कोप-२९ मा जम्बो टोली पठाएको विषयमा अख्तियारले वन मन्त्रालयलाई सोध्यो पाँच प्रश्न
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २९) मा नेपालबाट जम्बो टोली अजरबैजानको बाकुमा गएकोबारे पाँच सवालको जवाफ खोजेको छ ।
आयोगले आइतबार कोप २९ मा सहभागिताको मुख्य जिम्मेवार निकाय वन तथा वातावरण मन्त्रालयलाई पत्राचार गर्दै विभिन्न ५ वटा विषयमा सोधपुछ गरेको हो ।
आयोगका एक पदाधिकारी अनुसार कोप-२९ मा कति जनालाई निमन्त्रणा आएको हो ? कति जना सहभागी हुन गएको हो ? सम्मेलनमा भाग लिनेको भूमिका के हो ? खर्च कसले व्यहोर्ने हो ? र यत्ति ठूलो समूह सम्मेलनमा सहभागी हुनुको औचित्य र उपलब्धि के हो ? भनी जवाफ खोजिएको हो । कोप-२९ मा जम्बो टोली सहभागी भएको भएको विषयमा आयोगमा उजुरी परेपछि मन्त्रालसँग जवाफ मागिएको स्रोतले बतायो ।
यो पनि पढ्नुहोस्- वन मन्त्रालयकाे जम्बाे टाेली `काेप´का नाममा विदेश सयरमा, स्पाेन्सर खाेज्न चटाराे
वन तथा वातावरण मन्त्रालय र मातहतका विभाग तथा कार्यालयबाट ३१ जनाको नेपाली टोली सम्मेलनमा सहभागी हुन अजरबैजानको बाकु गएको छ । मन्त्रालयको टोलीमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही, सचिव डा. दीपककुमार खरालदेखि प्रशासन महाशाखा प्रमुख सहसचिव भुपाल बराल र प्रशासन महाशाखाअन्तर्गत कै कर्मचारी प्रशासन शाखा प्रमुख उपसचिव शोभाकर रेग्मी सहभागी छन् ।
विज्ञहरुलाई लैजानुपर्ने कोप सम्मेलनमा वन मन्त्रालयले आफ्ना कर्मचारीहरूको जम्बो टोली लैजान लागेको समाचार नेपाल प्रेसले प्रकाशित गरेको थियो ।
कोप-२९ मा नेपालको उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपति रामचन्द्र पौडेलले गरेका छन् । राष्ट्रपति पौडेल ९ सदस्यीय टोलीको नेतृत्व गर्दै गत आइतबार बाकु प्रस्थान गरिसकेका छन् भने उनले मंगलबार सम्मेलनलाई सम्बोधन गर्ने कार्यतालिका छ ।