मन्त्री मिटिङ छ भन्दै उठेर हिँडेपछि राज्यमन्त्रीले सचिवलाई बोल्न दिएनन् (भिडिओ)
ऊर्जा मन्त्रालयको पत्रकार सम्मेलनमा राज्यमन्त्रीको अशोभनीय व्यवहार
काठमाडौं । डेडिकेटेड र ट्रंकलाइन विवादका विषयमा लाल आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा ऊर्जा राज्यमन्त्रीले सचिवप्रति ‘अशोभनीय’ व्यवहार देखाएका छन् । ऊर्जामन्त्री दीपक खड्का जरुरी मिटिङमा जानुपर्ने भन्दै उठेर हिँडेपछि राज्यमन्त्री पूर्णबहादुर तामाङले पत्रकार सम्मेलन हठात अन्त्य गरिदिए ।
ऊर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन सचिव सुरेश आचार्यले सञ्चालन गरेका थिए । सुरुमा उनले सक्षिप्त मन्तव्य राख्दै लाल आयोगको पूर्णपाठ मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको जानकारी गराए । सोपश्चात उनले मन्त्रीलाई प्रश्न सोध्न फ्लोर ओपन गरे ।
पत्रकार र मन्त्रीबीच करिब १५ मिनेटमात्रै प्रश्नोत्तर भयो । मन्त्रीको छेउमा बसेका राज्यमन्त्री तामाङले कुनै पनि प्रश्नको सामना गर्न पाएका थिएनन् । सचिव आचार्यले बोल्दै गर्दा मन्त्री खड्काले घडी हेर्दै आफू एक जरुरी मिटिङमा जानुपरेको बताए ।
उनले कुर्सीबाट उठ्दै भने, ‘सचिवज्यू, राज्यमन्त्रीज्यू हुनुहुन्छ । केही जिज्ञासा छ भने उहाँहरुले भन्नुहुन्छ । हस धन्यवाद ।’
तर राज्यमन्त्री तामाङ पनि ‘नमस्कार’ गर्दै मन्त्रीसँगै जुरुक्क उठे । पत्रकारले सचिवलाई प्रश्न सोध्न थाले, तर राज्यमन्त्री तामाङले सचिवलाई जवाफ दिन रोके ।
‘सचिवज्यू प्लीज । अब क्लोज गरेर धन्यवाद दिनुस्, सकियो’, राज्यमन्त्रीले आदेश दिए ।
सचिव आचार्यले एउटा प्रश्नको जवाफ दिने बताए, तर राज्यमन्त्रीले अनुमति दिएनन् ।
‘छोड्दिनुस् । मन्त्री हिँडेपछि तपाईंले उहाँहरुसँग ऊ गरेर केही फाइदा छैन । क्याबिनेटको निर्णयमा तपाईंले ऊ गरेर हुन्छ ? मन्त्री हिँडेपछि तपाईंले कहाँ जवाफ दिएर बस्न मिल्छ ?’
त्यसपछि पत्रकारतिर हेर्दै उनले भने, ‘सम्बन्धित मान्छेले गरेको निर्णयमा उहाँले यो यो भन्नुपर्ने आवश्यकतै छैन ।’
सचिव आचार्य लज्जित देखिए । सबैजना जर्याकजुरुक उठेर हिँडे ।
स्मरणीय छ, मन्त्री खड्का र राज्यमन्त्री तामाङ एउटै पार्टी नेपाली कांग्रेसका हुन् ।
यो चालाले कालोसूचीमा परेको हो कान्छाराम तामाङ हैसियत बेगरको मनुवा मन्त्री बन्न सकिन्छ तर सचिव हुन उही हो मति फिरोस
उर्जा राज्य मन्त्रीकाे व्यवहार एकदमै निन्दनिय छ ।शेरवहादुरले यस्तै कु-पात्रहरू छानेर पठाए ।