यू-१९ महिला विश्वकप छनोट : ५ खेलमा ४ प्रभावशाली जित, तर नेपालको विश्वकप यात्रा अनिश्चित – Nepal Press

यू-१९ महिला विश्वकप छनोट : ५ खेलमा ४ प्रभावशाली जित, तर नेपालको विश्वकप यात्रा अनिश्चित

नेपालले भोलि यूएईविरुद्ध फराकिलो जित हात पारेमात्र विश्वकपमा स्थान बनाउन सक्ने

काठमाडौं । नेपाली यू-१९ महिला टीमले विश्वकप छनोटको पाँचौं खेलमा आज कुवेतलाई १६५ रनको विशाल अन्तरले हरायो । नेपालले खेलेका ५ खेलमध्ये यो चौथो जित थियो ।

यस प्रतियोगितामा नेपाल, यूएई, कुवेत र थाइल्यान्ड सहभागी छन् । राउन्ड रोबिनका आधारमा प्रत्येक टीमले एक-अर्कासँग दुई पटक खेल्छन् । एउटामात्रै टीम यू-१९ महिला विश्वकपका लागि छनोट हुन्छ । त्यसैले उत्कृष्ट प्रदर्शनका बावजुद पनि नेपालको विश्वकप यात्रा कठिन छ ।

प्रतियोगितामा नेपालले कुवेत र थाइल्यान्डमाथि दुई-दुई पटक प्रभावशाली जित निकालेको छ, तर घरेलु टीम यूएईविरुद्धको खेलमा दुर्भाग्यपूर्ण पराजय व्यहोर्‍यो । यो हार नेपालको लागि महँगो बन्नसक्छ ।

चार खेलमा चार जित निकालेको यूएई अहिले अंकतालिकाको शीर्षस्थानमा छ । दोस्रोमा छ नेपाल । विश्वकपमा छनोट हुनका लागि नेपालले यूएईलाई पन्छाउनैपर्छ । नेपालले भोलि यूएईविरुद्ध खेल्ने अन्तिम म्याच फाइनल बराबर हो ।

नेपालले पहिलो खेलमा थाइल्यान्डलाई ६७ रनले र दोस्रो खेलमा कुवेतलाई १२२ रनले माथ दिएको थियो, तर तेस्रो खेलमा नेपाल यूएईसँग १३ रनले पछि पर्‍यो । चौथो खेलमा हिजो नेपालले फेरि थाइल्यान्डलाई १०६ रनले हरायो । आज पाँचौं खेलमा कुवेतविरुद्ध १६५ रनको कीर्तिमानी जित निकाल्न सफल भयो ।

आजै भएको अर्को खेलमा यूएईले थाइल्यान्डलाई ९ विकेटले हरायो । यससँगै यूएईले शत प्रतिशत जितका साथ ५ खेलबाट १० अंक बटुलिसकेको छ । नेपालको ८ अंक छ ।

नेपाल र यूएईबीच भोलि हुने अन्तिम म्याचले विजेता टीम र विश्वकपमा पुग्ने टोलीको निधो हुनेछ । यूएईसँग हारे नेपालको विश्वकप ढोका बन्द हुन्छ । यूएईलाई नेपालले जित्नैपर्छ, तर जितेरमात्र पर्याप्त हुँदैन । नेपाल रनरेटमा यूएईभन्दा अगाडि हुनुपर्छ ।

नेपाल र यूएई रनरेटमा ‘नेक टु नेक’ छन् । यूएई सानो मार्जिनले अगाडि छ । यूएईको रनरेट ४.७१ र नेपालको ४.३५ रहेको छ । नेपालले यूएईलाई हराएमा अंक बराबरी हुन्छ र रनरेटबाट विजेताको टुंगो लाग्नेछ । यू-१९ महिला विश्वकप अर्को वर्ष मलेसियामा हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर