काठमाडौंमा दुई दिने युवा वैज्ञानिक शिखर सम्मेलन हुँदै – Nepal Press

काठमाडौंमा दुई दिने युवा वैज्ञानिक शिखर सम्मेलन हुँदै

काठमाडौँ । नेपाल पोलिमर इन्स्टिच्युट र युनिग्लोब माध्यमिक विद्यालयको संयुक्त आयोजनामा आगामी डिसेम्बर २७ र २८ मा युवा वैज्ञानिक शिखर सम्मेलन २०२५ को ९औं संस्करण काठमाडौंमा हुने भएको छ । कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरुलाई लक्षित यो सम्मेलन युनिग्लोब माध्यमिक विद्यालय कमलादीमा आयोजना हुन लागेको हो ।

देशभरका युवा वैज्ञानिक र अनुसन्धानकर्ताहरुले ५ फरक विधामा आफ्ना अनुसन्धान परियोजना प्रस्तुत गर्नेछन् । यी विधाहरूमा जीव, रसायन र वातावरण विज्ञान, भौतिक विज्ञान, गणित, इन्जिनियरिङ र रोबोटिक्स, कम्प्युटर विज्ञान र कृत्रिम बौद्धिकता, स्वदेशी ज्ञान र स्थानीय प्रविधि समेटिएका छन् ।

परियोजनाको छनोटमा नवीन प्रविधि र प्रयोगलाई प्राथमिकता दिइने आयोजकले जनाएको छ । प्रत्येक विधामा उत्कृष्ट परियोजनालाई ‘युवा वैज्ञानिक’ उपाधि प्रदान गरिनेछ ।

सम्मानित हुने युवा वैज्ञानिकहरूलाई सिंगापुरमा हुने १४औं एसिया प्यासिफिक सम्मेलनमा सहभागिता जनाउन आवेदन दिन योग्य मानिनेछ । छानिएका युवा वैज्ञानिकहरुले नेपाल पोलिमर इन्स्टिच्युटको राष्ट्रिय अनुसन्धान समितिको मार्गदर्शनमा आफ्नो अनुसन्धान क्षमता विस्तार गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धान र नेटवर्किङको अवसर प्राप्त गर्न सक्ने आयोजकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *