गुगलको गल्ती र विजय बरालकाे कलाकारिताकाे तीन घुम्ती
पछिल्लो समयमा नेपाली समाजका नयाँ सेन्सेसन हुन्- चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ र त्यसका नायक विजय बराल । उनै विजय बरालसँगको वार्तालापका प्रमुख पाटोलाई यस आलेखमा समेटिएको छ । आलेखको शीर्षकमा उल्लेखित ‘गुगलको गल्ती’बारे मध्य खण्डमा चर्चा गरिको छ । सुरु गरौं फ्लास ब्याकबाट ।
फ्लास ब्याक
अन्दाजी १८ वर्षअघि सर्लाहीको लालबन्दीस्थित बस्तीपुरमा रहेकोे जनज्योति मावि कक्षा ११-१२ मा अध्ययनरत विद्यार्थीहरुले एक मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेका थिए । पर्खाल पारि रहेको जनज्योति बहुमुखी क्याम्पसका अध्यापकहरु पनि दर्शकको रूपमा आमन्त्रित थिए । अनेकौं आकर्षक प्रस्तुतिहरु पस्के विद्यार्थीहरुले । सबै एकसेएक । तीमध्ये एक विद्यार्थीको प्रहसन प्रस्तुतिले धेरैको ध्यान तान्यो । तालीको गडगडाहटको रूपमा सबैको वाहवाही पाए ती विद्यार्थीले । उपस्थित सबैलाई मन्त्रमुग्ध पार्ने ती विशेष विद्यार्थी थिए- विजय बराल । कार्यक्रमको समापनसँगै विजयलाई भेटेरै स्याबासी दिए अध्यापकहरुले । विजयलाई त्यसरी स्याबासी दिने अध्यापकहरुको पंक्तिमा यो पंक्तिकार पनि थियो । यस पंक्तिकारले विजयलाई उनको हकस्वरुप स्याबासीमात्रै दिएन, उनले नखोजेको कुरा पनि दियो । त्यो थियो- उनको अभिनय क्षमतालाई अझ अघि बढाउने सुझाव । त्यही सुझाव अन्य सहकर्मी अध्यापक मित्रहरूले पनि दिए । जवाफमा विजय बोलेनन् । केवल स्वीकारात्मक भाव सम्प्रेषणस्वरूप शीर हल्लाए ।
१२ कक्षाका विद्यार्थी विजयले वार्षिक परीक्षापश्चात आफूलाई अलप झैं गराए । जनज्योति शिक्षालयमा आयोजित विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरुमा अध्यापक एवम् विद्यार्थीहरुको रोजाइ र उनीहरूका खोजीको प्रथम पात्र बनेका थिए विजय, तर कतै पनि उपलब्ध थिएनन् उनी । बस्तीपुरका स्थायी बसोबासी भएकाले उनको सम्भावित उपस्थिति बस्तीपुरको बस्तीमा हुनसक्ने अनुमानस्वरूप अनौपचारिक सोधखोज भयो, तर उनी गाउँ-टोल कतै पनि नदेखिएको रिपोर्ट आयो । तदोपरान्त न लालबन्दी बजारमा, न बस्तीपुरको बस्तीमा न त जनज्योति परिसरमा नै देखिए विजय । त्यसरी दैनिकीको दृश्यबाट विलुप्त भए विजय, तर मेरो स्मृतिको चौघेरामा भने कैद भैसकेका थिए उनी ।
के गर्दै होलान् विजय भन्दै कलाकारिताका कतिपय प्रसंगमा याद गरियो उनलाई, तर सोधखोज गरिएन । एक दिन जनज्योति क्याम्पसकै एक अनौपचारिक कार्यक्रममा उनी चलचित्रको कलाकार बनिसकेको बताइयो । जानकारी पक्का रहेछ- विद्यालय छोडेको झण्डै ६ वर्षपछि चलचित्रको पर्दामा देखिए विजय । ‘छड्के’ नामक चलचित्रमा उनी देशभरिका सिनेमा हलसहित लालबन्दीको चलचित्र घरमा पनि देखिए- उनलाई चिन्ने जान्ने सबैको निम्ति एक सुखद आश्चर्य बनेर । ‘छड्के’ चलचित्रले विजयलाई महत्त्वपूर्ण भूमिकामा र स्पष्टसँग चिनिने गरी प्रस्तुत गरेको थिएन । तथापि त्यसले विजय, उनका शुभेच्छुक र लालबन्दी वरपरका व्यक्तिहरुलाई खुशी हुने एक आधार भने उपलब्ध गरायो । विजय बरालको चर्चाले लालबन्दी-बस्तीपुर चोकको सिमाना पार गरेर सुदूर गाउँहरुसमेत चर्चिसकेको थियो ।
विद्यालय छोडेको झण्डै ६ वर्षपछि चलचित्रको पर्दामा देखिए विजय । ‘छड्के’ नामक चलचित्रमा उनी देशभरिका सिनेमा हलसहित लालबन्दीको चलचित्र घरमा पनि देखिए- उनलाई चिन्ने जान्ने सबैको निम्ति एक सुखद आश्चर्य बनेर ।
वर्तमानमा विजय बराल
‘छड्के’बाट नेपाली चलचित्रमा छिरेका विजय त्यसपछिका ११ वर्ष छिचोल्दा झण्डै दुई दर्जन चलचित्रमा देखिए । हरेकजसो चलचित्रमा समान खाले र सहअभिनेताको भूमिकामा देखिने बानी झैं परेका विजयको लागि मुख्य भूमिका लिएर आयो ‘पूर्णबहादुरको सारङ्गी’ । यस चलचित्रले उनलाई मुख्य भूमिकामात्रै दिएन, कालजयी ढंगले ‘सुपर स्टार’कै स्तरको कलाकारमा गणना गराइदियो । न्यून बजेट लगानीमा बनेको अनि प्रिमियर शोको आयोजनासमेत नगरेको चलचित्र हो ‘पूर्णबहादुरको सारङ्गी’ । यतिसम्म कि मुख्य सहनायक भूमिकामा रहेका सेलिब्रेटी लोकगायक प्रकाश सपूतले चलचित्रको प्रवर्द्धनलाई पूर्णतः बेवास्ता गर्दा पनि उनलाई ‘बाल नदिएर’ चलाइएको चलचित्र हो ‘पूर्णबहादुरको सारङ्गी’ । त्यसका साथै सबैजसो मानिसहरू आफ्नै घरपरिवारमा ब्यस्त रहने दिन लक्ष्मीपूजाको वास्तै नगरी खासै धुमधामविना प्रदर्शन प्रारम्भ गरेर ठूलो खतरा मोलेको चलचित्र पनि हो ‘पूर्णबहादुरको सारङ्गी’ ।
तुलनै गर्न नसकिने ठूलो लगानी र विश्व प्रसिद्ध कलाकारहरुले भरिएको भारतीय सिनेमाहरु ‘भुलभुलैया ३’, ‘सिङ्घम अगेन’ आदिको काठमाडौंलगायत नेपालका नामुद मल्टिप्लेक्स सिनेमा हलमा रिलिज हुने मिति मालुम हुँदाहुँदै पनि सोही समयमा जानीजानी जुधाएर प्रदर्शन शुरु गरिएको चलचित्र हो ‘पूर्णबहादुरको सारङ्गी’ । यसरी अनेकौं प्रतिकूलतालाई चुनौती दिँदै चलचित्र बजारमा छिरेको ‘पूर्णबहादुरको सारङ्गी’ले केही दिनभित्रै लोकप्रियताको नयाँ परिभाषा दिन सफल भयो । र, त्यस सफलताको सूत्रधारको रूपमा चर्चित भए विजय बराल । ग्रामीण गरिब बस्तीदेखि शहरिया करोडपति कोलोनीसम्म, जेनेरेसन जेडदेखि वृद्ध भत्ता भोगी अक्टोजेनेरियनसम्म सबैको स्याबासीको पात्र बने विजय बराल । मूलधारका मानिने मिडिया टीभी, रेडियो, पत्रपत्रिका देखि युट्युब, टिकटक, फेसबुक, इन्स्टा, ट्विटर (एक्स) सबैतिर चर्चा चुलियो, केवल ‘पूर्णबहादुरको सारङ्गी’ अनि त्यसका प्रमुख कलाकार विजय बरालको । यसरी एकाएक अत्यन्तै लोभलाग्दो गरी लोकप्रियताको बेग्लै लेभल खडा गर्ने कलाकार बने विजय बराल ।
विजयसँग वार्तालाप
मलाई मेरो आँखा अघिल्तिर अभिनयको यात्रा आरम्भ गरेका अनि त्यही यात्रामार्फत आफ्नो अलग्गै बजार बनाउन सफल कलाकार विजय बरालको अन्तर्वार्ता लिने जोस जाग्यो । त्यो जोसको ट्रीगर थिच्ने व्यक्ति थिए- जनज्योति क्याम्पस लालबन्दी सर्लाहीमा अध्यापनरत रहँदाका मेरा घनिष्ठ सहकर्मी दीपक पौडेल ।
सेलिब्रेटी बनिसकेका विजयसँग बार्तालापको वातावरण बनाइदिइन्- रङ्गमञ्चकी कलाकार र जनज्योति बहुमुखी क्याम्पस लालबन्दीकै मेरी पूर्वशिष्या सरस्वती अधिकारीले । तदनुरुप फोन गरें विजयलाई । उनको ब्यस्ततम समय थियो त्यो । तथापि उनले त्यसको भोलिपल्ट बिहान मण्डला थिएटरमा आमन्त्रण गरे अन्तर्वार्ताको लागि । निर्धारित समयभन्दा पाँच मिनेटअगावै आइपुगे विजय मण्डला थिएटरमा । अत्यन्तै अदबका साथ प्रस्तुत भए उनी । प्रारम्भिक आइसब्रेकरको रूपमा जनज्योति क्याम्पसकालीन केही कुराहरू साझा गरेपश्चात प्रवेश गर्यौं उनको कलाकारिता निर्माण प्रक्रियाका प्रसंगहरुमा ।
पोष्टेकी आमाबाट प्राप्त प्रेरणा अनि साथीहरूको हौसला
कक्षा ८ को केटौले बयमा रहँदा विजयले एक दिन घरको टेलिभिजनमा एउटा म्युजिक भिडियो देखे । त्यो म्युजिक भिडियोको बोल थियो- ‘ढोका खोल पोष्टे कि आमा, ढोका खोल न हो’ । गीतमा प्रयुक्त शब्दहरू, गायन र भिडियो तीन वटै पक्षले उनलाई तान्यो । जब त्यो म्युजिक भिडियोमा देखिने पात्र र गाउने व्यक्ति पनि लालबन्दीकै नारद खतिवडा हुन् भन्ने थाहा पाए, उनले आदर्श मान्न थाले नारदलाई । उनले नजानिकनै नारदको नक्कल गर्न थाले । विस्तारै उनले विभिन्न नेता, नेपाली र हिन्दी फिल्मी कलाकारहरुको आवाज र अन्दाजको अनुकरण अर्थात क्यारिकेचर गर्न थाले ।
मूलधारका मानिने मिडिया टीभी, रेडियो, पत्रपत्रिका देखि युट्युब, टिकटक, फेसबुक, इन्स्टा, ट्विटर (एक्स) सबैतिर चर्चा चुलियो, केवल ‘पूर्णबहादुरको सारङ्गी’ अनि त्यसका प्रमुख कलाकार विजय बरालको । यसरी एकाएक अत्यन्तै लोभलाग्दो गरी लोकप्रियताको बेग्लै लेभल खडा गर्ने कलाकार बने विजय बराल ।
उनले आफ्नो त्यो कला नजिकका साथीहरूसामु प्रस्तुत गरे । त्यस क्रममा विद्यालयका शिक्षकहरुको हाउभाउ, बोलचाल र शिक्षण शैलीको पनि नक्कल गरेर देखाउँथे । उनको त्यो कलाबाट प्रभावित साथीहरूले विजयलाई हौस्याए । साथीहरूबाट प्राप्त हौसलाबाट उत्साहित विजयले विस्तारै क्यारिकेचरका साथै कमेडी डान्स पनि ट्राइ गरे । त्यसमा उनलाई सहयोग गर्ने डान्सर साथी थिए- नारायण । नारायणले नृत्यका बान्कीहरु, टाइमिङ, पहिरन आदिका प्रारम्भिक पक्षहरुका बारेमा बताए । त्यसरी उनले आफ्नो प्रस्तुतिमा क्यारिकेचरका साथै कमेडी डान्स कलालाई पनि थपे । विजय भन्छन्, ‘क्यारिकेचरका साथै कमेडी डान्स पनि गर्ने भएपछि विद्यालयमा शिक्षक र साथीहरूबीच मेरो महत्त्व विशेष ढंगले बढेको थियो ।’
जनआन्दोलनबाट जाग्यो आत्मविश्वास
समयक्रममा विजयको ‘क्यारिकेचर आर्टिस्ट’ वाला व्यक्तित्व बस्तीपुरको बस्ती र जनज्योति विद्यालयबाट विस्तारित हुँदै ठूलो जनमानसमा पुग्न थाल्यो । त्यसको उत्कर्ष रुप दोस्रो जनआन्दोलनको १८ दिनको अवधिमा मुखर ढंगले प्रस्तुत भयो । आमहड्तालको आह्वानका कारण लालबन्दीका राजनीतिक दलका नेता कार्यकर्ता र साधारण आन्दोलनमा सक्रिय भएका थिए । विजय पनि त्यस आन्दोलनमा आफ्नै ढंगले आबद्ध भए । विजयले त्यसक्रममा क्यारिकेचरको रूपमा विभिन्न हाँस्य प्रस्तुतिहरु पस्किए ।
त्यसअघि आफ्ना साथीभाइ र शिक्षक एवम् समाजका सीमित समूहसामु आफ्नो कला प्रदर्शन गरेका विजयको लागि त्यो आन्दोलन विशेष अवसर बन्यो । उनले त्यहाँ उपस्थित अलगअलग पेशा, व्यवसाय, वर्ग, उमेर र विभिन्न जातीय अनि सांस्कृतिक पृष्ठभूमिका हजारौं मानव समुदायबीच आफ्नो कला देखाए । त्यसबापत असंख्य अपरिचित अनुहारहरुको आशीर्वादसहितको स्याबासी र शुभकामना पाए । त्यसबाट विजयले आफूमा छुट्टै आत्मविश्वास जागेको अनुभूति गरे । उनले अब आफू एक अब्बल कलाकार बनिसकेको बोध गरे ।
क्यारिकेचरः कलाकारिताको काल
जनआन्दोलनका क्रममा आफूले आर्जन गरेको आत्मविश्वास अनि सयौंले काठमाडौं गएर व्यवसायिक कलाकारिता आरम्भ गर्न दिएको सुझावले विजयलाई अन्ततः काठमाडौं पुर्यायो । हुन त उनी उच्च शिक्षा अध्ययनको लागि भनेर भित्रिएका थिए काठमाडौं, तर उनको भित्री उद्देश्य भने भिन्नै थियो । उनी चाहन्थे- आफ्नो कमेडी कलाको विकास र विस्तार । त्यसैबीच उनको भेट भयो हाँस्य कलाकार शिवशंकर रिजाल उर्फ जोगिन्दर पानवालासँग । आफ्नै गृह जिल्ला सर्लाहीका शिवशंकरसँग विजयले गाईजात्रा एल्बममा छोटो कलायात्रा गरे एक जुनियर आर्टिस्टको रूपमा । त्यसताका उनी गुरुकुल पनि जाने गर्दारहेछन् नाटक हेर्न । त्यहाँ उनले गुरुकुलका व्यवस्थापक दीपेश भण्डारी भेटे । दीपेशको सल्लाहमा पाटनको यलमाया केन्द्रमा भारतको दिल्लीस्थित विख्यात नेशनल स्कुल अफ ड्रामा (एनएसडी)को तर्फबाट सञ्चालन हुने नाटक सम्बन्धी तालिमको लागि विजयले निवेदन दिए । उनी छनोट भए ।
४५ दिनसम्म सञ्चालित उक्त तालिमको समापनसँगै विजयले आफूलाई निद्राबाट हठात ब्युँझिएको बबुरोको अवस्थामा पाए । कुरा के थियो भने जेलाई उनी कलाकारिता मानेर मख्ख थिए, त्यो त वास्तवमा कलाकारिता नै होइन रहेछ । उनी त पूर्णरुपेण भ्रममा बाँचेका रहेछन् र, त्यो भ्रम विद्यालयकालदेखि नै बसेको रहेछ । विद्यालयीय विद्यार्थी छँदा उनमा उम्रेको भ्रमानुभूति सुनाउँदै विजय भन्छन्, ‘कलाकारिता भनेको मान्छे हँसाउने काम त रैछ नि ! मैले सबैखाले मानिसको ध्यान तानेर उनीहरूलाई मज्जाले हाँस्ने बनाउन सकिहालें, अब म त ठूलै कलाकार भएँ । कला भनेको यत्ति त रै’छ भन्ने भ्रमात्मक बुझाइमा म रमाउन थालें ।’
विजयले भने, ‘क्यारिकेचरले मभित्रको कलाकारलाई थिचिरहेको थियो । क्यारिकेचरलाई जीवित राखेको भए म कदापि अहिलेको अवस्थामा पुग्ने थिइनँ । क्यारिकेचर त कलाको काल रहेछ । त्यसैले मैले तत्क्षण एक कडा निर्णय लिएँ र सदाको निम्ति क्यारिकेचर त्यागिदिएँ ।’
त्यस्तो अनुभूति आउनुको कारण केलाउँदै उनी थप्छन्, ‘त्यसबेला मैले आदर्श मानेको नारद खतिवडाले एक कमेडियन कलाकारकै रूपमा ख्याति कमाएको देखेर नै सम्भवतः मेरो मनमा कलाकारिताबारे भ्रमपूर्ण भाव उम्रिएको थियो ।’
त्यसरी भ्रमात्मक अहम् उब्जनुको पृष्ठभूमिलाई उनीे यसरी सम्झिन्छन्, ‘शिक्षकलगायत समाजका अग्रज र साथीभाइबाट प्राप्त हौसलाले मैले आफू अब्बल कलाकार हुँ र कला भनेकै अरुलाई हँसाउनु हो । यति भएपछि त पुगिहाल्यो नि भन्ने भाव आयो ।’
तर जब उनी त्यही मनोभाव बोकेर कलाकारितामा व्यवसायिक रुपले अघि बढ्ने निश्चयसाथ मण्डलामा आबद्ध भए, उनलाई आफैंदेखि शरम लाग्यो । त्यस्तो लज्जा अनुभूतिको एकमात्र कारण के थियो भने उनी जे चिजलाई कलाकारिता मानेर आफूलाई महान दाबी गरिरहेका थिए, त्यो किमार्थ कला होइन रहेछ । त्यसबेलाको मनोभाव व्यक्त गर्दै विजयले भने, ‘क्यारिकेचरले मभित्रको कलाकारलाई थिचिरहेको थियो । क्यारिकेचरलाई जीवित राखेको भए म कदापि अहिलेको अवस्थामा पुग्ने थिइनँ । क्यारिकेचर त कलाको काल रहेछ । त्यसैले मैले तत्क्षण एक कडा निर्णय लिएँ र सदाको निम्ति क्यारिकेचर त्यागिदिएँ ।’
मण्डलाको माली
एनएसडी प्रदत्त नाट्य सीपलाई प्रमाणिकतामार्फत पक्का गर्नुपर्ने भयो विजयको समूहले । त्यसको उपक्रमस्वरूप विजयले उनका सहपाठीहरुसँग मिलेर ‘अन्धो युग’ नामक नाटक प्रस्तुत गरे । त्यहाँ उनले गरेको अब्बल अभिनयले ठूलो प्रशंसा पायो । त्यसै प्रसंगमा मण्डलामा आवद्ध उम्दा कलाविद्हरुको सानिध्य मिल्यो विजयलाई । उनमा कलाको तीव्र भोक छँदै थियो । त्यसको निम्ति उपयुक्त भोजनगृहको रूपमा मण्डलालाई पाए । उनी भन्छन्, ‘मण्डलाले मेरो कलाप्रतिको समर्पण भावलाई सम्पूर्ण रूपमा समेट्यो र सन्तुष्टियुक्त सम्बोधन पनि गर्यो ।’
तर त्यो तहको सन्तुष्टि उनले सहजै पाएका भने होइनन् । मण्डला थिएटरमा आवद्ध भएपछिका प्रथम दुई वर्ष उनले ब्याक स्टेजमा मेहनत गरे । सेट सजावट, प्रकाश व्यवस्थापन आदिका कार्य गरेर उनले महत्त्वपूर्ण दुई वर्ष बिताए । त्यस क्रममा उनले वरिष्ठ कलाकारहरुको कला शैली, निर्देशकले कलाकारहरुबाट अपेक्षा गर्ने कलाका विविध पक्ष, दर्शकहरुका चाहना आदिका बारेमा पनि सूक्ष्म रूपमा बुझ्ने र तिनलाई आत्मसात गर्ने अवसर पाए । अर्थात मण्डलाको दुई वर्षे बसाइ विजयको निम्ति नाटकको ‘हार्डवेयर’ र ‘सफ्टवेयर’ दुबैका बारेमा बृहत् ढंगले बुझ्ने अवसर बन्यो ।
विजय भन्छन्, ‘नायकीय भूमिकामा आफूलाई प्रमाणित गर्ने एक ‘लिटमस टेस्ट’ थियो मेरो लागि ‘पूर्णबहादुरको सारङ्गी’ । यसमा मैले आफूलाई पूर्णबहादुरको चरित्रमा चुर्लुम्मै डुबाएँ । निर्देशकको निगरानी र चलचित्र निर्माणको नियमलाई आधार मानेर सकेको र जाने जतिको कला र शिल्पलाई प्रस्तुत गरें । परिणामतः दर्शकहरूले ‘पूर्णबहादुरको सारङ्गी’ लाई पत्याइदिनुभयो, म लिटमस टेस्टमा सफल भएँ ।’
त्यसपछि विस्तारै उनले मण्डलामा मञ्चन हुने नाटकहरुमा सानातिना भूमिका पाउन थाले । आफूले पाएका हरेक भूमिकाबाट उनले वाहवाही पाए । विजयको निम्ति प्रताप सुब्बा, रामबाबु गुरुङ, दयाहाङ राई जस्ता अग्रज अनि बुद्धि तामाङ जस्ता सह-कलाकारको साथ रह्यो । नाटकमा जमिसकेपछि उनी पनि मण्डलाको मालिक समूहमा मिसिए मेम्बर पार्टनरको रूपमा । अत्यन्तै चित्ताकर्षक छ मण्डला परिसर । त्यतिकै ‘कोजी र क्युजिनिस्टिक रेस्टुरेन्ट’ पनि छ त्यो परिसरमा । रेस्टुरेन्टको माथिल्लो तलाको सौम्य ओपेन स्पेसमा आफ्ना कहानी बताइरहेका विजयलाई सोधें, ‘विजय पनि मण्डलाको मालिक हो ?’ मुस्कुराउँदै सहजतासाथ उनले दिएको जवाफ थियो, ‘मालिक होइन, म मण्डलाको मामुली माली हुँ ।’
बहुआयामिक विजय
विजय एक अब्बल कलाकार हुनुका साथै बहुविधामा पारंगत छन् । माथि उल्लेख भैसकेको क्यारिकेचर कला अर्थात मिमिक्रीमा अब्बल भए तापनि त्यसको प्रयोगलाई आफैंले बन्देज गरेका छन् विजयले । उनमा जस्तोसुकै हस्ताक्षर पनि नक्कल गर्नसक्ने एउटा अद्भूत प्रतिभा पनि छ । उनी भन्छन्, ‘म जस्तोसुकै जटिलभन्दा जटिल हस्ताक्षरलाई पनि सजिलैसँग दुरुस्त नक्कल गर्न सक्छु, तर यो कला कहिल्यै पनि प्रयोग नगर्नुपरोस् । यो कलाले मेरो कलाकारितालाई कुनै पनि रूपमा सघाउ नगर्ने भएकोले म यस कलालाई पनि बिर्सन चाहन्छु ।’
विजयको अर्को उदेकलाग्दो खुबी के हो भने उनी वाद्य यन्त्र बजाउनमा पनि पोख्त छन् । उनी भन्छन्, ‘नयाँ वा अपरिचित वाद्य यन्त्रलाई दस मिनेटको इक्सपोजर पाएँ भने मात्रै पनि राम्रोसँग बजाउन सक्छु ।’ नृत्यमा पनि निपुणता ल्याउन कठिन लाग्दैन विजयलाई । त्यसको लागि केवल केही मिनेट काफी हुने दाबी गर्छन् । फाइन आर्ट र खेलकुदमा पनि राम्रै प्रस्तुति दिन सक्छन् उनी । गायन उनको अर्को पकडयुक्त क्षेत्र हो । त्यसका साथै औसत कलाकारभन्दा उच्चस्तरीय वाकपटुता छ विजयको । आफ्ना विचार र चिन्तनलाई तर्कको धागोमा उनेर सिलसिलात्मक स्वरूप दिन सिपालु छन् ।
विद्यालय तहसम्म अध्ययनमा अब्बल रहेका उनी भन्छन्, ‘कलाकारिता गर्ने हरेक व्यक्ति अथवा प्रत्येक कलाकारमा सिर्जनशीलता हुनुपर्छ । सिर्जनशीलताले नै कलाकारलाई बचाउने हो । र, त्यही सिर्जनशीलतामार्फत कलाकारले आफ्नो समाज र राष्ट्रका मिहिन एवम् महत्त्वपूर्ण समस्या, सबल पक्ष, संस्कार, संस्कृति र सभ्यतालाई सार्वजनिक जानकारीमा ल्याउने हो । कलाकार त्यस अर्थमा सन्देश बाहक पनि हो ।’
आफ्ना यी अभिव्यक्तिहरुलाई पुष्टि गर्न विजय भन्छन्, ‘यी सबै कारणले कलाकारमा एकमुष्ट रूपमा कल्पनाशीलता, वस्तु र परिवेशको सूक्ष्म अवलोकन अनि त्यसको संश्लेषणात्मक र सिर्जनशील अनुकरण क्षमता चाहिन्छ । र, मैले यी तीन वटै कसीमा आफूलाई सक्दो बलियोसँग उतार्ने अभ्यास गर्छु । मेरो त्यही अभ्यासलाई मानिसहरू मेरो बहुआयामिक व्यक्तित्वको रूपमा परिभाषित गर्छन् ।’
विजयले आफूलाई महाकवि लक्ष्मीप्रसाद देवकोटाको चरित्रमा अभिनय गर्ने धोको रहेकोे बताए । उनी महाकवि देवकोटामा यतिसम्म लीन भैसकेका रहेछन् कि समय मिल्नासाथ उनको चरित्रको भित्रसम्म पुग्ने प्रयास गर्ने रहेछन् । त्यसको लागि उनले देवकोटाको जीवनसँग जोडिएका कृतिहरुको समेत अध्ययन गर्न भ्याइसकेछन् ।
लिट्मस टेस्टमा अब्बल
रंगमञ्च र सिने कलाकारितामा वर्षौंदेखि ब्यस्त थिए विजय बराल । राम्रै पहिचान बनाइसकेका थिए । उनले आफूलाई नेपाली सिने उद्योगमा उपलब्ध चरित्र अभिनेता वा सह-अभिनेताको सीमित संख्यामा पार्न सफल भैसकेका थिए । दर्शकमाझ आफ्नो वाहवाही बटुल्दै थिए भने आफू अभिनित सिनेमाको संख्या भण्डारमा विजयले ठूलो बढोत्तरी पनि गर्दै थिए, तर सिनेमाको संख्या बढे तापनि समान खालका सह-अभिनेताको भूमिकामा दोहोरिरहने उपक्रमबाट उनमा विस्तारै आउन थालेको थियो । उनी भन्छन्, ‘एकैखालको भूमिका नदेखियोस् र दर्शकहरुले नयाँ चलचित्रमा आफ्नो भूमिकाका बारेमा पूर्वानुमान लगाउन नसक्नुहोस् भन्नेमा म अत्यन्तै सचेत थिएँ । तथापि ‘फिल्मी फेन्सबाट फालिने फियर’ले म समानखाले भूमिकाको निम्ति तयार हुन बाध्य थिएँ ।’
उनको भनाइले विजय त्यसबेला चलचित्रमा आफूले पाएका भूमिकामा बढुवाको खोजीमा रहेको, तर आफ्नो विचार कसैसँग पनि सेयर गर्ने सुविधामा थिएनन् । अपितु उनी पहिचानसँगै पैसा प्रदायक आफ्नो कलाकारिता पेशालाई थप प्रभावकारी रूपमा अघि बढाउने उपायको उहापोहमा थिए भन्ने प्रस्ट भयो । ठीक त्यसैबेला अकस्मात एक अवसरले उनलाई खोज्दै आयो । त्यो अवसरले उनलाई ‘पूर्णबहादुरको सारङ्गी’ नामक सिनेमाको प्रमुख भूमिका प्रस्ताव गर्यो । त्यो प्रस्तावले विजयको चिरकालको दमित अपेक्षा बोकेको थियो । त्यसैले उक्त प्रस्तावले स्वाभाविक रूपमा विजयलाई खोजेकै खजाना पाएको अनुभूत गरायो । विजय भन्छन्, ‘नायकीय भूमिकामा आफूलाई प्रमाणित गर्ने एक ‘लिटमस टेस्ट’ थियो मेरो लागि ‘पूर्णबहादुरको सारङ्गी’ । यसमा मैले आफूलाई पूर्णबहादुरको चरित्रमा चुर्लुम्मै डुबाएँ । निर्देशकको निगरानी र चलचित्र निर्माणको नियमलाई आधार मानेर सकेको र जाने जतिको कला र शिल्पलाई प्रस्तुत गरें । परिणामतः दर्शकहरूले ‘पूर्णबहादुरको सारङ्गी’ लाई पत्याइदिनुभयो, म लिटमस टेस्टमा सफल भएँ ।’
गुगलको गल्ती
अन्तर्वार्ता उद्देश्यले विजय बरालसँग भेट्ने समय र मिति निर्धारण भएपछि उनका बारेमा गहन ढंगले बुझ्नु आवश्यक थियो । त्यस प्रयोजनले उनका पुराना र हालैका अन्तर्वार्ताहरु हेरें । त्यतिले नपुगेर तथ्य र तथ्यांकको भरपर्दो स्रोत मानिएकोे ‘गुगल’को सहयोग लिएँ । त्यहाँ सर्च गरें ‘विजय बराल’लाई । गुगलले विजय बराललाई ‘कलाकार र कवि’को रूपमा चिनायो । सोही आधारमा विजयसँग उनको दोस्रो परिचय अर्थात गुगलले बताएको उनको ‘कवि व्यक्तित्व’तर्फ मोडें अन्तर्वार्तालाई । आश्चर्यजनक ढंगबाट विजयले गुगललाई गलत बताए । उनले गुगलले आफूलाई कवि उल्लेख गरेकोमा आपत्ति जनाए । किमार्थ आफू कवि नभएको दाबी गरे । अप्रत्याशित उनको जवाफले मलाई हतप्रभ बनायो । प्रमाणको रूपमा युट्युबमा उपलब्ध कविता वाचनरत विजयको एकाध भिडियोको रिफरेन्स अघि राखें । त्यसमा विजय प्रदत्त प्रतिक्रियाले गुगल पनि कसैको स्क्यामको शिकार भएको पुष्टि भयो । आफू कवि नरहेको प्रमाण पेश गर्दै विजयले भने, ‘भिडियोमा देखिएको कविता वाचन गर्दै गरेको व्यक्ति निश्चय नैं म हुँ, तर त्यो कविता मेरो होइन ।’
उनले प्रतिप्रश्न गरे, ‘अरु कसैले लेखेको कविता वाचन गर्दैमा कवि बनिने हो र ?’ त्यसपछि हाँस्दै उनले उक्त प्रसंगको पटाक्षेप यसरी गरे, ‘मण्डला थिएटरमा मञ्चनको निम्ति तयारी गरिएको नाटक ‘जार’को निम्ति प्रताप सुब्बाले उक्त कविता लेखेका रहेछन् । मञ्चनपूर्व अभ्यासको क्रममा वाचन गरेको भिडियो कसैले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको हो । त्यसैमा गुगल झुक्किए जस्तो छ ।’
उनी तर्क गर्छन्, ‘नेपाल भनेको केवल पहाड र हिमालमात्रै होइनन् नि ! दक्षिणी मैदानका मधेशी बस्तीहरु पनि हुन् । र, त्यहाँका विशाल सांस्कृतिक विरासत एवं मानव समुदायका भाव पनि नेपाली कला क्षेत्रले बोक्नुपर्छ । त्यसले हाम्रो समाज त बलियो हुन्छ नै नेपाली कलाकारिताले पनि पुष्ट हुने मौका पाउँछ । र, त्यसको वास्तविक चित्रणका लागि मधेशी कलाकारहरु नै अघि सर्नुपर्छ ।’
देवकोटाको बायोपिकमा खेल्ने रहर
गुगलले भुलबस कवि बनाए तापनि विजयको वास्तविक जीवनमा भने एउटा कवि बाँचेको रहेछ । र, ती कवि रहेछन् नेपाली भाषाका महाकवि लक्ष्मीप्रसाद देवकोटा । गुगलले कवि बनाइदिएको प्रसंग बिट मारेर विजयले आफूलाई महाकवि लक्ष्मीप्रसाद देवकोटाको चरित्रमा अभिनय गर्ने धोको रहेकोे बताए । उनी महाकवि देवकोटामा यतिसम्म लीन भैसकेका रहेछन् कि समय मिल्नासाथ उनको चरित्रको भित्रसम्म पुग्ने प्रयास गर्ने रहेछन् । त्यसको लागि उनले देवकोटाको जीवनसँग जोडिएका कृतिहरुको समेत अध्ययन गर्न भ्याइसकेछन् । सोही मेलोमा उनले पढेको पछिल्लो पुस्तकबारे भने, ‘नरेन्द्रराज प्रसाईंले महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीवन वृतान्त समेटेर लेखेको पुस्तक ‘देवकोटाको जीवन शैली’ पढें । त्यसमार्फत मैले आफूलाई देवकोटाको धेरै नजिक महसुस गरेको छु ।’
देवकोटाको चरित्रले आफूलाई अत्यन्तै आकर्षित गरेको बताउँदै उनले भने, ‘मैले कतिपय अवस्थामा निजी जीवनमा समेत देवकोटा भएर बाँचेको छु । उनलाई आफूभित्र अनुभूत गरेको छु ।’ त्यसो भन्दै गर्दा उनले आफ्नो खुइलिँदै गएको टाउकोको अग्रभागतिर हत्केलाले संकेत गरे । अनि हाँस्दै भने, ‘यो खुइलिँदै गएको तालुले पनि देवकोटा लाइक फिलिङ दिँदो रहेछ ।’
मधेशलाई मूलधार
मधेशी कलाकारको लागि काठमाडौं प्रशस्त सम्भावनासहित पर्खेर बसेको बताउँछन् विजय । उनी भन्छन्, ‘बदलिँदो परिवेशसँगै मधेशी कलाकारहरुले पनि काठमाडौंमा बलियो पहुँच बनाइसकेका छन् ।’ उदाहरण दिंदै उनले नाजिर हुसेन, रवीन्द्र झा, कामेश्वर चौरसिया आदिको नाम लिए । उनले चलचित्रको निर्देशनमा पनि पूर्णेन्दु झा जस्ता सशक्त मधेशी युवाले आफ्नो दमदार उपस्थिति देखाइसकेको दाबी गरे । एक दशक अघिसम्म खासै मधेशी कलाकार नदेखिएको नेपाली कला क्षेत्रले हालैका वर्षहरुमा केही मधेशी कलाकारहरु र निर्देशक पाए तापनि त्यो संख्या अत्यन्तै कम रहेकोे बताए । मधेशी कलाकारले पाउने भूमिकाको निकट विगत केलाउँदै उनले मधेशी कलाकारहरु केवल केही चरित्र भूमिका र त्यसमा पनि मधेशका विभिन्न भाषिक लवज बोल्ने पात्रको भूमिकामा सीमित रहँदा आफूलाई टीठ लाग्ने गरेको सुनाए, तर तुरुन्तै मुहारमा उज्यालो भाव ल्याउँदै उनले अब त्यस्तो अवस्था विस्तारै हट्दै गएको पनि बताए । भने, ‘मधेशी कलाकारहरुको भूमिकाको दायरा फराकिलो हुँदै गएको छ ।’
उनले आफ्नो भनाइको पुष्टिस्वरूप मधेशी युवक नाजिर हुसेनले केही महिनाअघि मात्रै रिलिज भएको चलचित्रमा प्रमुख नायकको भूमिका पाएको उदाहरण दिए । उनले भने, ‘यही आधारमा के भन्न सकिन्छ भने मधेशी कलाकारहरुले पनि आफूलाई भित्रैदेखि सिर्जनात्मक रूपमा बलियो बनाएको अवस्थामा उनीहरूको धेरै ठूलो सम्भावना छ नेपाली कला क्षेत्रमा ।’
उनले त्यसमा सचेत गराउँदै थपे, ‘तर काठमाडौंबाट बोलावट आउला र कलामा आवद्ध होउँला भन्ने सोचमा चाहिँ नबसेकै राम्रो ।’ बज्जिका भाषामा सामान्य संवाद क्षमतासमेत भएका विजय मधेशको आन्तरिक सांस्कृतिक विविधतालाई बाहिर ल्याउन पनि मधेशी कलाकारहरुको कलाकारिता उपयोग हुनुपर्ने धारणा राख्छन् । त्यस सम्बन्धमा उनको भनाइ यस्तो छ, ‘मधेशमा रहेकोे सांस्कृतिक र जातीय विविधता अनि जनमानसमा रहेका सदियौंदेखिका फरक कथाहरुलाई राष्ट्रिय मूल प्रवाहको चलचित्रमा उतार्नु आवश्यक छ ।’
उनले आफ्नो गृहनगर लालबन्दी र आसपासका युवा पिंढीको लागि कला प्रशिक्षणको कार्यशाला सञ्चालन गर्न सकिने बताए । विजय भन्छन्, ‘म लालबन्दी नगरपालिकासँग सहकार्य गरेर लालबन्दी र आसपासका कला अनुरागीहरुको लागि एउटा कला प्रशिक्षण कार्यशाला सञ्चालन गर्ने मूडमा छु ।’
त्यस्तो आवश्यकता किन भन्ने प्रश्नको जवाफमा उनी तर्क गर्छन्, ‘नेपाल भनेको केवल पहाड र हिमालमात्रै होइनन् नि ! दक्षिणी मैदानका मधेशी बस्तीहरु पनि हुन् । र, त्यहाँका विशाल सांस्कृतिक विरासत एवं मानव समुदायका भाव पनि नेपाली कला क्षेत्रले बोक्नुपर्छ । त्यसले हाम्रो समाज त बलियो हुन्छ नै नेपाली कलाकारिताले पनि पुष्ट हुने मौका पाउँछ । र, त्यसको वास्तविक चित्रणका लागि मधेशी कलाकारहरु नै अघि सर्नुपर्छ ।’
गृह नगरलाई गिफ्ट
विजय बरालको गृह नगर लालबन्दी नेपाली चलचित्रका कलाकार र निर्माताहरुका लागि ‘मध्य पूर्व तराईको स्वर्ग’ समान छ । त्यसको कारण हो- यसले समेट्ने अत्यन्तै विशाल दर्शक समुदाय । झण्डै ४० वर्ष अघिदेखि लालबन्दीले सयौं नेपाली चलचित्र र तिनका कलाकारहरुको उद्धार नै गरेको छ, तर यसले लगाएको ‘गुण’ तिर्नेतिर न नेपालको चलचित्र उद्योग न त कलाकारहरुले नै ध्यान दिए । सिर्जनशील संसारको रूपमा हेरिने चलचित्र जगत र यसका कलाकारहरुले लालबन्दीलाई स्थानीय कलाकारहरुको उन्नयनका साथै नवप्रतिभा प्रस्फुटनको लागि कुनै किसिमको पहल नगरेको सन्दर्भमा गरिएको प्रश्नमा विजयको जवाफ औसत किसिमकै छ ।
उनले त्यसरी चलचित्र जगत र कलाकारले ‘गुण लगाउने’ अर्थात स्थानीय कलाकारहरुको कला निखारको निम्ति विशेष कार्यक्रम गर्न व्यवहारिक कठिनाइ हुने बताउँछन् । त्यो दिगोसमेत नहुने उनको दाबी छ । त्यो दाबीलगत्तै उनले आँखामा चमक ल्याउँदै एउटा महत्त्वपूर्ण उद्घोष गरे । उनले आफ्नो गृहनगर लालबन्दी र आसपासका युवा पिंढीको लागि कला प्रशिक्षणको कार्यशाला सञ्चालन गर्न सकिने बताए । विजय भन्छन्, ‘म लालबन्दी नगरपालिकासँग सहकार्य गरेर लालबन्दी र आसपासका कला अनुरागीहरुको लागि एउटा कला प्रशिक्षण कार्यशाला सञ्चालन गर्ने मूडमा छु ।’
उनी आफूले कलाकार बन्न गर्नुपरेको संघर्षबाट पाठ सिकेरै आफ्ना गृहनगरवासी नयाँ पुस्ताका लागि यस्तो सोच बनाएको बताउँछन् । उनी भन्छन्, ‘त्यसरी सञ्चालन गरिने कार्यशाला स्थायी प्रकृतिको हुनेछ ।’
विजय आफूले कलाकारिताको प्रारम्भिक अभ्यास गरेको शिक्षालयसँग पनि जोडिएर अघि बढ्न चाहन्छन् । आफ्नै टोलमा रहेकोे जनज्योति बहुमुखी क्याम्पसमा कलाकारिता सम्बन्धी संकाय सञ्चालनका लागि पहल गर्ने पनि उनको योजनामा रहेछ । त्यसको कारण स्पष्ट पार्दै विजय भन्छन्, ‘मेरो टोल वा नगरको क्याम्पसबाट कलाकारिता अध्ययनसहितको कुनै कलाकार भविष्यमा उत्पादन होस्, मेरो चाहना त्यतिमात्रै हो । त्यसको निम्ति मैले आफ्नो तर्फबाट सक्दो सहयोगको निम्ति तयार छु ।’
(लेखक सर्लाहीको लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसका पूर्वउपप्राध्यापक हुन् ।)