महिला साथीको घरमा ब्रेकफास्ट गर्दै थिए मनाङे, आत्मसमर्पण गर्न प्रहरीसँग याचना
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को टोली मङ्गलवार बिहान स्वयम्भू, सानोभर्याङस्थित कम्फोर्ट हाउजिङ पुग्दा गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दीपक मनाङे) बिहानी खाजा (ब्रेकफास्ट) खाँदै थिए ।
सादा पोशाकमा पुगेको प्रहरी टोलीले आफ्नो परिचय दिएपछि मनाङेले आफू आत्मसमर्पण गर्न जानै लागेको भन्दै उक्त मौका दिन अनुरोध गरे । तर, प्रहरीले अस्वीकार गरेपछि उनी पक्राउ परेका हुन् ।
प्रहरीले मनाङेले विभिन्न नम्बरबाट निकटस्थसँग गरेको कुराकानीका आधारमा केही मोबाइल नम्बर सङ्कलन गरेको थियो । त्यस आधारमा कल डिटेल्स (सिडिआर) को अध्ययन गरी खोजी हुँदा भेटिन सकेका थिएनन् ।
पक्राउ कार्यमा खटिएका एक प्रहरीका अनुसार नयाँबजार, म्हेपीस्थित घरबाट लुगाफाटो लिएर जाने व्यक्तिको दुई दिनदेखि रेकी (निगरानी) गरिँदा उनी कम्फोर्ट हाउजिङमा लुकेको कुरा पत्ता लगेको हो ।
‘हामीले सोमबार राति नै लोकेशन अपडेट गरेका थियौँ, बिहान पुग्दा त्यहीँ भेटियो’, ती प्रहरीले बताए ।
तर, प्रहरी टोली पाँच मिनेट ढिलो भएको भए उनी त्यहाँ नभेटिने स्थिति थियो । ‘ब्रेकफास्ट पनि आधाभन्दा बढी खाइसकेका थिए, खाए लगत्तै अन्यत्र जानका लागि एउटा मोटरसाइकल पनि तयार पारिसकेका थिए’, ती प्रहरीले बताए ।
कम्फोर्ट हाउजिङमा फ्ल्याट भाडामा लिई बस्ने एक महिलाको घरमा मनाङेले तीनदिनदेखि आश्रय लिएका थिए । आश्रयदाता महिला मनाङेकी पुरानो साथी भएको प्रहरीले बताए ।
निर्दोष नफसुन, दोषी नउम्किउनु । प्रहरीको ड्यूटी पनि कदा रहेछ ।