माओवादीमा फेरि सक्रिय हुँदै पूर्वउपराष्ट्रपति पुन, प्रचण्डसँग मागे जिम्मेवारी
काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ सक्रिय राजनीतिमा फर्किने भएका छन् । नेकपा माओवादी केन्द्रको सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकमा सहभागी भएका उनले पार्टीमा आफ्नो जिम्मेवारीबारे सोधेका हुन् ।
माओवादीका सचिव दिनानाथ शर्मा पार्टीले बोलाएपछि पुनः बैठकमा सहभागी भएको बताए ।
उनले भने, ‘हामीले बोलाएर आउनुभएको थियो । अहिले राज्यको तर्फबाट तपाईंहरुले सेवासुविधा लिइराख्नुभएको छ कि छैन के छ अवस्था भनेको हामीले बुझ्यौं । पूूर्वराष्ट्रपति रामवरण यादवलाई व्यक्तिलाई नै दिने निर्णय गरेको थियो । अहिले हामीले केही सेवासुविधा लिएको छैन भन्ने जानकारी गराउनुभयो ।’
बैठकमा पार्टीको तर्फबाट उपराष्ट्रपति भएपछि अहिले पार्टीसँग कुनै सम्बन्ध नभए पनि अबको यात्राबारे छलफल भएको सचिव शर्माले बताए । बैठकमा पूर्वउपराष्ट्रपति पुनले आफूले राज्यको तर्फबाट कुनै सुविधा नलिएको जानकारी गराएको उनले बताए ।
उनले थपे, ‘उहाँले म पार्टीको मान्छे हो, अब म कता बस्ने मेरो जिम्मेवारी के हुन्छ भन्ने प्रश्न गर्नुभएको थियो । त्यो विषयमा हामीले नीतिगत निर्णय गरेर खबर गर्छौं भनेका छौं ।’
पुनले सक्रिय राजनीतिमा फर्किने इच्छा व्यक्त गरे पनि पार्टीले अन्तराष्ट्रिय परम्परा हेरेर निर्णय लिने भएको छ । राज्यको सेवासुविधा नलिएको भएपछि इच्छाअनुसार राजनीतिमा आउँदा समस्या नपर्ने उनको भनाइ छ ।
सचिव शर्माले थपे, ‘उहाँले पार्टीको जिम्मेवार मान्छे थिएँ, पार्टीले पठाएर गएको हो, उपराष्ट्रपति भएपछि सक्रिय राजनीतिमा आउने नआउने भन्न कुरा उहाँको कुरा हो । राज्यको तर्फबाट कुनै सेवा सुविधा नलिएको भए पछि राजनीतिमा फर्किन चाहनुहुन्छ भनेर विचार गर्छौं हामीले भनेका छौं ।’
उनले यो विषयमा पुस २ गते बस्ने केन्द्रीय समितिको बैठकले निर्णय गर्ने बताए ।
त्यसो त उपराष्ट्रपति पुनमात्रै नभएर दुई पटक राष्ट्रपति भएकी विद्यादेवी भण्डारी पनि एमालेको सक्रिय राजनीतिमा फर्किने गृहकार्यमा छिन् । उनी पछिल्लो समय एमालेको कार्यक्रममा समेत उपस्थित हुन थालेकी छन् ।