मार्ने धम्की आएपछि प्रकाश सुवेदी प्रहरीमा, शंकाको सुई को तिर ? – Nepal Press

मार्ने धम्की आएपछि प्रकाश सुवेदी प्रहरीमा, शंकाको सुई को तिर ?

काठमाडौं । ‘रजतपट अंकल’ का रूपमा परिचित वरिष्ठ रंग पत्रकार प्रकाश सुवेदीलाई ज्यान मार्ने धम्की आएको छ । अपरिचितले फोन गरेर धम्की दिएपछि उनले प्रहरी गुहारेका छन् ।

सुवेदीका अनुसार भाइटिकाको अघिल्लो दिन बिहान ५ बजे उनलाई पहिलो पटक फोन आएको थियो । प्राइभेट नम्बरबाट फोनको घण्टी बजेपछि उनले आधि निद्रामै उठाए । ‘हेलो’ भन्नासाथ उताबाट हिन्दीमा बोल्न थालियो । ठाडै ‘तुम्हारे नाम पे दो करोडका सुपारी मिला है’ भनेपछि सुवेदी झस्किएका थिए ।

‘म त निद्रामै थिएँ, अचानक त्यस्तो कुरा गरेपछि होसै उड्यो,’ उनी भन्छन्, ‘अच्छा अच्छा भनेँ । ‘तुम्हारे बच्चे क्यालिफोर्नियामे रहेते हे ना’ भन्नेपछि साँच्चिकै डर लाग्यो ।’

‘के हो त कुरा ?’ भनेर सुवेदीले सोध्दा दुई दिनपछि फोन गरेर विस्तृत बताउने भन्दै फोन काटेको थियो । त्यसपछि मनमनै आतंकित भए पनि उनले कसैलाई सुनाउन सकेनन् । आफ्नो भन्दा पनि छोराछोरीको नाम लिएकाले तनाव भएको थियो उनलाई । त्यही राति नगरकोटमा पारिवारिक रिट्रीट कार्यक्रम थियो । बेलुका नगरकोट पुगिसकेपछि उनले रंगपत्रकार अनुप भट्टराईलाई सेयर गरे । भट्टराईले ढाडस दिएपछि उनलाई अलिकति सान्त्वना मिल्यो ।

‘अनुपलाई सबै सुनाएँ । उसले यस्ता धम्की दिने केही गर्दैनन् दाइ चिन्ता नलिनुस्, भनेपछि बल्ल मन हल्का भयो,’ उनले भने ।

दुई दिनपछि फेरि फोन आयो, जतिबेला अनुप पनि उनकै घरमा थिए । सेल खाँदै गर्दा फोन आएपछि अनुपले उठाए । उताबाट फेरि धम्कीका शब्दहरू आउन थालेपछि अनुपले मार थर्काए । दुवैतिरबाट धाराप्रवाह गाली आदानप्रदान भयो । त्यसपछि सुबेदीले फोन आफैँ लिएर हिन्दीमा सोधे, ‘मसित आखिर प्रोब्लम के हो ?’ उताबाट आएको जवाफ राम्ररी बुझिएन ।

‘फोन बीचबीचमा अड्किएर आएकाले उसले भनेको कुराहरू बुझिएन । त्यसपछि फोन काटियो । फेरि लगातार पाँचपटकसम्म फोन आयो । तर, हामीले उठाएनौँ,’ उनले सुनाए ।

कुनै प्राइभेट नम्बर, कुनै नो नम्बर त कुनै ९७१०० बाट फोन आएका थिए । सबै फोन रेकर्डहरूसहित सुवेदीले प्रहरीको साइबर ब्युरो र अपराध अनुसन्धानमा उजुरी दिएका छन् । प्रहरीले अनुसन्धान भइरहेको बताएको छ । हिजो मात्रै उनले काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई भेटेर पनि सबै विवरण सुनाएका थिए । प्रजिअले पनि सुरक्षाको प्रत्याभूति गराएको सुवेदीले जानकारी दिएका छन् ।

तपाईँलाई कसैमाथि शंका छ ? भनी नेपाल प्रेसले सोध्दा सुवेदीले जवाफ दिए, ‘खोइ कोमाथि शंका गर्नु र । मैले पत्रकारिता भन्दा अर्थोक केही गरेको छैन । अहिले सरसर्ति सोच्दा अस्ति अलिकति… जबकि मैले १२ गाउँलाई कहिले पनि नराम्रो भनेको छैन । उहाँहरूलाई के लाग्यो भने ५ जना महापण्डितहरूलाई नियोजित रूपमा बोलाएर १२ गाउँ विरुद्धमा बोल्न लगायो भन्ने लागेछ । त्यसपछि उनीहरूले मेरो विरुद्धमा बोलिरहेका थिए । विराजको छोराले बनेपा हलमा मविरुद्ध धम्कीपूर्ण भाषा प्रयोग गरेका थिए । ‘बाबाले फुल मात्र होइन, पर्यो भने मान्छे टिपेर फाल्नुहुन्छ’ भनेको इन्टरभ्यू पनि हेरेँ मैले । तर म बिना प्रमाण कसैमाथि पनि आरोप लगाइहाल्न चाहन्न । प्रहरीले अनुसन्धान गरेर वास्तविक अपराधी पत्ता लगाउला भन्ने विश्वास छ । उनीहरूले नै गरेको हो भने मलाई यत्ति भन्नु छ कि दुई करोडको सुपारी दिनुभन्दा यति पैसामा यति फिल्म नै बनाए भइहाल्यो नि ।’

उनी थप्छन्, ‘अरू त मेरो कोहीसँग पनि त्यस्तो नराम्रो केही थिएन । आज कसैसँग झगडा पर्छ, दुई दिनमा मिलिहाल्छौँ । कसैसँग पनि लामो दुस्मनी हुँदैन ।’


प्रतिक्रिया

One thought on “मार्ने धम्की आएपछि प्रकाश सुवेदी प्रहरीमा, शंकाको सुई को तिर ?

  1. अरु कुरा गरे पनि बिराजका बाउ छाेराले ज्यान मार्ने धम्की दिने कुरा कदापि गर्न सक्दैनन् भन्ने लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर