नेकपा एसका केन्द्रीय सदस्य शाही एमालेमा प्रवेश, महाबु गाउँपालिकाको उपचुनावमा उलटफेर – Nepal Press

नेकपा एसका केन्द्रीय सदस्य शाही एमालेमा प्रवेश, महाबु गाउँपालिकाको उपचुनावमा उलटफेर

सुर्खेत । पार्टीको कर्णाली प्रदेश अधिवेशन चलिरहेका बेला नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य जंगबहादुर शाही नेकपा एमालेमा प्रवेश गरेका छन् ।

दैलेख जिल्लाका प्रभावशाली नेता शाही उपनिर्वाचनको मुखैमा एमाले प्रवेश गरेका हुन् । दैलेखको महावु गाउँपालिका अध्यक्ष पदमा उपनिर्वाचन हुँदैछ । २०७४ मा सोही गाउँपालिका अध्यक्ष जितेका शाही नेकपा एसमा लागेपछि २०७९ को चुनावमा एमाले हारेको थियो ।

मंगलबार कर्णालीका मुख्यमन्त्री एवम् एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेलले उनलाई पार्टीमा भित्र्याएका छन् । अध्यक्ष शाही यसअघि समाजवादीको जिल्ला अध्यक्षसमेत भइसकेका नेता हुन् ।

नेकपा एसका प्रदेश अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य अम्मरबहादुर थापाका निकटस्थ मानिने केन्द्रीय सदस्य शाहीको एमाले प्रवेशले दैलेखमा खैलाबैला मच्चिएको छ । शाही गत स्थानीय तह निर्वाचनमा पुनः नेकपा एसबाट अध्यक्ष उम्मेदवार बनेर २,२६८ मत पाएका थिए ।

एमालेका हरिप्रसाद उपाध्यायले २,५०० मत पाउँदा कांग्रेसका लछुमान गुरुङ २,९०० मतका साथ विजयी भएका थिए । गुरुङको निधनपछि यहाँ मंसिर १६ मा उपचुनाव हुँदैछ । शाहीसँगै नेकपा एसका कार्यकर्ताहरु एमाले प्रवेशले महाबुको उपचुनावमा उलटफेर हुने देखिएको छ ।

एमालेको दैलेख सचिव छाडेर नेकपा एसमा लागेका शाहीलाई फेरि महाबुको अध्यक्षको उम्मेदवार बनाउने तयारी भएको बताइएको छ ।

यसअघि गत कात्तिक २४ गते बसेको एमाले सचिवालय बैठकले ३३ ठाउँका उम्मेदवार तय गरे पनि शाहीलाई भित्र्याउने तयारीस्वरूप महाबुको भने टुंग्याउन बाँकी राखेको थियो । अब शाहीलाई उम्मेदवार बनाउने एमाले स्रोतले जनाएको छ ।


प्रतिक्रिया

One thought on “नेकपा एसका केन्द्रीय सदस्य शाही एमालेमा प्रवेश, महाबु गाउँपालिकाको उपचुनावमा उलटफेर

  1. ब्यक्ति केन्द्रित राजनिती बहुदलीय ब्यबस्था बिराेधी कृयाकलाप हाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर