माओवादीले भन्यो- अग्रगामी एजेन्डासहित संविधान संशोधन गरौँ (भिडिओ)
विषयगत विज्ञता भएका गैरसांसदलाई मात्र मन्त्री बनाउनुपर्ने पक्षमा माओवादी
काठमाडौं । नेकपा माओवादी केन्द्रले थप वर्तमान संविधानलाई संशोधन गरेर थप अग्रगामी बनाउनुपर्नेमा जोड दिएको छ । वर्तमान सत्ता गठबन्धनले सरकारमा जानका लागि मात्रै संविधान संशोधनको कुरा गरेको पार्टीका प्रवक्ता अग्नि सापकोटाले टिप्पणी गरे ।
आज बसेको माओवादीका केन्द्रीय समिति बैठकपछि बोल्दै सापकोटाले संविधान संशोधन गर्ने हो भने अग्रगमन र परिवर्तनको पक्षमा हुनुपर्ने बताए ।
उनले भने, ‘सत्ता गठबन्धनले संविधान संशोधनलाई सत्तामा जानका लागि आवरण मात्र बनाएको थियो । अब हामी भन्छौँ, संविधान संशोधन गर्ने हो भने अग्रगमनको पक्षमा, जनताको अधिकार बढाउने पक्षमा हुनुपर्छ ।’
संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली, पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने सापकोटाको भनाइ छ । यस्तै, विषयगत विज्ञता भएका गैरसंसदहरुलाई मात्र मन्त्री बनाउनुपर्ने पक्षमा माओवादी रहेको पनि उनले जानकारी दिए ।