रूपन्देही सुपरलिगः बुटवल–११ लाई सफलता
रुपन्देही । रुपन्देहीको भैरहवामा जारी ‘रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता’ अन्तर्गत डिभिजन ‘बी’को बुधबारको खेलमा बुटवल–११ क्रिकेट क्लबले सफलता हात पारेको छ । उसले साई ग्लोबल एकेडेमीमाथि ६ विकेटको जित निकालेको हो ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको साई ग्लोबलले मौसमका कारण ३३ ओभरमा छोट्याइएको खेलमा ३० ओभर १ बल खेल्दै ८४ रनमै आलआउट भयो ।
उसका लागि अभिषेक सुनारले १८, अजय चाईले १३, प्रयाश गैरेले ११ र आह्वान घिमिरेले १० रन बनाए पनि अन्य ब्याटरले दोहोर अंकमा रन बटुल्न सकेनन् र टिम सस्तैमा समेटियो । बलिङमा उसलाई न्युन स्कोरमा रोक्न बुटवल–११ का विभेष खातीले ३, एजाज अहम्मद र विशाल भुसालले २–२ तथा सुदन श्रेष्ठ, रामकुमार कसौधन र प्रमिश अर्यालले समान १–१ विकेट हात पारे ।
जवाफी ब्याटिङ गरेको बुटवल–११ ले २० ओभरमा ४ विकेटको नोक्सानीमा ८६ रन बनाउँदै जित निकाल्यो । उसको जितमा विशाल भुसालले ३०, प्रमिश अर्यालले २० र मनिष न्यौपानेले १३ रनको योगदान दिए । बलिङमा साई ग्लोबलका पंकज मिश्रा, पिन्टु साहनी, मोहम्मद मोइन र आह्वान घिमिरेले १–१ विकेट लिए । खेलमा बुटवल–११ का विशाल भुसाल प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।
रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरजप्रताप खाँणले जानकारी दिए ।
सुपरलिगमा रुपन्देहीका ‘ए’ डिभिजनका ८ र ‘बी’ डिभिजनका १२ गरी २० टिम सहभागी छन् । यसपटक नेपाल सुपरलिगका कारण दुईचरणमा सुपरलिग हुनेछ । पहिलो चरणमा मंसिर १२ गतेसम्म ‘बी’ डिभिजनका खेलहरु हुनेछन् भने ‘ए’ डिभिजनका खेलहरु नेपाल सुपरलिग पछि आयोजना हुनेछ ।