राजनीति स्थायित्व हुने हो भने देश निर्माण गर्न समय लाग्दैन : महासचिव पोखरेल – Nepal Press

राजनीति स्थायित्व हुने हो भने देश निर्माण गर्न समय लाग्दैन : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीति स्थायित्व हुने हो भने देश निर्माणको लागि धेरै समय नलाग्ने बताएका छन् ।

विराटनगरमा मंगलबार नेकपा एमाले संगठन कमिटी मोरङकोद्वारा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै पोखरेलले देश विकासको लागि राजनीतिक स्थायित्व आवश्यक पर्ने बताए ।

पोखरेलले अन्य देशले गरेको विकासलाई हेरेर नेपालका राजनीतिक दललाई गाली गर्ने भन्दा पनि नेपाली मौलिकताको विकास मोडल अघि बढाउनु पर्नेमा जोड दिए ।

नेपालको विकास तेल बेचेर धनी भएका अरबियन मुलुक जस्तो सोचेर नहुने उनको धारणा छ । नेपालको विकास रातारात हुने खालको विकास नभएको उनले बताए । नेपालको विकास सरकारले एक्लै गर्न नसक्ने उनले प्रष्ट पारे ।

‘नेपालको विकासको ढाँचा जनतालाई साथमा लिएर विकास गर्ने ढाँचा हो’, उनले भने ।

नेकपा एमाले देशमा स्थायित्व र स्थिरताको लागि लडिरहेको पार्टी भएको उनले दाबी गरे । त्यसैले अहिले एमाले र एमालेको नेतृत्व माथि प्रहार भइरहेको उनले बताए ।

एमालेसँग भएको विशाल कार्यकर्ताको समूह चुनाव जित्नको लागि मात्र होइन समाज बदल्न सक्ने सामर्थ्य राख्ने शक्ति भएको उनले बताए । एमालेको लक्ष चुनाव जित्ने मात्र नभएर समाज परिवर्तनको भएको पनि उनले स्पष्ट पारे ।

कमजोरहरूले शासन गर्न थालेपछि सरकार प्रति जनताको विश्वास नरहेको उनले बताए । त्यसैले देश ओरालो गतिमा लागेको पोखरेलको भनाइ छ । ‘स्वाभाविक रूपमा मुलुक संकटमा पर्नुको कारण त्यही हो’, पोखरेलले भने ।

पोखरेलले एमाले सिद्ध्याउन धेरै शक्ति लागेका भए पनि उनीहरू सफल नभएको बताए । अहिले एमाले सिद्ध्याउन खोज्नेहरूको मन पोलेको उनले टिप्पणी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर