जलवायु परिवर्तनले पारेका असरमा विकसित देशलाई गम्भीर बनाउन महासचिव गुटेरेसलाई राष्ट्रपति पौडेलको आग्रह
अजरबैजान/बाकु । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनले पारेका असरमा विकसित देशलाई गम्भीर बनाउन संयुक्त राष्ट्रसंघका महासचिव एन्टेरियो गुटेरेसलाई आग्रह गरेका छन् ।
अजरबैजानमा जारी कोप २९ को साइडलाइन मिटिङका दौरान उनले जलवायु परिवर्तनबाट नेपालले भोग्नुपरेको असरको न्युनिकरणका लागि विकसित देशहरुबाट अनुदान उपलब्ध गराउन पनि आग्रह गरेका छन् । सोमवारदेखि अजरबैजानको बाकुमा जारी कोप २९ को सम्मेलन अन्र्तगत संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरेसले अल्पविकसित राष्ट्रहरूका राष्ट्र/सरकार प्रमुखहरूसँग आज यहाँ गर्नुभएको सामुहिक भेटघाट कार्यक्रममा राष्ट्रपति पौडेलले यस्तो आग्रह गरेका हुन् ।
राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार पोखरेलकाअनुसार राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको समस्या अहिले नेपालजस्ता मुलुकलाई परेको तर विकसित देशहरुलाई पनि यो समस्या आउँदैछ भनेर राष्ट्रसंघले सम्झाइदिनुपर्नेमा जोड़ दिएका छन् ।
राष्ट्रपति पौडेलले अल्पविकसित तथा विकासोन्मुख मुलुकहरूले उनीहरूको कुनै योगदान नै नभएको विकराल समस्या बनेको जलवायु परिवर्तनबाट बच्न विकसित देशहरूबाट उल्लेख्य सहयोग पाउन नसकेको बताए ।
उनले अल्पविकसित तथा विकासोन्मुख देशहरूलाई अनुकूलन तथा न्यूनीकरणका लागि यथेष्ट आर्थिक तथा अन्य सहयोग जुटाउन संयुक्त राष्ट्रसंघले अझ प्रयास गनुपर्नेमा जोड दिएका छन् । –कृष्णा पौडेल/न्युज एजेन्सी नेपाल