हेटौंडा- १२ को चुनावी माहोल: त्रिपक्षीय प्रतिस्पर्धामा रास्वपाको प्रवेश
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा उपचुनावको सरगर्मी सुरु भएको छ । २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा हेटौंडाका १९ वडामध्ये सबैभन्दा रोचक र निकट प्रतिस्पर्धा भएको वडा हो यो ।
गत निर्वाचनमा माओवादी केन्द्रका ललितबहादुर घलानले झिनो मतान्तरले जितेका थिए । बाँकी चारै जना वडा सदस्य एमालेबाट विजयी भएका थिए । घलानले १ हजार ३७१ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका अर्जुनप्रसाद तिवारीले १ हजार ३४० मत ल्याएका थिए । उनीहरुको मतान्तर जम्मा ३१ मात्र थियो ।
यहाँ तेस्रो भएको एमालेले पनि १ हजार ३२५ मत ल्याएको थियो । दोस्रो र तेस्रो हुने उम्मेदवारबिच पनि १५ मतको मात्र फरक थियो । अध्यक्षमा पछि परे पनि एमालेबाट महिला सदस्यमा रुकमणी गोङ्वा, दलित महिला सदस्यमा गीता परियार र सदस्यहरु महेश भट्टराई तथा ज्ञानबहादुर श्रेष्ठ विजयी भएका थिए ।
हेटौंडाको एकमात्र वडा जितेको माओवादी केन्द्रले तत्कालीन माओवादी-कांग्रेस सत्ता गठबन्धनमा आफ्नो भागमा जिल्ला समन्वय समिति परेपछि घलानलाई पठायो । त्यससँगै १२ नम्बर वडा अध्यक्षविहीन बन्न पुग्यो । सोही कारण रिक्त रहेको वडामा उपनिर्वाचन हुने भएको हो ।
यो पटक पनि वडा नम्बर १२ मा तीव्र प्रतिस्पर्धा देखिएको छ । एमाले र कांग्रेसले पुरानै उम्मेदवारलाई निरन्तरता दिँदा माओवादी केन्द्रले रविन प्रधानलाई उम्मेदवार बनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो पटक स्थानीय तह निर्वाचनमा भाग लिँदैछ । उसले आशवीर बललाई उम्मेदवार बनाएको छ । राप्रपाले प्रेम लामा भ्लोनलाई र नेकपा एसले बलराम बललाई उठाएका छन् ।
लगातार दुई पटक वडामा जित हासिल गरेको माओवादी केन्द्र ह्याट्रिकको दाउमा छ । माओवादीलाई फेरि पनि मतदाताले विश्वास गर्नेमा आफूहरु ढुक्क रहेको माओवादी बागमती प्रदेश उपाध्यक्ष प्रेमबहादुर पुलामीले बताए ।
अघिल्लो पटक चार सदस्य पद जितेर पनि वडाध्यक्षमा झिनो मतान्तरले पराजित भएको एमाले पनि यो पटक वडाध्यक्षमा जित दर्ता गर्नेगरी चुनावी अभियानमा होमिएको बताउँछ । एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले जनताले यस पटक एमालेलाई जिताएर पठाउने दाबी गर्छन् ।
युवा संघ मकवानपुरका अध्यक्षसमेत रहेका एमाले उम्मेदवार नगरकोटी यस क्षेत्रको सफल युवा भएको कारण पनि एमालेको जितमा कसैले अवरोध गर्न नसक्ने उनको भनाइ छ ।
यता लगातार दोस्रो पटक वडाध्यक्षमा निकटतम प्रतिस्पर्धी भएर पराजित भएको कांग्रेसले तेस्रो पटक पनि उनै उम्मेदवारलाई निरन्तरता दिएको छ । अघिल्लो निर्वाचनमा केही प्राविधिक कारणले पराजित भएको निष्कर्ष निकाल्दै कांग्रेसले यो पटक जित्नेगरी तिवारीलाई पुनः उम्मेदवार बनाएको जनाएको छ । कांग्रेस मकवानपुरका अध्यक्ष बुद्ध लामाले उपनिर्वाचनमा कांग्रेसको जित सुनिश्चित भएको दाबी गरे ।
यसबाहेक रास्वपा, राप्रपा तथा नेकपा एकीकृत समाजवादीले पनि निर्वाचनमा आफूहरु विजयी हुने दाबी गरेका छन् । रास्वपाले पुरानो दललाई जनताले पटकपटक हेरेको र उनीहरुबाट परिवर्तन नभएको बुझाइ जनतामा रहेकाले यो पटक आफ्नो उम्मेदवारले जित्ने दाबी गरेको छ ।