कोशी भ्रमण वर्ष २०८२ बारे हिन्दी, बंगाली र चिनियाँ भाषामा किन भएन प्रचार ? – Nepal Press

कोशी भ्रमण वर्ष २०८२ बारे हिन्दी, बंगाली र चिनियाँ भाषामा किन भएन प्रचार ?

यदि कुनै मान्छेले बुझ्ने भाषामा तपाईं कुरा गर्नुहुन्छ भने त्यो उसको मस्तिष्कमा पुग्छ । यदि तपाईं उसको भाषामा कुरा गर्नुहुन्छ भने त्यो उसको मुुटुमा पुग्छ ।

– नेल्सन मन्डेला

मातृ भाषामा नेल्सन मन्डेलाले भनेको कुराको महत्व भाषाशास्त्र, साहित्य, राजनीति जत्तिकै पर्यटनमा पनि छ । पर्यटन प्रचारमा हामीले हाम्रा स्रोत राष्ट्रका पर्यटकहरुकै भाषामा उनीहरुको पर्यटकीय चाहनाअनुसार प्रचार गर्न सक्दा धेरै राम्रो नतिजा आउनसक्छ ।

पर्यटन प्रचारमा नेपालमा नेपाली भाषा र विदेशमा अंग्रेजीमात्र काफी हुँदैन । किनभने अंग्रेजी भाषामात्रै विश्व भाषा हैन । यही कुरा बुझेर हुनुपर्छ, नेपाल पर्यटन बोर्डले विभिन्न ६ भाषामा आफ्नो पर्यटकीय प्रचार गर्छ । अंग्रेजी, स्पेनिस, चाइनिज, फ्रेन्च, रसियन र जर्मन भाषामा नेपाल पर्यटन बोर्डको वेलकमनेपाल डटकममार्फत पर्यटकीय प्रचार हुँदै आएको छ । सरकारी पर्यटन प्रचारको आधिकारिक निकाय नेपाल पर्यटन बोर्डमात्रै हैन, निजी क्षेत्रको पर्यटन सेवा प्रदायकले पनि नेपालमा बुहुभाषिक प्रचार गरेको देखिन्छ ।

कोशी प्रदेशकै कुरा गरौं, विराटनगर र झापाका सीमावर्ती आँखा अस्पतालका कतिपय प्रचारहरु बंगाली र आसामिस भाषामा भएका छन् । काकडभित्ताका कतिपय होटलकै बोर्डमा बंगाली र आसामिस भाषा प्रयोग भएका छन् । यी उदाहरणले भन्छ- चासो प्राकृतिक, चासो साहसिक, चासो मेडिकल, सबै खाले पर्यटनको लागि बहुभाषिक प्रचार आवश्यक हुन्छ । निजी र सरकारी सबै क्षेत्रमा यही कुरा लागू हुन्छ ।

कोशी प्रदेशकै पर्यटन प्रचारको कुरा गर्दा हामीले प्रदेश सरकारको स्तरबाट बहुभाषिक प्रचार गरेका छैनौं । निजी क्षेत्रको तर्फबाट होटल एसोसियसन अफ भेडेटारले नेपाली, अंग्रेजी र हिन्दी भाषाका प्रचार बनाएका छन् । धरान तथा धनकुटालगायतका केही स्थानीय सरकारले पनि यी तीन भाषामा केही प्रचार सामग्री बनाएको छ ।

नेपालीसँगै अंग्रेजी, हिन्दी, बंगाली र चिनियाँ भाषामा पर्यटकीय प्रचार

हालसम्म निजी क्षेत्र र स्थानीय सरकारको अभ्यासमा तीन भाषामा केही पर्यटन प्रचार भएको छ । नेपाली, अंग्रेजी र हिन्दी, तर यत्तिमै मात्र कोशी प्रदेशको पर्यटन प्रचार खुम्च्याउनु हुन्न । कोशी भ्रमण वर्ष २०८२ आइरहेको र पर्यटकीय सूचना प्रवाहमा कोशी प्रदेश काठमाडौं, पोखरा, चितवन र लुम्बिनीको छायाँमा परेको छ । यो दुःख चिर्नलाई सबैभन्दा पहिले सूचनामा अभ्यास गर्नुपर्छ । एकसाथ नेपाली, अंग्रेजी, हिन्दी, बंगाली र चिनियाँ भाषामा प्रचार आवश्यक छ । नेपाल र नेपाली भाषीको लागि नेपालीमा प्रचार र एक विश्वभाषाको रुपमा अंग्रेजीमा प्रचार आवश्यक छ ।

एकसाथ नेपाली, अंग्रेजी, हिन्दी, बंगाली र चिनियाँ भाषामा प्रचार आवश्यक छ । नेपाल र नेपाली भाषीको लागि नेपालीमा प्रचार र एक विश्वभाषाको रुपमा अंग्रेजीमा प्रचार आवश्यक छ ।

हिन्दी, बंगाली र चिनियाँ भाषाको प्रचार भने कोशी प्रदेशको निकटता र अत्यधिक पर्यटक आउनसक्ने स्रोत मुलुक भएकोले आवश्यक छ । कोशी प्रदेशको दक्षिणी सीमा भारतीय राज्य बिहार पर्छ । बिहारको मुख्य भाषा हिन्दी हो । भारतको मुख्य भाषा हिन्दी विश्वका सबैभन्दा धेरैले बोल्ने भाषाको चौथो नम्बरमा आउँछ । चिनियाँ, स्पेनिस र अंग्रेजीपछि सबैभन्दा धेरैले संसारमा बोल्ने र बुझ्ने भाषा हिन्दी हो । हिन्दी बोल्नेहरु अरबिक र रसियन तथा जर्मन भाषा बोल्नेहरुभन्दा धेरै छन् ।

बंगाली भाषामा कोशी प्रदेशको पर्यटन प्रचार गर्न उत्तिकै आवश्यक छ । बंगाली भाषामा प्रचार गर्दाका दुइटा फाइदा छन् । एक- यसले कोशी प्रदेशको पूर्वी सिमानामा पर्ने पश्चिम बंगालमा पर्यटकीय प्रचार सहज हुन्छ । दुई- बंगाली भाषा नै बोल्ने प्रदेशको पूर्वी नाका काकडभित्ताबाट एकै घन्टाको दूरीमा पुगिने बंगलादेशमा पनि पर्यटकीय प्रचार हुन्छ । बंगलादेशका पर्यटकहरु सबैभन्दा धेरै आउनेमा भारत पर्दा नेपाल भने कममात्रै आउने गरेका छन् ।

बंगाली भाषाको पर्यटन प्रचार आक्रामक गरेर नेपालको प्रकृति, संस्कृति र साहसिक पर्यटकीय प्रडक्टहरु बेच्न सकिन्छ । पश्चिम बंगालमा धार्मिक पर्यटनलाई प्राथमिकता र बंगलादेशमा प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई बंगाली भाषामा प्रचार गरेमा प्रदेशले पर्यटकीय फड्को मार्नसक्छ । बंगाली भाषा विश्वको सबैभन्दा धेरै बोलिने भाषाको सातौं नम्बरमा आउँछ । बंगाली भाषा बोल्नेहरु रसियन, फ्रेन्च, जापानिज, कोरियन र जर्मन भाषा बोल्नेहरुभन्दा धेरै छन् ।

अमेरिका, युरोप, अस्ट्रेलिया, क्यानडा, न्युजिल्यान्ड जस्ता अंग्रेजी भाषी बाहुल्य क्षेत्रबाट प्रदेशमा आउने पर्यटकको संख्या एकदमै कम छ । भारतीय राज्य बिहार र बंगालबाट आउनेको संख्या उत्साहप्रद छ । त्यसैले प्रदेशले अंग्रेजीभन्दा ध्यान हिन्दी र बंगाली भाषाको पर्यटन प्रचारप्रसारमा दिन आवश्यक छ । सिक्किम आउने वा दार्जिलिङ आउने बिहार र बंगालका पर्यटकहरुको एक हिस्सा कोशी प्रदेशमा तान्न सकिन्छ । त्यसमा उनीहरुको भाषामा पर्यटकीय प्रचार तथा जनशक्तिको विकास आवश्यक छ ।

चिनियाँ, स्पेनिस र अंग्रेजीपछि सबैभन्दा धेरैले संसारमा बोल्ने र बुझ्ने भाषा हिन्दी हो । हिन्दी बोल्नेहरु अरबिक र रसियन तथा जर्मन भाषा बोल्नेहरुभन्दा धेरै छन् ।

यसैगरी प्रदेशले पर्यटकीय प्रचार गर्नुपर्ने अर्को महत्वपूर्ण भाषा हो चिनियाँ । प्रदेशको ताप्लेजुङको ओलाङ्चुङगोला र संखुवासभाको किमाथांका जस्ता दुई उत्तरी नाका चीनसँग जोडिन्छन् । २०७६ बैशाख १६ गते नेपाल र चीनबिच भएको पारवाहन सन्धिको प्रोटोकल सम्झौतामा यी नाकाहरुले अन्तराष्ट्रिय नाकाको मान्यता पाएका छन् । भलै अहिले यी दुई नाकासम्म पुग्ने ट्र्याकमात्रै खुल्ने क्रममा छन्, तर भविष्यमा यी दुई नाका खोलिन्छन् । सरकारी अधिकारीहरुको भनाइमा केही वर्षभित्र खुलिसक्छ । यी नाका खोलिएसँगै यसमार्फत प्रदेश विश्वको दोस्रो ठूलो अर्थतन्त्रसँग सीधा जोडिनेछ ।

कोशी प्रदेशसँग भौगोलिक रुपमा मात्रै जोडिएको चीन दुई नाका खोल्नासाथ व्यापार, पर्यटन र पारवहनसँग पनि जोडिनेछ । जोडिएपछि चिनियाँ सामानसँगै चिनियाँ पर्यटकहरु पनि यो स्थलमार्ग प्रयोग गरेर नेपाल आउन सक्छन् । जसरी केरुङ नाकाबाट स्थलमार्ग हुँदै हजारौं चिनियाँ पर्यटक नेपाल आउँछन्, ठिक त्यसैगरी कोशी प्रदेशका दुई उत्तरी नाका खोलिएपछि चिनियाँ पर्यटकहरु पनि आउँछन् । उनीहरु आउनु अगाडि प्रदेशको पर्यटकीय प्रचार बलियो र उनीहरुले बुझ्ने भाषामा बनाउन आवश्यक छ । चिनियाँ संसारमा सबैभन्दा धेरै बोलिने भाषा हो । यो भाषा भएको देश प्रदेशसँग जोडिएको छ । त्यसैले चिनियाँ भाषामा प्रदेशको पर्यटकीय प्रचारप्रसार अनलाइन र सामाजिक सञ्जालमार्फत गर्न सकिन्छ ।

नेपाली पर्यटकीय प्याकेज भनेकै काठमाडौं, पोखरा, चितवन राष्ट्रिय निकुञ्ज, अन्नपूर्ण बेस क्याम्प ट्रेक, लुम्बिनी, पशुपतिनाथमात्रै भन्ने आम बुझाइ भारत, चीन जस्तै बंगलादेशमा पनि छ । यसका एक साक्षी हुन् भारतीय राज्य पश्चिम बंगालको कोलकातामा भएको ट्राभल एन्ड टुरिजम फेयर (टीटीएफ) लगायतका विभिन्न पर्यटन फेयरका नेपाली सहभागी किशोर थुलुङ । ‘खोकु छिन्ताङ दुख्यो कि’ गीतका गायक र कोशी प्रदेशको योजना आयोगका सदस्यसमेत रहेका थुलुङका अनुसार धरान र भेडेटारको प्रचार गर्दा अधिकांश सहभागीहरुले ‘काठमाडौं र लुम्बिनीबाट कति टाढा’ भनेर सोधेका थिए । सँगसँगै जोडिएका भारतीय राज्यका नागरिकलाई पनि कोशी प्रदेशको जानकारी कति कम छ भन्ने एक उदाहरण हो यो प्रश्न ।

अब कोशी भ्रमण वर्ष २०८२ को तयारीमा लागेको प्रदेश सरकारले आफ्नो पर्यटकीय लक्ष्य भेट्न, प्रदेशको भर्जिन पर्यटकीय प्रडक्टको प्रचारप्रसार गर्न पनि हाम्रा प्रचार सामग्री छिमेककै भाषामा गर्न आवश्यक छ । उनीहरुको मस्तिष्क र मनसम्मै प्रदेशको पर्यटकीय प्रचार पुर्‍याउन अत्यावश्यक छ । किनभने धेरै पहिले नै नेल्सन मन्डेलाले भनिसकेका छन्ः

यदि कुनै मान्छेले बुझ्ने भाषामा तपाईं कुरा गर्नु हुन्छ भने त्यो उसको मस्तिष्कमा पुग्छ । यदि तपाईं उसको भाषामा कुरा गर्नुहुन्छ भने त्यो उसको मुटुमा पुग्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *