दीपक मनाङेलाई अदालत लगियो, केहीबेरमा जेल चलान गरिने (भिडियो)
काठमाडौं । सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा दोषी ठहरिएका गण्डकी प्रदेशका सांसद दीपक मनाङे उर्फ राजीव गुरुङलाई अदालतमा उपस्थित गराइएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सादा पोशाकको टोलीले मनाङेलाई बिहान स्वयम्भू, सानोभर्याङस्थित कम्फोर्ट हाउजिङबाट ब्रेकफास्ट खाँदै गर्दा पक्राउ गरेको थियो ।
पक्राउपछि उनलाई स्वास्थ्य जाँचका लागि अस्पताल लगिएको थियो ।
सादा पोशाकमा पुगेको प्रहरी टोलीले आफ्नो परिचय दिएपछि मनाङेले आफू आत्मसमर्पण गर्न जानै लागेको भन्दै उक्त मौका दिन अनुरोध गरे । तर, प्रहरीले अस्वीकार गरेपछि उनी पक्राउ परेका हुन् ।
२०६१ वैशाख ३१ गते काठमाडौंमा चक्रे मिलन भन्न मिलन गुरुङलाई धारिलो हतियार प्रहार गरी ज्यान मार्ने उद्योग गरेको मुद्दामा मनाङेलाई उच्च अदालत पाटनले ५ वर्ष कैद सजाय तोकेको थियो । उक्त फैसलालाई यही कात्तिक २० गते सर्वोच्च अदालतले सदर हुने ठहर गरेपछि प्रहरीले मनाङेलाई पक्राउ गरेको हो ।
अदालतमा आवश्यक प्रक्रिया पुर्याएर उनलाई आजै कारागार चलान गरिँदैछ ।