बैंकमा पैसा थुप्रियो, व्यवसायीले लगेनन् निराशा हटाउने अभियानमा सरकार लागेको छ : उद्योगमन्त्री भण्डारी – Nepal Press

बैंकमा पैसा थुप्रियो, व्यवसायीले लगेनन् निराशा हटाउने अभियानमा सरकार लागेको छ : उद्योगमन्त्री भण्डारी

रुपन्देही । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बैंकहरुमा बढ्दो रकम संकलन र उद्योग व्यवसायमा घट्दै गएको लगानीलाई ध्यानमा राखेर सरकारले सबै सरोकारवाला पक्षसँग बसेर निकास खोज्ने बताएका छन् । निजी क्षेत्रसँगको समन्वय र सहकार्यमै सरकार अघि बढ्ने सरकारको प्रष्ट नीति भएको बताउँदै मन्त्री भण्डारीले यो विषयमा तत्काल समाधान निकाल्नगरी योजना बनाएको बताए ।

रुपन्देही व्यापार संघको रजत महोत्सव कार्यक्रमलाई बुधबार बुटवलमा सम्बोधन गर्दै मन्त्री भण्डारीले लगानीको वातावरण बनाउने योजनामा सरकारका सबै युनिट क्रियाशील भइरहेको बताएका हुन् ।

‘अहिले बैंकहरुमा रकम थुप्रिएको छ, तर उद्योगीव्यवसायी लगानी नभएर निराश छन्, आखिर समस्या कहाँ र के ? यो विषयमा सरकारको गम्भीर चासोका साथ दुवै पक्षलाई सँगै राखेर छलफल गरी निकास खोज्ने तयारीमा छ’, उनले भने ।

उनले अहिलेको जटिलता हटाउन सबैको समन्वय जरुरी रहेको बताउँदै नेपाली उत्पादनलाई ब्राण्डिङ गर्न र आयातित वस्तु कम बेच्ने योजनामा व्यवसायीहरु लाग्नुपर्ने बताए ।

‘निराशाका विषय मात्रै ल्याएर सबै बिग्रियो भन्ने सन्देशले होइन सकारात्मक सन्देश दिने काममा हातेमालो गरौं’, उनले भने, ‘निजी क्षेत्रको पूँजी र बैंकमा भएको पूँजी परिचालन गरेपछि अहिलेको समस्या केही समाधान हुनेछ ।’

उनले स्वदेशी उत्पादन प्रवद्र्धन सरकारको मुख्य उद्देश्य भएकाले अहिले यहाँ उत्पादन भएका ६० वटा वस्तु ब्राण्डिङ र सरकारी कार्यालयमा स्वदेशी उत्पादन अनिवार्य प्रयोगको नीतिलाई कार्यान्वयनमा लैजाने तयारीमा सरकार रहेको बताए ।

उनले यहाँबाट रोजगार नपाएर बाहिर गएको मात्रै विषय नहेरी यहाँ काम गर्न बाहिरबाट आएकाको संख्या पनि हेरेर विश्लेषण गर्दै हरेक क्षेत्रबाट अनिवार्य उत्पादनमा लगानी गर्न प्रोत्सान गर्ने काममा हातेमालो गर्न आग्रह गरे ।

मन्त्री भण्डारीले निजी क्षेत्रलाई उत्पादन क्षेत्रमा लगानीका लागि आह्वान गरेका छन् । लगानीका क्षेत्र र सम्भावनाहरु प्रशस्त हुँदाहुँदै पनि बैंकमा पैसा जम्मा गरेर राख्ने प्रवृत्ति हाबी भएको बताउँदै उनले पूँजीलाई उत्पादनको क्षेत्रमा लगानी गर्न आग्रह गरे ।

नेपालका ठूला उद्योगीहरुनै निजी बैंकको सञ्चालक रहेको बताउँदै उनले राष्ट्र बैंकमा पैसा थुपारेर ब्याज उठाउने प्रवृत्ति बिकास हुँदै गएकोप्रति दुःख व्यक्त गरे । सरकारले लगानीमैत्री वातावरण निर्माणका लागि आवश्यक नीति परिवर्तन गर्ने प्रयासमा रहेको बताउँदै उनले उत्पादनका क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई आह्वान गरे ।

वर्तमान सरकारले अघिल्लो सरकारले ल्याएका नीति, कार्यक्रम तथा बजेटलाई नै कार्यान्वयन गरिरहेका कारण धेरै कुराहरु असहमति र सुधार गर्नुपर्ने आश्यकता समेत रहेको उल्लेख गरे । नीतिगत रुपमै सुधारका लागि संविधान संसोधनसम्मको एजेण्डा लिएर वर्तमान सरकार निर्माण भएको उनले उल्लेख गरे ।

यसैगरी रुपन्देहीमा खुला भारतीय सीमानाकाबाट हुने गतिविधिका बारेमा सरकारले गम्भिर रुपमा लिएको बताउँदै आफ्नो मन्त्रालयले चाडैनै आवश्यक निर्णय लिएर कार्यान्वयन गर्ने बताएका छन् । सरकारले सामान्य ऐन संशोधन गरेपछि भैरहवाको विशेष औद्योगिक क्षेत्र सेजमा समेत उद्योगीहरुको आकर्षण बढ्दै गएको बताउँदै उनले थप सुधारका लागि सरकार लागिरहेको उल्लेख गरे ।

मोतीपुर औद्योगिक क्षेत्रसहित सरकारले घोषणा गरेका औद्योगिक क्षेत्रहरुको सञ्चालन गरिने उनले बताए । शिलान्यासको समयमा ढुङ्गा–मुढा गरेर मोतिपुर औद्योगिक क्षेत्रको निर्माणमा भएका अवरोधबारे स्मरण गर्दै उनले अब विवाद नरहेको क्षेत्रबाट सञ्चालनको कार्यलाई अघि बढाइने बताए ।

यसैगरी लामो समयदेखि विवादित बन्दै आएको ट्रंक लाइन र डेडिकेटेड लाइनका बारेमा छानविन गर्न बनेको लाल आयोगको प्रतिवेदन प्रत्येक जनताले हेर्न पाउने गरी सरकारले सार्वजनिक गरेको बताउँदै उनले अब छिट्टै समस्याको समाधान हुने विश्वास व्यक्त गरे ।

विभिन्न बहानामा औद्योगिक क्षेत्र तथा निजी क्षेत्रमाथि भएका प्रहारका बारेमा सरकार गम्भिर रहेको बताउँदै उनले लगानी मैत्री वातावरण बनाउने पक्षमा सरकार रहेको उल्लेख गरे । मुलुकको आर्थिक बिकासका लागि सरकार निजीक्षेत्रसँग अघि बढ्ने प्रतिवद्धता गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर