हुने बताए ।

यता प्रशासकीय अधिकृत मुस्तफाले शिक्षक र कर्मचारीको तलब पठाउन ढिलाइ भएको बताए । उनले भने, ‘नगर परिषद् ढिलाइसँगै आर्थिक अधिकार नआइसकेकाले काममा ढिलाइ भएको हो ।’

मेयर तेलीले स्थानीय प्रशासकीय अधिकृत हुँदा पालिका सञ्चालन सहज होस् भन्ने अपेक्षामा कार्यकारी अधिकृतबाटै असहयोग महसुस गरेको मेयरको सचिवालयले जनाएको छ ।

‘कहिले उपमेयर, कहिले वडाध्यक्ष त कहिले कर्मचारी उक्साएर कार्यकारी अधिकृतले नै असहयोग गरेको महसुस भएपछि मेयर तेलीले खर्चको अधिकार दिइसकेका छैनन्, यसैले कर्मचारी र शिक्षकले तलब लिन बाँकी छ’, मेयर तेलीको सचिवालयले भन्यो, ‘एकातिर ४ महिना ढिलो नगरसभा, अर्कातिर चाडपर्वको बिदा, यस्तो बेला प्रमुख प्रशासकीय अधिकृतले समन्वय गर्नुपर्नेमा उल्टै असहयोग गरेपछि मेयरविरुद्ध नगरभित्रैबाट प्रचारबाजी भयो ।’

नगर परिषद् भए पनि वडा नम्बर ६ को योजना आउनै बाँकी छ । नगरसभाका निर्णय सफ्टवेयर (सूत्र) मा प्रविष्टसँगै प्रमुख प्रशासकीय अधिकृतलाई खर्चको अधिकार दिइन्छ, तर वडाको बजेट आउनै सकेको छैन । यस्तो अवस्थामा प्रमुख प्रशासकीय अधिकृतले समन्वय नगरेको मेयर साह पक्षको आरोप छ ।

वडाको बजेट आउन बाँकी रहेको प्रमुख प्रशासकीय अधिकृत मुस्तफाले पनि स्वीकार गरेका छन् । उनले भने, ‘मुद्दा राजनीतिक हो, तर सबैको तारो मै हुन्छु, मैले त्यस्तो केही गरेको छैन, समन्वय गर्न खोज्दा पनि दोष पाइरहेको छु ।’

प्रमुख प्रशासकीय अधिकृत मुस्तफाले आफूले कसैलाई नउक्साएको दाबी गरे । उनलाई मेयरविरुद्ध प्रचारबाजी र कर्मचारी उक्साएको मेयर पक्षको आरोप छ ।

उनले भने, ‘मंगलबार मकहाँ कर्मचारी आएका हुन्, मैले मेयरसाबलाई सबै विषय भनेको छु, मैले कर्मचारी उक्साउने, वडाध्यक्ष उचाल्ने काम गरेको छैन ।’

मेयर तेलीले नगर परिषद् सकिएलगत्तै प्रमुख प्रशासकीय अधिकृत मुस्तफालाई खर्चको अधिकार दिन खोजिएको, तर अझै विश्वासको वातावरण नबनेको बताए ।

उनले भने, ‘नगरभित्र प्रमुख प्रशासकीय अधिकृतको संयोजनकारी भूमिका खोजिएको हो, तर भने जस्तो ढंगले काम गर्न नसकेको देखियो, चाडपर्वअघि खर्चको अधिकार दिने वातावरण नै बनेन ।’

मेयर तेली जनता समाजवादी पार्टीबाट निर्वाचित भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर