अवैधरुपमा नेपाल प्रवेश गर्न खोज्ने बंगलादेशी नागरिक झापाबाट पक्राउ
झापा । सशस्त्र प्रहरी बल नेपालले बुधबार भारतबाट अवैध बाटो हुँदै नेपाल प्रवेश गर्दै गरेका बंगलादेशी नागरिकहरुलाई नियन्त्रणमा लिइ अध्यागमन कार्यालय काँकडभिट्टामा बुझाएको छ ।
सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट सतिघट्टाबाट खटिएको डिउटी टोलीले बंगलादेशी नागरिकहरुलाई नियन्त्रणमा लिएको हो ।
बुधबार अन्दाजी दिउँसो २ बजे झापा मेचीनगर नगरपालिका ७ गैरीगाउँ र भारततर्फ जिल्ला दार्जिलिङ्ग रानिगंज पञ्चायत २७ पानीट्याङ्की सीमा ईलाकास्थित सहायक सीमा स्तम्भ नं. ९०.३ नजिकै नियन्त्रणमा लिइएको थियो ।
बोर्डर आउट पोष्ट सतिघट्टाबाट सशस्त्र प्रहरी हबल्दार सत्य नारायण राजवंशीको कमाण्डमा खटिएको सीमा पिकेट डिउटीले भारतबाट सीमा ईलाकाको अबैध बाटो हुँदै नेपालतर्फ प्रबेश गर्दै गरेको अवस्थामा बंगलादेश घर बताउने अन्दाजी २२ वर्षीय अब्दुल रहमान र २५ वर्षीय रियाद हुसेनलाई सोधपुछ तथा चेकजाँच गर्दा निजहरुको साथबाट बंगलादेशी टाका १५ सय र २ थान मोबाईल फेला परेको थियो ।
कुनै पनि परिचय पत्र तथा नेपाल प्रबेश गर्ने अनुमति नभएको हुँदा निजहरुलाई नियन्त्रणमा लिई अध्यागमन कार्यालय काँकडभिट्टा झापामा बुझाएको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेटक्वाटर झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरिक्षक महेशराज बिष्टले जानकारी दिए ।