निरन्तर निर्वाचन क्षेत्रमा विनोद चौधरी: विकास निर्माणका कामको समन्वयदेखि अनुगमनसम्म – Nepal Press

निरन्तर निर्वाचन क्षेत्रमा विनोद चौधरी: विकास निर्माणका कामको समन्वयदेखि अनुगमनसम्म

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनधिसभा सदस्य विनोद चौधरी निर्वाचन क्षेत्रको विकासमा निरन्तर क्रियाशील छन् ।

नवलपरासी १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि सांसद चौधरीले निर्वाचन क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर काम गर्दै आएका छन् । निर्वाचित भएलगत्तै विज्ञसहितको टोली राखेर निर्वाचन क्षेत्रका विकास निर्माणका कामको प्राथमिकीकरण गरेका उनले त्यसको कार्यान्वयनका लागि निरन्तर पहल र समन्वय गर्दै आएका छन् ।

उद्योगपति चौधरीले निर्वाचन क्षेत्रलाई प्राथमिकतामा राखेर तीन तहकै सरकार र सरोकारवाला अन्य निकायसँग सहकार्य गर्दै आएका हुन् । बर्दघाट नगरपालिकाका मेयर शम्भुलाल श्रेष्ठले सांसद चौधरी निर्वाचित भएपछि नवलपरासीमा व्यवस्थित विकासको प्रारम्भ भएको बताए ।

उनले भने, ‘जनप्रतिनिधिका रुपमा माननीयज्यूको काम गर्ने तरिका अरुभन्दा फरक छ । उहाँले निर्वाचन क्षेत्रको विकास निर्माणको काममा तीन तहकै सरकारसँग समन्वय गर्ने र सहजीकरण गर्ने काममा सहयोग गर्दै आउनुभएको छ ।’

मेयर श्रेष्ठका अनुसार सांसद चौधरीले सुरु भएका आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्न सम्बन्धित निकायलाई सकारात्मक दबाब दिने काम गर्दै आएका छन् ।

विगतमा सुरु भएर अलपत्र परेका योजनाहरुलाई फेरि सुचारु गर्नेदेखि नयाँ आयोजनाहरु निर्वाचन क्षेत्रमा लैजाने काममा उनको भूमिका महत्वपूर्ण रहेको सरावल गाउँपालिका वडा न ५ का अध्यक्ष लक्ष्मण चौधरीले बताए ।

उनले भने, ‘उहाँ निर्वाचित भएपछि पहिलादेखि रोकिएका कामहरु अगाडि बढेका छन् । केही नयाँ योजनाहरु पनि यहाँ आएका छन् । चाहे ट्रमा सेन्टरको काम होस् वा सुस्ता पुल । अन्य शिक्षा, स्वास्थ्य र अन्य सामाजिक क्षेत्रमा निकै नै काम भएका छन् । जुन उहाँबाहेक अरुबाट सम्भव थिएन ।’

लामो समयदेखि अलपत्र अवस्थामा रहेको ट्रमा सेन्टर निर्माणको काम अगाडि बढेको छ भने दश वर्षअघि नै निर्माण सुरु भएर पनि सुस्त गतिमा अगाडि बढिरहेको सुस्ता पुलको काम सम्पन्न भइसकेको छ । अघिल्लो महिना राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको लामो झोलुंगे पुल (सुस्ता पुल)को उद्घाटन गरेका थिए ।

सांसद चौधरीकै पहलमा सुस्तापारिका करिब ३०० भन्दा बढी घरपरिवारलाई सरकारले निःशुल्क विद्युत उपलब्ध गराएको छ । एक वर्षका लागि त्यहाँका स्थानीयले बिजुली उपभोग गरेको पैसा तिर्नुपर्दैन ।

चौधरी फाउन्डेसनमार्फत युवाहरुलाई स्वरोजगारमूलक तालिम प्रदान गर्नुका साथै महिलाहरुलाई विभिन्न सीपमूलक तालिमको व्यवस्था गरिएको छ । सांसद चौधरीले निर्वाचन क्षेत्रको विकास नै आफ्नो प्राथमिक काम भएको बताउँदै आएका छन् ।

उनले भने, ‘म यो निर्वाचन क्षेत्रको विकासलाई व्यवस्थित रुपमा अगाडि बढाउन चाहन्छु । विकासमा राजनीति गर्नुहुँदैन भन्ने मान्यताका साथ समग्र निर्वाचन क्षेत्रको विकासमा मेरो अर्जुनदृष्टि छ ।’

सांसद निर्वाचित भएपछि निरन्तर निर्वाचन क्षेत्र पुग्ने गरेका उनले जिल्लामा रहेका सबै सरकारी निकाय, स्थानीय तह र सरोकारवाला निकायहरुसँग सामूहिक छलफल गर्दै आएका छन् ।

निर्वाचन क्षेत्रका विभिन्न छठी घाटमा पुगेर छठ पर्व मनाएका सांसद चौधरीले विभिन्न विकास निर्माणका कामको स्थलगत अनुमगनसमेत गरेका थिए । उनले ट्रमा सेन्टर, खजुरा खोला पुल, साना तथा मझौला उद्योगग्राम, अम्बास सडकखण्डलगायतको अनुगमन गर्दै विकास निर्माणका काममा विलम्ब नगर्न सम्बन्धित निकायालई आग्रह गरे ।

सांसद चौधरीले किसानलाई मलको अभाव हुन नदिन सरकारको ध्यानाकर्षण गराउनुका साथै उखु किसानको भुक्तानी छिटो गर्न र न्यूनतम मूल्य तोक्न संघीय कृषिमन्त्री रामनाथ अधिकारी र अर्थमन्त्री विष्णु पौडेललाई भेटेरै ध्यानाकर्षण गराएका छन् ।

नवलपरासी उखु र केरा खेतीका लागि नेपालकै प्रमुख पकेट क्षेत्रका रुपमा लिइन्छ । उखु र केरा खेतीका लागि अन्य कृषि बालीभन्दा बढी मल आवश्यक हुने भएकाले सांसद चौधरीले मलको सहज आपूर्तिका लागि पटकपटक संघीय सरकारलाई आग्रह गर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर