पूर्वमन्त्री अधिकारीलाई म्याद थपको तयारी – Nepal Press

पूर्वमन्त्री अधिकारीलाई म्याद थपको तयारी

विराटनगर । जापान काण्डमा मुछिएका कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीलाई हिरासतमा राखी अनुसन्धान गर्नका लागि म्याद थप गर्ने अदालत लाने तयारी भएको छ ।

आइतबार विराटनगर स्थित बरगाक्षीमा रहेको डेराबाट पक्राउ परेका अधिकारीलाई सोही दिन अदालतले हिरासतमा राखी अनुसन्धान गर्न २ दिनको समय दिएको थियो । सो समयमा अनुसन्धान नसकिएकाले थप म्याद थप गर्न अदालत लैजान लागिएको जिल्ला प्रहरी परिसर काठामाडौंले जनाएको छ ।

परिसरका प्रहरी उपरीक्षक एसपी नवराज अधिकारीले अदालतले दिएको समयमा अनुसन्धान नसकिएकाले म्याद थपको अनुमतिका लागि अदालत लैजाने तयारी भएको बताए । उनले भने, ‘अहिले नै हामी यसै हो भन्न सक्ने अवस्थामा छैनौ । अनुसन्धान भइरहेको छ ।

जापानमा भएको कार्यक्रममा सहभागी पूर्व मन्त्री अधिकारी जाँदा अरू पनि जापान पुगेपछि उनी विवादमा तानिएका थिए । उनले आफूलाई जापान लैजाने समूहले नै अरूलाई पनि नक्कली कागजात बनाएर आफूसँगे जापान पठाउन खोजेको र आफूले थाहा पाएपछि नेपाल फर्र्कीको दाबी गर्दै आएका छन् । उनीसँगै पुगेका अन्य तीन जना सहित उनलाई कार्यक्रममा सहभागी हुनै नदिई जापान अध्यागमनले नेपाल फर्काएको थियो ।

उनी नेपाल फर्किएसँगै उनीसँग जापान पुगेका तीन जना पक्राउ परेका थिए । उनीसँगै जापान पुगेका र फर्किएपछि प्रहरीद्धरा पक्राउ परेका खोटाङका दावा शेर्पा, जनक राई र रसुवाका कञ्चन देवकोटाका विषयमा पनि अनुसन्धान भइरहेको एसपी अधिकारीले बताए ।

उनीहरू पक्राउ परेसँगै पूर्व मन्त्री अधिकारीलाई जापान पठाउने काममा संलग्न तीन जना पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखा जिरी नगरपालिका–९ का वीरबहादुर सुनुवार, नुवाकोट विदुर नगरपालिका– ७ का २२ वर्षीय जुगल रिजाल र धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका– ६ का ३४ वर्षीय महेशविक्रम पाण्डे रहेका छन् ।

उनीहरूका विरुद्ध भने सरकारी कागजात किर्ते र मानव बेचबिखनको कसुरमा अनुसन्धान भइरहेको छ । घटनामा पूर्व मन्त्रीको संलग्नता भए नभएको विषयमा अनुसन्धान भइरहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *