सांसद बजगाईंलाई मन्त्री पाण्डेको जवाफ- स्वार्थ समूहको बिचौलियासँग सम्झौता गर्दिनँ
‘करोड होइन, कौडी खाएको पुष्टि गरे पशुपतिनाथको ढोकामा आएर आत्महत्या गर्ने प्रतिज्ञा गरेर राजनीतिमा आएको हुँ’
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आफूले स्वार्थ समूहहरूसँग कुनै पनि खालको सम्झौता नगर्ने बताएका छन् ।
मन्त्री पाण्डेमाथि कांग्रेसकै प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाईंले करोड रकम लिएर क्यासिनोको लाइसेन्स बाँडेको आरोप लगाएपछि काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले स्वार्थ समूहहरूकै कारण आफूमाथि पनि करोडौं घुस खाएको अफवाह फैलाएको दाबी गरे ।
आफूले निष्ठाको राजनीति गरिरहेको भन्दै उनले आफूलाई मानमर्दन गराउने गरी घुस खाएको आरोप लगाउनेहरूसँग प्रतिवाद गर्ने बताए ।
उनले भने, ‘पहिले राजनीतिक व्यक्तिहरू शक्तिशाली हुनुहुन्थ्यो, अहिले स्वार्थ समूहहरू शक्तिशाली भएको मैले देखिराखेको छु । स्वार्थ समूहका मतियारहरू, बिचौलियाहरू बलिया भएको देखिरहेको छु । मैले ३–४ महिनाको यो कामको अनुभवमा निष्ठापूर्वक काम गरिरहँदा केही स्वार्थ समूहका मतियारहरूले मलाई मानमर्दन गर्नेगरी, मेरो मनोबल र आत्मविश्वासलाई गिराउने गरी केही प्रचारबाजी गरेको देखेको छु ।’
उनले आफूले कुनै नाममा घुस नखाएको भन्दै पशुपतिनाथको अगाडि उभिएर कसम खानसक्ने बताए ।
उनले थपे, ‘घुस खाएको देख्नुपर्यो भने मेरो त्यही बेला नाश होस् भन्ने त्यो संकल्प म यो राष्ट्रदेव पशुपतिनाथको अगाडि उभिएर गर्नसक्छु । त्यो आत्मविश्वासका साथ म राजनीतिमा आएको छु । करोड खाएको कुरा केही अनलाइनहरूलाई प्रयोग गरेर केही बिचौलियाका मतियारहरूले प्रचार गरेका छन् । करोड होइन, कौडी खाएको दिन म पशुपतिनाथको ढोकामा आएर आत्महत्या गर्न, त्यो आत्मविश्वास र प्रतिज्ञासँग राजनीतिमा आएको मानिस हुँ ।’
स्वार्थ समूहको मतियारहरूसँग, बिचौलियासँग कदापि सम्झौता नगर्ने भन्दै मन्त्री पाण्डेले देशको हितको निम्ति जस्तोसुकै कठोर कदम चाल्न तयार रहेको बताए ।
याे पनि पढ्नुस्: पर्यटन मन्त्रीले करोड घुस लिएर क्यासिनो लाइसेन्स दिएको कांग्रेस सांसद बजगाईँको दाबी