रूपन्देही सुपर लिग सुरु: स्टार क्रिकेट क्लबको विजयी – Nepal Press

रूपन्देही सुपर लिग सुरु: स्टार क्रिकेट क्लबको विजयी

रुपन्देही । रुपन्देहीको भैरहवामा २५औं संस्करणको रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

रुपन्देही क्रिकेट संघको आयोजनामा शनिबार सुरु भएको प्रतियोगिताको डिभिजन ‘बी’ अन्तर्गतको उद्घाटन खेलमा स्टार क्रिकेट क्लबले विजयी सुरुवात गरेको छ । स्टारले नेपथ्य ज्ञानोदय क्रिकेट क्लबलाई ९ विकेटले पराजित गर्दै जित निकालेको हो ।

स्थानीय सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपथ्यले निर्धारित ५० ओभरको खेलमा २० ओभर १ बल खेल्दै सबै विकेट गुमाई ५७ रनको झिनो योगफल बनायो । उसका लागि भुवन गैरेले १६ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

उसलाई झिनो स्कोरमा रोक्न बलिङमा स्टार क्रिकेटका शुभम खनाल र नरबहादुर सार्कीले ४-४ विकेट लिए । यस्तै निरज मौर्य र बिजवल बस्यालले १-१ विकेट हात पारे ।

जवाफी ब्याटिङ गरेको स्टार क्रिकेटले ९ ओभर २ बलमा १ विकेट गुमाउँदै ५९ रन बनायो र जित निकाल्यो । उसको लागि आयन खानले २३ तथा राहुल नाउले नटआउट १३ र कृष्ण विकले अविजित ११ रन बनाए । बलिङमा नेपथ्यका सन्तोष क्षेत्रीले १ विकेट लिए ।

खेलमा नरबहादुर सार्की म्यान अफ द म्याच घोषित भई १ हजार २ सय रुपैयाँ प्राप्त गरे ।

सुपर लिगमा रुपन्देहीका ‘ए’ डिभिजनका ८ र ‘बी’ डिभिजनका १२ गरी २० टीम सहभागी छन् । यस पटक नेपाल सुपर लिगका कारण दुई चरणमा प्रतियोगिता हुनेछ । पहिलो चरणमा कार्तिक २४ देखि मंसिर १२ गतेसम्म ‘बी’ डिभिजनका खेल हुनेछन् । ‘ए’ डिभिजनका खेलहरु नेपाल सुपर लिगपछि आयोजना हुनेछ ।

प्रतियोगिताको विजेता टीमले नगद १ लाख १ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै हरेक खेलको म्यान अफ द म्याचले १ हजार २००, म्यान अफ द सिरिजले १५ हजार, बेस्ट ब्याटर, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका सचिव गुरुङले बताए ।

प्रतियोगिताको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँले रुपन्देही क्रिकेटको उर्बर भूमि भएकाले वर्षभरि क्यालेन्डर बनाएर प्रतियोगिता गर्नुपर्नेमा जोड दिए ।

संघका अध्यक्ष हरिबहादुर थापाले संघले वार्षिक योजना बनाएरै प्रतियोगिता आयोजना गर्ने गरेको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *