सिभिल सहकारीका १६ सय पीडितले फिर्ता मागे सात अर्ब बचत
काठमाडौं । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरेको सिभिल सहकारीका एक हजार ६०० पीडितले करिब सात अर्ब रुपैयाँ बचत फिर्ता मागेका छन् ।
बागमती प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सिभिल सहकारी पीडितका लागि माग दाबीको निवेदन दिन जारी गरेको ३५ दिने सूचना सोमबार सकिएको थियो । सोमबारसम्म एक हजार ६०० पीडितले सात अर्ब रुपैयाँ दाबी गरेको समितिका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता प्रभात अधिकारीले जानकारी दिए ।
सिभिल सहकारीलाई बागमती प्रदेश सरकारले २०८० भदौ २१ गते समस्याग्रस्त घोषणा गरेको थियो । प्रदेश सहकारी ऐन २०७६ अनुसार सिभिललाई समस्याग्रस्त घोषणा गरिएको थियो ।
सिभिललाई समस्याग्रस्त घोषणा गरेपछि प्रदेश सरकारले २०८० पुस २२ गते समिति गठन गरेको थियो । समितिमा हाल अध्यक्षसहित तीन सदस्य छन् । बाँकी तीन सदस्य भने पदपूर्ति हुन बाँकी रहेको जनाइएको छ ।
सहकारीका अध्यक्ष इच्छाराज तामाङ अहिले पनि जेलमा छन् । तामाङले सहकारीबाट सात अर्ब ऋण लिएको कागजातबाट देखिएको अध्यक्ष अधिकारीले बताए । समितिले अनामनगरमा कार्यालय खोली गत असारदेखि काम सुरु गरेको छ ।
बागमती प्रदेश सरकारले यही कात्तिक ११ गते कीर्तिपुरको दर्शन सहकारीलाई पनि समस्याग्रस्त घोषणा गरेको छ ।