राजेन्द्र बजगाईँविरुद्ध कानूनी लडाइँ लड्ने पर्यटनमन्त्री पाण्डेको चेतावनी (भिडिओ)
मन्त्री बद्री पाण्डे भन्छन्- सरकार र पार्टीले छानबिन गरोस्, दोषी देखिए पद त्याग्छु
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले आफ्नो इमान र निष्ठामाथि धावा बोल्ने काम भएको भन्दै कानूनी लडाइँ लड्ने बताएका छन् ।
नेपाली कांग्रेसका सहमहामन्त्रीसमेत रहेका पर्यटनमन्त्री पाण्डेमाथि कांग्रेसकै सांसद राजेन्द्र बजगाइँले करोडौं घुस लिएर क्यासिनो सञ्चालनको लाइसेन्स दिएको आरोप लगाएका थिए ।
सोहीबारेमा स्पष्टीकरण दिँदै मन्त्री पाण्डेले केही मानिसहरूले पर्यटन क्षेत्रबाट नाजायज लाभ लिनका लागि आफूमाथि आरोप लगाएको जिकिर गरे । इमान, निष्ठा, इज्जत र प्रतिष्ठा नभएकाहरूले आफ्नो इमान्दार प्रयासलाई मान मर्दन गर्नेगरी मनोबल गिराउन आरोप लगाएको उनको भनाइ छ । पर्यटन क्षेत्रलाई फेरि हिलो पानीमा माछा मार्ने क्षेत्रकै रुपमा राखिराख्न र त्यसमा आफू सफल हुन तथा नाजायज फाइदा लिन यस किसिको आरोप लगाइएको पाण्डेले दाबी गरे ।
यसबारेमा आफूले सरकार, पार्टीलाई पनि जानकारी गराउने र कानूनी लडाइँ लड्ने उनको भनाइ छ ।
यो पनि पढ्नुहोस्- पर्यटन मन्त्रीले करोड घुस लिएर क्यासिनो लाइसेन्स दिएको कांग्रेस सांसद बजगाईँको दाबी
मन्त्री पाण्डेको भनाइ जस्ताको तस्तै
केही मानिसहरु जो पर्यटन क्षेत्रबाट नाजायज लाभ लिन खोजिरहेका मानिसहरु, नाजायज लाभबाट आफ्नो व्यक्तत्व विकास गर्न खोजिरहेका मानिसहरु, जसको इमान र निष्ठा छैन, जसको इज्जत र प्रतिष्ठा छैन, ती मानिसहरुले मेरो यो सतप्रयासलाई, मेरो इमान्दार प्रयासलाई, मेरो निष्ठावान प्रयासलाई मान मर्दन गर्नेगरी मेरो मनोबल गिराएर यो क्षेत्रलाई फेरि हिलो पानीमा माछा मार्ने क्षेत्रकै रुपमा राखिराख्न र त्यसमा आफू सफल हुन, त्यसमा आफूले नाजायज फाइदा लिन, त्यसभित्र आफ्नो खेलो फड्कोलाई बलियो बनाउन त्यो प्रवृत्ति अगाडि आएको हो भन्ने आभाष भएको छ ।
त्यसकारण मेरो अगाडिको यात्रा मेरो पार्टीलाई पनि भन्छु, सरकारलाई पनि भन्छु, मैले मेरो आफ्नो नैतिक बलका आधारमा म कानूनी लडाईं पनि लड्छु । नैतिक लडाइँ पनि लड्छु । इमान्दार मान्छेहरुले नैतिकताको बाटोबाटै संघर्ष गर्न सक्छन्, लड्न सक्छन्, प्रतिवाद गर्न सक्छन् । अन्तिम जित सत्यको हुन्छ । इमान र निष्ठाको जित हुन्छ भन्नेकुरा स्थापित गर्न चाहन्छु । मलाई चिन्नेले चिन्नु नै भएको छ, नचिन्नेहरुले पनि चिन्ने कोशिस गर्नुस् । सरकार र पार्टीलाई मैले केही गरेँ की भन्ने लाग्छ भने सरकार र पार्टीले ममाथि गहिरो गरी छानबिन गरोस् । मबाट कुनैपनि खालको कमजोरी जानेर/नजानेर त्यो प्रकारको कमजोरी भएको छ भनेदेखि जुनसुकै बेला म सरकारको स्वच्छताका लागि सरकारबाट बाहिरिने, पार्टीको स्वच्छता र पार्टीको आदर्शका लागि पार्टीबाट बाहिरिन पनि हर्दम जुनसुकै बखत पनि तयार छु ।
म नेपाली कांग्रेस पार्टीकै पदाधिकारी, सहमहामन्त्री पनि हुँ । मन्त्रीपरिषद्मा छु । पार्टीबाट निर्वाचित एकजना सांसदले त्यो तहमा ओर्लिएर टिप्पणी गर्ने कुराबाट म आश्चर्यचकित भएको छु । इमान र निष्ठा जुन मेरो मुल पुँजी हो, त्यसमाथि धावा बोल्ने कुराले मेरो भावनामाथि गम्भीर चोट पुगेको छ । यसका निम्ति मैले के गर्नुपर्छ ? मैले साँच्ची नै गल्ती, कमी, कमजोरी गरेको छु भने मन्त्री मात्रै होइन, पार्टीको सहमहामन्त्री र सांसदको रुपमा नेपाली काँग्रेस जस्तो गौरवशाली पार्टीको सदस्यको रुपमा म बस्न मिल्दैन । त्यसमा म स्पष्ट छु । त्यतिमात्रै होइन, गठबन्धन सरकार एउटा प्रतिवद्धताकासाथ, एउटा कमिटमेण्टका साथ सरकारमा छ । सम्माननीय प्रधानमन्त्री लगायत मन्त्रीपरिषद्को एउटा संकल्प छ, हामी सुशासन स्थापित गरौँ, राजनीतिक स्थिरता दिऔँ, देशलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाऔँ भन्ने सरकारको र सम्माननीय प्रधानमन्त्रीज्युको हामी सबैको कमिटमेण्ट छ । यदी उहाँले भनेजस्तो सत्य हो भने त्यो कमिटमेण्टलाई धब्बा लाग्नेगरी, त्यो कमिटमेण्ट कमजोर हुनेगरी मैले मन्त्रीमा रही रहन मिल्दैन । पार्टीको ठाउँबाट पार्टीको सदस्य रही रहन पनि मिल्दैन, सरकारको ठाउँबाट मन्त्री रही रहन पनि मिल्दैन । त्यसैले मैले सरकारको प्रधानमन्त्री र मन्त्रीपरिषद्लाई पनि भन्नुपर्नेछ, मेरो पार्टीलाई पनि भन्नुपर्नेछ, मबाट यदी कुनै किञ्चित गल्ती कमजोरी भएको छ भने मलाई यहाँ बस्ने छुट छैन । पार्टीले र सरकारले मलाई निकाल्नु पर्दैन, म आफैँ यहाँबाट निस्किन जुनसुकै बेलामा कुनै प्रकारको पदकाप्रति आशक्ति नराखिकन तम्तयार छु ।
राजेन्द्र वजगाईले बद्री पाण्डे जस्ता निष्ठावान नेतालाई दाेष लगाउनु सर्वथा बेकार, भ्रामक र कपाेलकल्पित हाे । निष्पक्ष छानविन हुदा यदि दाेषी देखिएमा सवै भुमिका त्याग्छु भन्ने बद्री पाण्डे काे सार्वजनिक अभिव्यक्ति काफी छ । पाण्डे सच्चा नेता हुन भने वजगाई व्यापारी …. आकाशपातालकाे फरक छ ।