भैरहवा विमानस्थलमा मौसम प्रतिकुलताले उडान प्रभावित – Nepal Press

भैरहवा विमानस्थलमा मौसम प्रतिकुलताले उडान प्रभावित

रुपन्देही । केही दिनयता ५ अन्तर्राष्ट्रिय विमान कम्पनीले उडान थालेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम प्रतिकुलताका कारण हुने उडान तथा अवतरण प्रभावित भएका छन् ।

सोमबार रातीदेखि नै हुस्सुको कारणले उडान अवतरण हुन नसकेपछि समस्या आएको हो ।

अवतरणमा आवश्यक प्रकाश भिजिबिलिटी नपुग्दा उडान अवतरण प्रभावित भएको नागरिक उड्डयन प्राधिकरण, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका सूचना अधिकारी विनोद राउतले बताए ।

उनका अनुसार कुवेतबाट आएको जजिरा एयरवेज काठमाडौं डाइभर्ट भएको छ । त्यस्तै बिहानै पोखराबाट आउनु पर्ने बुद्ध एयरको जहाज पनि खराब मौसमका कारण आउन सकेन ।

बुद्ध एयरको पोखराबाट आउने जहाजमा रास्वपाका अध्यक्ष एवं पूर्व गृहमन्त्री रबी लामिछानेलाई भैरहवा बयानका लागि ल्याउने तय थियो । लामिछाने पनि पोखरा विमानस्थलमा रहेका छन् । हिजो राति काठमाडौंबाट भैरहवा आई दुबई जाने नेपाल एयरलाइन्सको जहाज पनि खराब मौसमका कारण आउन सकेन ।

कम भिजिबिलिटीमा पनि उड्न सक्ने यन्त्र आइएलएस इन्सटुमेन्ट ल्यान्डिङ सिस्टम जडान भएर पनि भारतसँग सहमति हुन नसक्दा सञ्चालन हुन सकेको छैन भने अर्को प्रविधि आरएनपी–एआर (रिक्वायर्ड नेभिगेसन प्रोसुडर) पनि सञ्चालनमा आउन सकेको छैन । आरएनपी–एआर भूउपग्रहमा आधारित प्रविधि हो । यो प्रविधिले कम प्रकाशमा पनि उडान अवतरणका लागि रुटको डिजाइन गर्छ । तर यो प्रविधि नागरिक उड्डयन प्राधिकरणले परीक्षणमा ल्याएको छैन ।

अहिले यो विमानस्थलबाट जहाज अवतरणका लागि १८ सय मिटर प्रकाश हुनु पर्दछ, अहिले विमानस्थलको प्रकाश १ हजार मिटरको हाराहारीमा छ । केही दिनयता मात्रै ५ विमान कम्पनीले यहाँबाट अन्तर्राष्ट्रिय उडान थाले पनि सुरुवातमै यो कारणले समस्या थपिने भएको हो


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *