प्रकाश भुजेलले देखाएनन् लाइसेन्स, तर यातायातको रेकर्डमा भेटियो – Nepal Press

प्रकाश भुजेलले देखाएनन् लाइसेन्स, तर यातायातको रेकर्डमा भेटियो

काठमाडौं । एकजनाको ज्यान जाने गरी भएको सवारी दुर्घटनापछि आफैं प्रहरीमा उपस्थित भएका झाँक्री प्रकाश भुजेलले हालसम्म सवारी चालक अनुमतिपत्र (लाइसेन्स) पेश गर्न सकेका छैनन् । तर, यातायात कार्यालयमा लाइसेन्स लिएको रेकर्ड भेटिएको स्रोतले बतायो ।

‘उहाँले आत्मसमर्पण गर्नेबित्तिकै हामीले लाइसेन्स माग्यौं, तर यतिबेलासम्म पनि दिनुभएको छैन’, अनुसन्धानरत एक प्रहरीले बताए ।

भुजेलले खोज्दैछु, हेर्दैछु भन्दै आत्मसमर्पण गरेको २४ घण्टा पुग्न लाग्दासम्म पनि लाइसेन्स देखाउन नसकेपछि शंका उब्जिएको थियो । प्रहरी वृत्त बौद्धले उनको लाइसेन्सबारे यातायात व्यवस्था कार्यालयलाई पत्राचार गरेको छ । यातायात कार्यालय स्रोतले लाइसेन्सको रेकर्ड रहेको बतायो ।

प्रहरीका अनुसार झाँक्रीका विरुद्ध सवारी तथा यातायात व्यवस्था ऐन- २०४९ अन्तर्गत सवारी ज्यानको महलमा मुद्दा चल्छ । यदि उनको लाइसेन्स नभएमा ऐनको दफा १६१ को उपदफा २ अन्तर्गत मुद्दा दायर हुनेछ । त्यसअनुसार लापरबाहपूर्वक सवारी साधन चलाएको कसुरमा १० वर्षसम्मको कैद सजाय हुन्छ ।

यदि उनले लाइसेन्स दिएमा ऐनको दफा १६१ को उपदफा ३ बमोजिम सजाय हुन्छ । उक्त व्यवस्थाअनुसार चालकको नियन्त्रणभन्दा बाहिर गई सवारी साधन चलाएको कसुरमा एकवर्षसम्म कैद र जरिवानाको व्यवस्था छ ।

भुजेलले चलाएको गाडीले बुधबार शंखरापुर नगरपालिका वडा नम्बर ९ इन्द्रायणीमा एउटा मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्कर दिँदा कागेश्वरी मनोहरा-२ आलापोट बस्ने ३८ वर्षीय नारायण नगरकोटीको मृत्यु भएको छ । उनको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृतक नगकोटी कागेश्वरी मनोहरा-२ आलापोट नेकपा माओवादी केन्द्रका सचिव हुन् । दुर्घटनामा उनलाई टाउको, पेट र घुँडामा गम्भीर चोट लागेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर