रुपन्देहीमा सुरक्षा व्यवस्था कडा, दुवैतर्फबाट प्रदर्शनको तयारी (भिडियो) – Nepal Press

रुपन्देहीमा सुरक्षा व्यवस्था कडा, दुवैतर्फबाट प्रदर्शनको तयारी (भिडियो)

रास्वपाको ठूलो समूह भैरहवा र गौतमबुद्ध विमानस्थल पुग्यो

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि रुपन्देही ल्याइने भएपछि बिहानैदेखि रुपन्देहीको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल वरपर नेपाल र प्रहरी सशस्त्र प्रहरी परिचालन गरिएको छ । लामिछानेलाई बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयानका लागि रुपन्देही ल्याउन लागिएको हो । बिहानै ७ः४५ को टिकट भए पनि विमानस्थलमा मौसम नखुल्दा पोखराबाट जहाज उड्न सकेको छैन ।

लामिछानेलाई रुपन्देही ल्याउने तयारीसँगै रास्वपाले भैरहवामा प्रदर्शनको तयारी गरिरहेको छ । नेता कार्यकर्तालाई बिहान १० बजे भैरहवामा उपस्थित हुन सो पार्टीले निर्देशन दिएको छ ।

रास्वपा लुम्बिनी अध्यक्ष देवराज पाठकका अनुसार सबै समर्थकलाई बुद्धचोकमा प्रदर्शनका लागि बोलाइए पनि पहिले विमानस्थलमै पुगेर प्रदर्शनका लागि शुभेच्छुक पुगेको र भैरहवामा ठूलो समूह प्रदर्शनका लागि आइसकेको जनाए । सो पार्टीका कार्यकर्ता बिहानैदेखि विमानस्थल वरिपरि जम्मा भइसकेका छन् ।

बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ । यसै विषयको बयानका लागि लामिछानेलाई रुपन्देही ल्याउन लागिएको हो ।

उनलाई विमानस्थलबाट जिल्ला प्रहरी र सरकारी वकिलकहाँ पुराइने र छिटै बयान लिएर पोखरा नै फर्काइने भएको छ ।

यता सहकारी पीडितहरूले पनि सरकारी वकिलको कार्यालय अगाडि विरोध प्रदर्शनको तयारी गरिरहेका छन् । दोहोरो प्रदर्शनको तयारी भएसँगै प्रहरीले विमानस्थलदेखि सरकारी वकिलको कार्यालय परिसरसम्मको सुरक्षा व्यवस्था कडा पारेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *